|

चितवन : भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लापरबाहीका कारण 'ब्लड क्यान्सर'का लागि प्रयोग हुने औषधी राखिएको ठाउँमा धमिरा लागेको छ। सुरक्षित रूपमा नराख्दा 'ग्लिभेक' नामको औषधीमा धमिरा लागेको हो। उक्त औषधी 'क्रोमिक माइलोइड ल्यूकेमिया' (सीएमएल)का बिरामीलाई खुवाइन्छ।

म्याक्स फाउण्डेसन अमेरिकाले ब्लड क्यान्सर भएका बिरामीलाई भनेर सहयोग गर्दै आएको करिव ३०,४० प्याकेट औषधीमा धमिरा लागेको पाइएको हो। अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अौषधीमा धमिरा लागेको स्वीकार गरे तर बिग्रिने नै गरी धमिराले नखाएको उनको दाबी छ। ‘काठ भएको ठाउँमा धमिरा छ, बाहिरको खोल धमिराले खान शुरु गरेको छ तर औषधीमा धमिरा छैन। हामीले निकालिसकेका छौं’, उनले भने। 

धमिरा लागेको कतिपय औषधी काम नलाग्ने अवस्थाको जस्तो देखिन्छ। ग्लिभेक १०० एमजीको उक्त यहाँ स्टकमा ६२ प्याकेट रहेको औषधी शाखा हेर्दै आएकी स्टाफ नर्स लक्ष्मी न्यौपानेले जानकारी दिइन्। एउटा प्याकेटमा १०० वटा ट्याबलेट हुन्छ। केही प्याकेटमा धमिरा लागे पनि औषधीमा नलागेको दाबी उनले गरिन्।

‘कार्टुनमा अलिकति धमिरा लागेको पाइयो, ट्याबलेट नै खाएको छैन, न्यौपानेले भनिन्, '१०,१५ प्याकेटमा बाहिरपट्टी धमिरा लागेको छ। तत्काल नबाँडौं भनेर मात्रै छुट्याएका छौँ।’

महँगो औषधी भएकाले विदेशीले सहयोग गर्दै आएका छन्। बिरामी प्रमाणित भएको कागजात पठाएपछि त्यसैको आधारमा विदेशबाट उक्त औषधी क्यान्सर अस्पतालमा आउँछ। 

अस्पतालका सूचना अधिकारी गृहनारायण महतोले क्यान्सर अस्पतालमा धमिरा अलि बढी नै भएको जानकारी दिए। बाक्लो कार्टुन भएकाले त्यसको तल्लो भागमा धमिरा लागे पनि औषधीमा असर नपरेको दाबी उनले गरे। यो विषयमा म्याक्स फाउण्डेसनले प्रश्न उठाएको अस्पताल स्रोतले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.