|

चितवन : माथिल्लो तटीय क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा विश्व संरक्षण सूचीमा सूचीकृत नेपालको पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन्यजन्तु जोखिममा पर्ने सम्भावना बढेको छ।

वन्यजन्तुहरुको संख्यामा वृद्धि, जलवायु परिवर्तन, वासस्थान क्षेत्रमा आएको उतार-चढाव, बाढीपहिरो र कटानले संरक्षित क्षेत्र प्रभावित बन्दै आए पनि यसतर्फ ध्यान पुग्न सकेको छैन।

‘वन्यजन्तुको अस्तित्व जोगाउन संरक्षित क्षेत्र मात्रै पर्याप्त हुन्न, माथिल्लो तटीय क्षेत्र जोगाउनु उत्तिकै महत्वपूर्ण छ,’चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल भन्छन्, अब यसतर्फ ध्यान नपुगे अवस्था प्रतिकूल हुनसक्छ।’ दिगो संरक्षणका लागि मुहान क्षेत्रका समुदायहरुलाई समेत संरक्षणमा सहभागी गराउनुपर्ने आवश्यकता रहेको ढकालले बताए।

पछिल्ला समयमा चोरीशिकारका घटनाभन्दा अन्य कारणले वन्यजन्तु क्षतिको क्रम बढ्नुमा पनि कतै न कतै यी कुराहरु जोडिएका छन्। चाप थेग्नका लागि वैकल्पिक वासस्थानहरु बनाउनुपर्ने, संरक्षित क्षेत्रको दायरा फराकिलो पार्नुपर्ने र भइरहेको क्षेत्र जोगाउनुपर्ने संरक्षणकर्मीहरुको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि वन्यजन्तुको उपचारमा संलग्न वरिष्ठ पशु चिकित्सक डा.कमल गैरेले जुधेर वन्यजन्तुहरु मर्ने क्रम बढ्नुले पनि यसतर्फ गम्भीर हुनुपर्ने अवस्था आएको बताए।

आहारका लागि आपसमा लडेर चार बाघ मरे

उनका अनुसार पछिल्लो चैत र वैशाख महिनामा मात्रै जुधेर चारवटा बाघ मरेका छन्। पोष्टमार्टम रिपोर्टले पनि त्यही भनेको छ। अघिल्लो हप्ता सौराहास्थित राप्ती नदीमा मरेको बाघको प्रकृति हेर्दा आहाराका लागि संघर्ष गरेको निष्कर्ष उनको छ। बाढीले बासस्थान प्रभावित बनाएकाले टेरीटोरी मेन्टेन गर्न जाँदा पनि बाघ जुधेर मरेको दाबी हुनसक्ने गैरेको अनुमान छ।

अर्को एउटा बाघ कुहिएको अवस्थामा मरेकाले यकिन कारण नभए पनि जुधेकै आशंका छ। गैँडा पनि पटक-पटक जुधेर मरेको घटना छ। मानवीय बस्तीमा वन्यजन्तु पसेर क्षति पुर्‍याउने क्रम पनि जारी छ।

यसरी बाघ, गैँडा जुधेर मर्नुमा बाढीले बासस्थानमा असर गर्नु, संख्यामा वृद्धि हुनु, आहारा प्रजाति कम हुनु र मुहान क्षेत्र जोगिन नसक्नुलगायत कारण हुनसक्ने डा.गैरे दाबी गर्छन्।

विक्रम सम्बत २०२९ सालमा बनाएको निकुञ्ज ऐनअनुसार यहाँको संरक्षित क्षेत्र ९३२ वर्गकिलोमिटर थियो। पछि पुरानो पदमपुर क्षेत्र समेटेर अहिले ९५३ वर्ग किलोमिटरमा क्षेत्र विस्तार भएको छ। चितवन निकुञ्जले कति वन्यजन्तु थेग्न सक्छ भन्ने वास्तविक अध्ययन नभएपनि आन्तरिक व्यवस्थापन चुस्त पार्दै जोडिएका क्षेत्र र माथिल्लो तटिय क्षेत्र जोगाउन सके क्षति कम हुने अनुमान निकुञ्जको छ।

पहिले सुख्खा हुने वरण्डाभार क्षेत्रपनि अहिले वन्यजन्तुको महत्वपूर्ण बासस्थान बन्न पुगेको छ। अब वरण्डाभार क्षेत्रभन्दा अझ माथिल्लो भागलाई समेटेर संरक्षणका कार्यक्रम अघि बढाउनु जरुरी रहेको वन्यजन्तु विज्ञहरु बताउँछन् । निकुञ्ज र वरण्डाभार क्षेत्रभन्दा बाहिरपनि समुदायसँग सहकार्य गरेर नयाँ मोडलको संरक्षित क्षेत्र जरुरी छ।चुरे तथा महाभारत जोड्ने क्षेत्रलाई जोगाउनतर्फ ध्यान जानुपर्छ।

चितवन राष्ट्रिय निकुञ्जका पुर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठक टिकौली जस्तै पुर्वी क्षेत्रमा रहेका एकदुई वटा कोरिडोर क्षेत्र खुलाउनु अति आवश्यक भएको दावी गर्छन्। पाठकले भने, ‘एक चरणमा जनप्रतिनिधिहरुसँग समेत छलफल गरिएको छ, त्यस्ता कोरिडोर बढाउन पाए वन्यजन्तुको क्षेत्र विस्तार हुन्छ’।

निकुञ्जको मुहान क्षेत्र, जैविक मार्ग तथा जोडिएका क्षेत्रहरुको संरक्षणमा राम्ररी ध्यान नपुग्दा पनि बेलाबेलामा आउने बाढी पहिरोले संरक्षित क्षेत्रमा ठुलो असर गरिरहेको छ। गएको वर्ष साउन २८ मा आएको बाढीमा टनका टन फोहर बाढीले बगाएर निकुञ्जमा थुपार्‍यो।

गैंडा सहित दर्जनौ वन्यजन्तु बगायो। केहीलाई भारतबाट उद्धार गरिएपनि सयौ वन्यजन्तुहरु मरे। वन्यजन्तुहरु आपसी जुधेर मर्नुको पछाडी बाढीले बासस्थान नाश गर्नु एउटा कारण भएको दावी छ वाघ संरक्षण उपसमिति रत्ननगरका संयोजक जीतु तामाङको।

पहाडी भेगमा बनेका भौतिक पुर्वाधार र सडकले डाँडाकाँडाहरु नांगा भएका छन् । ‘रुख विरुवा रोप्नेतर्फ ध्यान नपुगेको देखिन्छ’, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त प्रमुख रामकुमार अर्याल भन्छन्, ‘अब त्यसतर्फ ध्यान दिएन भने जोखिम बढ्न सक्छ।’

सोही कुरालाई दृष्टिगत गरी कोषले अहिले चितवनको पहाडी क्षेत्र अजिंगरे, कंकाली, थाङखोला लगायत क्षेत्रलाई समेटेर संरक्षण कार्य अगाडि बढाई स्थानियलाई वनमा आश्रित हुनबाट जोगाएर बैकल्पिक आयआर्जनमा सहभागि गराएको अर्यालको दाबी छ।

तर, यति मात्रै पर्याप्त छैन। ठुलै परियोजना सञ्चालन गरेर वोट विरुवा लगाउँदै वन्यजन्तुको बासस्थान बनाउनतर्फ जोड दिनुपर्ने आवश्यकता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.