|

रसुवा : नौकुण्ड गाउँपालिका–२, यार्साका शेरलामा थोक्राको परिवार भारतको हिमाञ्चलमा बस्छन्। २६ वर्षदेखि उनको परिवार त्यहाँको जेभी कम्पनीमा काम गर्दै आएको छ। थोक्रा अहिले तीन वर्षअघि गएको भूकम्पले भत्काएको घर बनाउँदै छन्। घर निर्माणका लागि थोक्रासँगै उनकी श्रीमती पनि नेपाल आएकी छन्।

‘हामी बूढाबूढी चार महिनाअघि घर बनाउन गाउँ आएका हौं, थोक्राले भने, ‘काम सकिएपछि हामी फेरि उतै फर्कन्छौं।’ वर्षको तीन महिना उनको परिवार गाउँ आउने गरेको छ। यो वर्ष भने घर निर्माणका लागि केही समय बढी छुट्टी मागेको उनले बताए।

घर निर्माणका लागि थोक्रा मात्रै होइन, यार्सा गाउँका १५ परिवार गाउँ फर्किएका छन्। घर निर्माणका लागि छुट्टी मागेर गाउँ आएको यार्साका लाक्पा तामाङ बताउँछन्। घर निर्माण सकिएपछि काममै फर्कने उनको तयारी छ।

गाउँमा निर्माण सामग्री अभाव, कामदार अभाव तथा ज्याला महंगो हुँदा घर निर्माणमा ढिलाइ भएको तामाङले बताए। ‘तीन महिनाका लागि छुट्टी लिएर गाउँ आएका थियौं, उनले भने, ‘घर बनाउन ढिलाइ भएपछि कम्पनीमा फोन गरेर अर्को महिनामा आउछौं भनेका छौं।’

घर निर्माण सकाएर केही परिवार भने यसअघि नै भारत फर्किसकेका छन्। रोजगारीका सिलसिलामा यहाँका ३० परिवार भारतको हिमाञ्चल बस्दै आएका छन्। निर्माण सामग्री अभावले यार्सामा घर पुनर्निर्माणमा ढिलाइ भइरहेको स्थानीय भूकम्पपीडित बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.