|

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय सरकारले संघीय संरचना र संविधानलाई खतरामा पुर्‍याउन खोजेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसको उपसभापतिमा मनोनीत भएपछि पहिलोपल्ट गृहजिल्ला धनुषा आइपुगेका नेता निधिले संघीय सरकार संघीय प्र्रणालीलाई कमजोर पारेर संविधानलाई असफल बनाउने कोसिसमा लागेको बताएका हुन्।

उनले संघीय सरकारले हाल संघीयताविपरस्त केन्द्रीयतामा गएर सबै कामकाज गर्ने दिशामा लगातार अग्रसर रहेको र यसले संघीयता नै धरापमा पार्ने खेल भइरहेको बताए। उनले संघीयता बचाउन जनताले आआफ्नो स्थानबाट पहलकदमी नलिए संघीयता नै धरापमा पर्ने भएकाले सबैले सजगताका साथ अघि बढ्न आग्रहसमेत गरे।

प्रदेश २ मा प्रमुख प्रतिपक्षी दलमा देखिएको विवादबारे नेता निधिले भने, ‘सरकार निर्माण भएर समर्थनको क्रममा नेपाली कांग्रेसबाहेक अन्य सबै दलले सरकारलाई समर्थन गरेका छन् तर नेपाली कांग्रेस प्रतिपक्षमा बसेको छ, त्यसैले यस प्रदेशमा प्रमुख प्रतिपक्षी दलको मान्यता नेपाली कांग्रेसले पाउनुपर्छ।’

उनले नेपाली कांग्रेसले प्रदेश २ को राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने मनसाय बनाएको तर सरकार बनाउने बेलामा कांग्रेससँग कुनै सल्लाह, सुझाव तथा समझदारी गर्न नखोजेका कारण प्रमुख प्रतिपक्षमा बसेको बताए।

प्रदेश सरकारले संविधान संशोधनका विरोधीहरूसँग सम्झौता गरेर नेपाली कांग्रेसलाई उपेक्षा गरेर मधेसविरोधी पार्टीहरूसँग समन्वय गरेको आरोपसमेत लगाए। उनले प्रदेश २ का सभामुखले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता दिनुपर्ने भए पनि टुंगो नलगाएका कारण संसद नै अवरुद्ध गरेको उनको भनाइ थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका सन्दर्भमा बोल्दै नेता निधिले संघीय सरकार र प्रादेशिक सरकारले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा भारत सरकारसँग विगतमा भएको द्विपक्षीय सम्झौताअन्तर्गत भएका कामहरू, जस्तै : नेपाल–भारतको पूर्व–पश्चिम रेल सेवा, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम–अयोध्याको भगिनी (सिस्टर सिटी) सम्बन्ध जस्ता कुराहरूलाई प्राथमिकतामा राखेर भ्रमणलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए।

जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानीको क्रममा निधिले भने, ‘मैले चुनाव हारेको छु, पार्टीले मलाई हराएको छैन, त्यसैले मलाई उपसभापतिको जिम्मेवारी दिइयो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.