|

जनकपुरधाम : जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कर्मचारीहरूले तलव भत्ताको माग गर्दै कलेज केन्द्रीय प्रशासनमा धर्नासहित तालाबन्दी गरेका छन्। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा कर्मचारीले महिनौँ देखिको नपाएको तलव, भत्ता अविलम्ब दिनुपर्ने भन्दै ६ बुन्दे मागसहित उनीहरूले अस्पताल प्रशासनमा धर्ना दिँदै तालाबन्दी गरेका हुन्।

उनीहरूले कर्मचारी सरुवा तथा बर्खास्त गरिएका कर्मचारीहरू अविलम्ब फिर्ता हुनुपर्ने, २०७४ चैत १२ गते मेडिकल कलेजका सञ्चालक गणेश लामा र कामेश्वर साहबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, कलेजमा वर्षैदेखि कार्यरत कर्मचारीलाई प्रक्रिया पुर्‍याइ स्थायी गरिनुपर्ने, पठन–पाठन नियमित हुनुपर्नेलगायतका माग राख्दै हडतालमा उत्रेका हुन्।

विगत १४ महिनादेखि तलब–भत्ता नपाएको भन्दै आइतबारदेखि अस्पतालको आकस्मिक कक्ष बाहेक सबै उपचार सेवा ठप्प पारेर कर्मचारीहरू आन्दोलनमा उत्रेका छन्। गत बिहीबार बसेको प्राध्यापक, चिकित्सकलगायत सम्पूर्ण कर्मचारीको बैठकले आन्दोलनमा जाने निर्णय गर्दै आइतबारदेखि हडताल गरेका छन्।

चौध महिनाको पारिश्रमिक र नयाँ तथा पुरानो वृद्धि सञ्चय कोषको तलब भत्ता उपलब्ध नगराई सञ्चालक पक्षले श्रम शोषण गरिरहेको कर्मचारीले आरोप लगाएका छन्। उनीहरूले आफूहरूको माग सम्बोधन नभए आगामी वैशाख २९ गतेदेखि आकस्मिक सेवासमेत बन्द गर्ने जानकी मेडिकल कलेज कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले चेतावनी दिएका छन्। 

जानकी मेडिकल कलेजमा कार्यरत चिकित्सक, कर्मचारीलगायत ४०० कर्मचारीहरूको १४ महिनाको तलव–भत्ता गरी झन्डै रु २८ करोड बाँकी रहेको छ। समयमा तलब–भत्ता नदिँदा मेडिकल कलेजमा ताला बन्दीसहित आन्दोलनका कार्यक्रम पहिलदेखि नै हुँदै आएकाले मेडिकलको अवस्था धरासायी हुँदै गएको छ। अस्पताल प्रशासनमा लगाइएको तालाबन्दीसँगै सो कलेजमा चिकित्साशास्त्रमा अध्ययनरत झण्डै ३०० विद्यार्थीको अध्ययन÷अध्यापनसमेत प्रभावित हुदै आएको छ ।  

जानकी मेडिकल कलेजद्वारा नै सञ्चालित जनकपुरस्थित ब्रह्मपुरीमा रहेको जानकी मेडिकल सिटी अस्पताल पनि कर्मचारीले तलब नपाएकै कारण कर्मचारीहरूले पटक–पटक तालाबन्दी गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.