|

जनकपुरधाम : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा रक्षामन्त्रीले स्वागत गर्ने बताएका छन्। बैशाख २८ र २९ गते हुन लागेको नेपाल भ्रमणको क्रममा जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने बताएका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तयारीको सन्दर्भमा जानकारी लिन जनकपुरधाम आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नरेन्द्र मोदीले र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रामायण सर्किटको घोषणा गर्ने कार्यक्रम रहेको जानकारी गराए। उनले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाममा हुने नागरिक अभिनन्दन जनकपुर उपमहानगरपालिका र प्रदेश सरकारले गर्ने र प्रत्रानमन्त्रीको सहभागिता नरहने तथा केन्द्र सरकारको यसमा कुनै हस्तक्षेप नरहने स्पष्ट पारे।

रामायण सर्किटबारे बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भने, 'मूलतः पौराणिक धार्मिक महत्त्वसँग जोडिएको रामायणकालीन सीता र रामसँग जोडिएको प्रसंगहरू समेट्ने सबै धार्मिक तथा ऐतिहासिक तीर्थस्थलहरूलाई पर्याप्त पूर्वाधार, खासगरी यातायात संजालसँग जोड्ने, ऐतिहासिक र सांस्कृतिक महत्त्वका स्थलहरूको संरक्षण गर्ने र ती स्थलहरूको विकास गर्दै ती स्थानमा रहेका जनतामा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको छ।'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा रहेको र बाँकी काम तीन दिनभित्र पूरा भइसक्ने जानकारी दिँदै नेपाल र भारतबीच रहेको भगिनी सम्बन्धलाई रामायण सर्किटले अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा रामायण सर्किटसँगै दुई देशबीच बस सेवाको उद्घाटनसमेत हुने जानकारी दिए।

प्रधामन्त्री ओलीको भारत भ्रमणको क्रममा भएको सम्झदारीमा भारतीय सहयोगमा नेपालमा संचालित पूर्व-पश्चिम रेलमार्ग, रामायण सर्किट, हुलाकी राजमार्ग, जलमार्ग र कृषिमा साझेदारीका साथै अन्य सम्झौताहरूमा छलफल हुने जानकारी पनि उनले दिए। उनले मोदीको नेपाल भ्रमणको क्रममा मुक्तिनाथको दर्शनसमेत गर्न सक्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.