|
फाेटाे : नागरिक

पाँचथर : पाँचथरको चाररातेसँग जोडिएको भारत पश्चिम बंगालको सीमामा भारतीय सुरक्षा बल एसएसबीको क्याम्प छ। भारततर्फ सीमाक्षेत्रमा सडक बनेको छ। यो सडक भएर आफ्नो भूभाग छिर्न नेपालीले एसएसबीलाई पूरा विवरण बुझाउनुपर्छ। तर यही सडक भएर भारतीय गाडी नेपालको भूभागमा पसी निर्बाध गुड्छन्। यसरी चेकजाँचबिना भारतीय गाडी नेपाली बस्तीसम्म आइपुग्छन् तर नेपाली भने भारतीय सुरक्षाकर्मीको कडा निगरानीमा पर्छन्।

सन्दकपुरदेखि तिम्बु पोखरीसम्म भारतसँग जोडिएको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन। यही कारण नेपालीले सास्ती बेहोरिरहेका छन्। नेपाली प्रशासनले सीमा क्षेत्रको संरक्षण, सीमा सुरक्षा तथा यहाँका बासिन्दाको सुरक्षाको ख्याल गरेको देखिँदैन। खुला सिमानाका कारण भारतीयले सहजै नेपाली भूमिको उपभोग गरिरहेका छन्। भारतले सिमानाछेउमै सडक बनाएकाले भारतीयको व्यापार व्यवसाय पनि फस्टाएको छ। भारतीय व्यापारी गाडीमा सामान राखेर बिक्री गर्न नेपाली भूमिमा आइरहन्छन्। तर नेपालतर्फ भने बहुमूल्य जडिबुटीको समेत संरक्षण हुन सकेको छैन।

सीमाको हरेक ६ किलोमिटरमा भारतीय सीमा सुरक्षा बलको चौकी छ। तिनले नेपालतर्फ निरन्तर निगरानी गर्छन्। यस क्रममा बेलाबेला भारतीय सुरक्षाकर्मीले नेपालीलाई दुःखसमेत दिने गरेको गुनासो सुनिन्छ। सीमा क्षेत्रमा नेपाली सुरक्षकर्मीको आडभरोसा नपाएको गोठ सञ्चालक जंग राई बताउँछन्। सीमा क्षेत्रको संरक्षण गोठ सञ्चालन गर्नेहरूले गरिरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.