|

चितवन : चीनलाई उपहार दिने पोथी गैँडालाई तीनदिनको अथक प्रयासपछि म‌ंगलबार साँझ समातिएको छ। मंगलबार साँझ ६ बजेको समयमा निकुञ्जको पश्चिम सेक्टर अन्तरगत सुकिभार क्षेत्रबाट गैँडा नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

यसअघि वैशाख १५ गते दुई वर्षको एउटा भाले गैँडा नियन्त्रणमा लिएर चितवनको सौराहास्थित पिट बोमा(सानो खोर)मा राखिसकिएको छ। मंगलबार समातिएको गैँडा अन्दाजी डेढ वर्षको रहेको अनुमान छ। अझै एउटा पोथी गैँडा नियन्त्रणमा लिन बाँकी रहेकाले टोली परिचालन भएको गैँडा नियन्त्रणमा खटिएका निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिए।

वैशाख ६ गतेदेखि चिनियाँ प्रतिनिधिसहितको टोलीले गैँडा नियन्त्रणका लागि प्रक्रिया शुरु गरेको थियो। गएको शुक्रबारबाट भने ‘डाट गन’सहित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिज्ञहरु गैँडा नियन्त्रणमा खटिएका थिए।

गैँडा नियन्त्रणका लागि चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालको नेतृत्वमा करिव ५० जना खटिएका छन्। वन्यजन्तु प्राविधिज्ञको टोली भने निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा छ। 
गैँडा नियन्त्रणमा लिन १० वटा हात्ती परिचालन गरिएको निकुञ्जले जनाएको छ। नेपाल सरकारको निर्णय अनुसार चीनलाई २ जोडी गैँडाको केटो उपहार दिइदै छ। सौराहामा रहेको बोमामा राखेर मानिससँग बानी पारेपछि मात्रै केही महिनापछि चीनलाई गैँडा पठाइने छ।

हाल सौराहामा पालनपोषण गरिँदै आएको एउटा केटोलाई समेत सँगै चीन पठाउने तयारी निकुञ्जको छ। मंगलबार समाएको गैँडाका लागि सौराहामा ‘पिट बो’मा तयार पारिएको निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए। उनका अनुसार आज राति नै गैँडा सौराहा ल्याइने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.