हुनेखाने र हुँदा खानेबीच सम्बन्ध विस्तार

|

चितवन : चितवनको कालिका नगरपालिकास्थित विटक गाउँ शक्तिखोर, लटौली, सम्फर्याङ, मैतेशका चेपाङहरुलाई खानेपानीको साह्रै सकस थियो। बालबालिकाहरुलाई कापीकलम र झोला किन्न समेत चेपाङलाई समस्या हुन्छ।

नारायणगढका फेन्सी व्यवसायीले उनीहरुको समस्या बुझेर सोमवार दुई हजार ३०० मिटर खानेपानी पाइप उपलब्ध गराए। स्थानीय सुकमान प्रजाको घर जलेकाले उनको घर छाउनका लागि २० पाता जस्ता पनि सहयोग भयो। वालबालिकालाई स्टेशनरी पनि सहयोग गरे।

चेपाङहरुले पनि व्यवसायीहरुलाई आफ्नो उत्पादन रहेको अमृसोको कुचो उपहार दिए भने उनीहरुले खाने गिठाको स्वादसमेत चखाए। 

व्यवसायीहरुले चितवन मेडिकल कलेज, भरतपुर सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालको सहकार्यमा यहाँ चेपाङहरुको स्वास्थ्य परीक्षण कार्यक्रम समेत सञ्चालन गरे।

यसरी हुने खानेहरु र हुँदाखानेबीचको यो सम्बन्ध विस्तारको काम भने ‘मितेरी कार्यक्रम’ले जुराएको हो। फेन्सी व्यवसायी संघ र फेन्सी बचत तथा ऋण सहकारीले विगत ६ वर्षदेखि मितेरी कार्यक्रम चलाएको छ। 

नहुने वर्ग र हुने वर्गवीचको खाडल कम गर्दै आपसी सहयोग आदानप्रदान गर्नका लागि यसरी मितेरी साईनो गाँसेर उपहार कार्यक्रम चलाउँदै आएको बताउँछन्, संघका प्रवक्ता विवेक कँडेल।

यसअघि सोही चेपाङ गाउँमा चारवटा कार्यक्रम गरेर स्थानीय समुदायलाई संघले सहयोग गर्दै आएको थियो। ‘हामीले सम्बन्ध विस्तार र सहयोग आदानप्रदानका लागि यसरी मितेरी कार्यक्रम गरेका हौँ,’ कार्यक्रम संयोजक कृष्ण कँडेल भन्छन्, ‘सोमबार खानेपानी पाइप, कापीकलम, जस्तापाताहरु मितहरुलाई उपहार प्रदान गरेका हौँ।’

सोमबारको कार्यक्रममा करिव रु आठ लाख ५० हजारको सहयोग भएको कँडेल बताए। बालबालिकालाई झोला कापी कलम सहित ब्रस मञ्जन, सावुन, विस्कुट, चाउचाउ समेत व्यवसायीले उपहार दिए। चितवनको राप्तीमा प्यारामोटर उडाउन सफल सरोज चेपाङको मिनी जहाज उडाउने लक्ष्य पूरा गर्न सोही क्रममा ११ हजार रुपैयाँ सहयोगसमेत गरिएको छ। 

यसपटक मितेरी उपहार यो चौथो भएको स्थानीय क्षेत्रको मितेरी कार्यक्रममा मध्यस्तकर्ता बनेका लिलाबहादुर श्रेष्ठ बताउँछन्। यसअघि ४५ घरलाई खानेपानी उपलव्ध भएको थियो। यसपटक भने ८५ घरमा खानेपानी पुर्याउने लक्ष्य व्यवसायीको छ।

केटाकेटीसहित गाउँनै उल्टिएर चेपाङहरु सोमबारको कार्यक्रममा सरिक भएका थिए। उनीहरुलाई यहाँ मित भोजको समेत व्यवस्था गरिएको थियो। स्थानिय र व्यवसायीले मित भेटघाट गरेझै टीका आदानप्रदान समेत गरेका थिए। व्यवसायीले वार्षिक रुपमा यसरी मितेरी कार्यक्रम गर्ने र क्षेत्रमा सम्बन्ध विस्तार गरेर विभिन्न सहयोगको कार्यक्रम गर्दै आएको छ।

२०६९ सालबाट सुरु मितेरी कार्यक्रम अन्तरगत व्यवसायीले यसअघि सडक बालबालिलिकाको उद्धार कार्यक्रम, आदर्शगृहमा समेत मितेरी साईनो गाँसिसकेको छन्। संघका अध्यक्ष बालकृष्ण कँडेल व्यवसायीहरुले गर्दै आएको कार्यक्रमको अब राज्यले जिम्मा लिनुपर्ने बेला आएको बताउँछन्। 

यहाँको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ मितेरी कार्यक्रमले चेपाङहरुको समस्या समाधानमा ठूलो सहयोग गरेको भन्दै हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाए। सहयोग पाउँदा मैतेशकी दिलमायाँ चेपाङले खुसी व्यक्त गरिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.