|

चितवन: अष्ट्रियाबाट आएका नागरिकहरुले चितवनको रत्ननगरमा बस्दै आएका चेपाङ बालबालिका र सानो घरका बालिकालाई रु १ लाख बराबरको खाद्यान्न र पोषाक सहयोग गरेका छन्। 

एक दम्पत्ती ईलमर मुलर र मायाँ मुलर, थोमस लगायत प्रतिनिधिहरुले रत्ननगर स्थित गामबेशी चेपाङ संरक्षण केन्द्रमा आश्रित एकसय भन्दा बढी चेपाङ बालबालिकाहरुलाई एक महिनासम्म पुग्ने खाद्यान्न सहयोग गरेका हुन्। 

चितवनको माडीकी मायाँ र उनका श्रीमान अष्ट्रियाका इलमर मूलरले अष्ट्रियामा मःम र समोसा वेचेर संकलन गरेको पैसाबाट नेपालमा असहायहरुलाई सहयोग गर्ने अभियान चलाउँदै आएका छन्। 

लायन्स क्लव अफ चितवन सौराहाको संयोजनमा उनीहरुले चेपाङलाई २० बोरा चामल, १ बोरा नुन, १ बोरा दाल, तेल लगायत खाद्यान्न सहयोग गरेको र भान्छा कोठाका लागि आवश्यक भौतिक निर्माण समेत गर्ने प्रतिबद्धता जनाएका छन्।
भुकम्पका बेला सहयोगका लागि उनीहरुले स्थापना गरेको ‘धन्यवाद नेपाल हिल्फे’ नामक संस्थामार्फत चेपाङ बालबालिका र सानो घरमा आश्रित बालिकाकालाई रु १ लाख ३ हजार बराबरको सहयोग गरिएको मायाँ मुलरले जानकारी दिईन्।

चेपाङ केन्द्रमा १ सय बालबालिका छन् भने सानो घरमा १४ जना बालिका आश्रित छन् । शनिवार उनीहरुले सानो घरका बालिकाहरुलाई एक महिनालाई पुग्ने रासन र स्कुल पोषाक समेत सहयोग गरेको उनीहरुका सहयोगी तथा सामाजिक अभियन्ता शीरलाल परियारले जानकारी दिए।

रत्ननगरमा रहेको गामबेंसी चेपाङ केन्द्रमा यसअघि १० लाखभन्दा बढीको लागतमा डाइनिङ हल, भान्छा कोठा निर्माण गरेका उनीहरुले पटकपटक खाद्यान्न र लत्ताकपडाहरु सहयोग गर्दै आएका छन्। 
ईलमर मुलरले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए। 

यसअघि उनीहरुले चितवनका कविलास स्थित चौकीडाँडा, माडी, शक्तिखोर र काभ्रेका भुकम्प पिडितहरुलाई लाखौंको सहयोग गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.