|

दमक (झापा) : वि.सं. २०१४ कार्तिक ७ गते धनकुटामा जन्मिएकी विन्दुमाया श्रेष्ठका चार सन्तान छन्। पति दिलबहादुरको गएको कार्तिकमा निधन भयो। नाति-नातिनीहरू हुर्किसक्दासमेत कानुनी रूपमा उनको र राज्यको चिन जानै थिएन। अर्थात उनी ६१ वर्षकी हुँदासम्म नागरिकताविहीन थिइन्। 

हाल झापाको शिवसताक्षी नगरपालिका- ५ पाँचगाछीकी उनले ६१ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्। गरिबी र चेतना अभावका कारण अहिलेसम्म नेपाली नागरिकता पाउन नसकेकी ६१ वर्षीया श्रेष्ठलाई छोराछोरीले हाल आएर नागरिकता दिलाएका हुन्। साधारणतया आमा, बुबा अथवा अभिभावकले सनाखत गरेर सन्तानको नागरिकता निकालिन्छ तर विन्दुमायालाई भने छोरा कुमार श्रेष्ठले सनाखत गरेर नागरिकता निकालिदिएका हुन्। उनले यसअघि नै नागरिकता लिएका थिए। उनलाई शिवसताक्षी नगरपालिका- ५ का वडाध्यक्ष सत्यनारायण राजवंशीले गरेको सिफारिसका आधारमा इलाका प्रशासन कार्यालय दमकले सोमबार ०४–०२–७५–००३२० नम्बरको नागरिकता जारी गरेको हो। 

कार्यालयबाट जारी नागरिकता कार्यालय प्रमुख भोजराज श्रेष्ठले हस्तान्तरण गरे। नागरिकता ग्रहण गरेपछि विन्दुमायाले नेपालमै जन्मिएर, हुर्किएर यो उमेर पुग्दा बल्ल नेपाली नागरिकको प्रमाणपत्र पाउँदा हर्षका आँसु खसालिन्। आमाको नागरिकता बनाउन हार गुहार माग्दै पहलकदमी चालेकी छोरी कुमारी श्रेष्ठले जीवनको उत्तरार्द्धमा भए पनि आमाले राज्यको हक अधिकार पाउने नागरिकता जस्तो महत्त्वपूर्ण कागजात पाएकोमा खुसी व्यक्त गरिन्। ‘विभिन्न कारणले आमाको यस बेलासम्म नागरिकता हुन सकेको थिएन’, उनले भनिन्, ‘यो उमेरमा भए पनि हामी सन्तानले आमालाई नेपालको नागरिक बनाउन सक्यौँ, साह्रै खुसी लागेको छ।’

धनकुटा नगरपालिका- ८ मा वि.सं. २०१४ कार्तिक ७ गते आमा गंगादेवी र बुबा गोपीकृष्ण कर्माचार्यकी छोरीका रूपमा जन्मिएकी विन्दुमायाको विवाह झापाका दिलबहादुर श्रेष्ठसँग भएको थियो। पति दिलबहादुरको गएको कार्तिकमा निधन भएको थियो। चार सन्तानलाई जन्म दिएकी विन्दुमायाको नागरिकता नबन्दा अहिलेसम्म आफ्नो नाममा कुनै जायजेथा थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.