|

शक्तिखोर (चितवन) : पूर्वी चितवनको शक्तिखोरस्थित पहाडी क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ। यहाँको प्राकृतिक छटाले जो कोहीलाई लोभ्याउँछ। तर, पूर्वााधारको अभाव र प्रचार नहुँदा पर्यटन क्षेत्र ओझेलमा छ। त्यसैले यहाँको पर्यटन विकासका लागि कालिका नगरपालिकाले अभियान सुरु गरेको छ।

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले शक्तिखोरको पहाडी पर्यटकीय क्षेत्रमा जाने सडक र बाटोघाटो निर्माण र प्रचारप्रसारलाई तीव्रता दिने गरी अभियान सुरु गरिएको बताए। यस वर्ष मात्रै पर्यटन पूर्वाधार तथा सडक निर्माणका लागि करिब दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको भन्दै श्रेष्ठले शक्तिखोरलाई आसपासका पर्यटकीय क्षेत्रसँग जोडेर विदेशी पर्यटकसमेत भित्र्याउने योजना बनाइएको उल्लेख गरे।

पहाडी पर्यटकीय क्षेत्र चितवनको शक्तिखोरस्थित सिन्ती झरना लगायत क्षेत्रमा अहिले पनि आन्तरिक पर्यटकहरू जाने गरेका छन्। विदेशी पर्यटकहरू औलामा गन्न सकिने भएकाले अव विदेशी पर्यटक समेत भित्र्याउँने र स्वदेशी पर्यटक बढाउँने गरी काम सुरु भएको श्रेष्ठको भनाइ छ। यसका लागि कालिका नगरपालिकाभित्र पर्ने पहाडी क्षेत्र सिद्धि, शक्तिखोरलाई इच्छाकामना गाउँपालिकाको उपरदाङगढी र सिंराइचुली, खैरहनी नगरपालिकाको कंकाली तथा रत्ननगरको सौराहा र कृष्ण प्रणामी मन्दिरलाई समेत जोडेर पर्यटन विकास गर्न लागिएको हो। 

मुख्य गरी पर्यटन विकासका लागि बाटोघाटोको सुविधा आवश्यक पर्ने भएकाले पहाडी क्षेत्रको पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले यहाँको सिन्ती झरनामा जाने पैदलमार्ग निर्माणका लागि १० लाख रुपैयाँ छुट्याएको छ। नागदहमा जाने बाटोका लागि ४ लाख, चित्राम झरनामा जाने बाटो निर्माणका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

यस्तै, देउजर, पाइमाराङ, मझवाङ, दौत्य, गामिङदुङ, छेरवाङ तथा लोतौती पर्यटन सडकका लागि मात्रै करिव  एक करोड ६० लाख बढी रकम विनियोजन गरेर काम सुरु भएको नगरप्रमुख श्रेष्ठ बताउँछन्।

पहिलो चरणमा सडक र पैदलमार्ग निर्माण भएपछि भने पर्यटकीय गन्तव्यको प्रचारलाई तीव्रता दिने नगरपालिकाको योजना छ। चितवनको कालिका नगरपालिकामा मुख्यगरी भिमवली बाबा, कालिका मन्दिर, नागदह, चमेरेगुफा, उदयपुर फनपार्क, चित्राम झरना, सिन्ती झरना, सम्फर्याङका प्राकृतिक छटाहरू पर्यटकीय आकर्षकका केन्द्र हुन्। 

चितवनको भरतपुरबाट शान्त वातावरण र शितलताका लागि यहाँ पर्यटक आउँने गरे पनि बाटोघाटोको राम्रो व्यवस्था हुन नसक्दा समस्या परेको भन्दै नगरपालिकाले अहिले पर्यटन सडक निर्माणमा जोड दिएको हो। तीन नम्बर प्रदेशसभा सदस्य घनश्याम दाहालले शक्तिखोर पर्यटकीय सम्भावना भएर पनि सदुपयोग हुन नसकेको भन्दै शक्तिखोरलाई सौराहासँग जोड्न सके पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताए। एमालेका पार्टी प्रतिनिधि जयचन्द्रप्रसाद चौधरीले प्राकृतिक छटाले भरिएको क्षेत्र कालिकाको सम्पत्ति भएको दावी गर्दै संरक्षण र प्रवर्द्धनमा जोड दिए।

नेपाली का‌ंग्रेसका प्रतिनिधि वीरबहादुर थापाले यहाँ हुने विकृति नियन्त्रण गर्दै पर्यटन विकासका ध्यान दिनसके भविष्य उज्वल रहेको बताए। यस्तै माओवादी केन्द्र पार्टी प्रतिनिधि विवेक डल्लाकोटीले सौराहा र सिंराइचुली जोड्न सके यो क्षेत्र पर्यटनको खानी रहेको औंल्याए। चितवनको कालिका नगरपालिका नाै र १० को सिमानामा रहेको पर्यटकीय क्षेत्र सिन्ती झरना जाने पैदल मार्गको काम सुरु भएको नगरपालिकाले जनाएको छ। कालिका नगरपालिकाको आर्थिक सहयोग तथा सेना, प्रहरी र स्थानीयको श्रमदानमा ढुंगाको सिंढी बस्ने गरी पैदलमार्गको निर्माणको काम सुरु भएको छ।

स्थानीय दलबहादुर चेपाङ यहाँको चेपाङ संस्कृतिसँग पर्यटन जोड्नुपर्ने बताउँछन् । मुख्य गरी पहाडी क्षेत्रमा चेपाङकै बसोबास छ। उनीहरूको रहनसहन झल्काउन सके मात्र पनि आकर्षक पर्यटकीय गन्तव्य हुन्छ। जसरी सौराहामा थारु संस्कृतिमा पर्यटक रमाउँछन्। सौराहासँग पहाडी पर्यटन क्षेत्र जोड्न सके आकर्षक गन्तव्य हुनेमा दुई मत छैन। त्यसका लागि कालिका नगरपालिका मात्रै होइन समग्र चितवन जिल्लाकै ध्यान जानुपर्ने स्थानीयहरू बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.