|

धनुषाः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा नागरिक अभिनन्दनसंगै उप–महानगरपालिकाको साँचो हस्तान्तरण गरिने भएको छ। जनकपुरधामको ऐतिहासिक तथा धार्मिक स्थल बाह्रविघा रङ्गभुमि मैदानमा हुने नागरिक अभिनन्दनको कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाको साँचो हस्तान्तरण हुने कार्यक्रम तय गरिएको हो।  

जनकपुरधाम उप–महानगरपालिकाको नेतृत्वमा मोदीको अभिनन्दनको क्रममा उप–महानगरपालिकाको साँचो समेत हस्तान्तरण गरिनेछ। सम्मानको क्रममा साँचो हस्तान्तरणको चलनअनुसार मोदीलाई साँचो दिन लागिएको जनकपुर उप–महानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकारी दिए। साहका अनुसार अभिनन्दनपूर्व भारतीय प्रधानमन्त्रीलाई उप–महानगरको कलात्मक साँचो पनि हस्तान्तरण गरिनेछ । साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि उप–महानगर खुला छ’ भन्ने हो ।

उनले भने – ‘साँचो दिनुको अर्थ विश्वको जुनसुकै देशको अतिथिलाई जनकपुर उप–महानगरपालिकामा आउन २४ औं घण्टा खुल्ला रहने हो । अतिथि देव भवः अर्थात अतिथि भगवानको एउटा स्वरुप भएकोले अतिथिलाई जहिले पनि जुनसुक्कै समयमा पनि जनकपुर उप–महानगरपालिकामा आउने साँचो खुल्ला रहने उदेश्यका साथ साँचो प्रदान गरिन लागिएको हो ।’

आगामी २८ गते दुई दिने राजकीय भ्रमणमा आउन लागेका मोदी पटनाबाट हेलिकप्टरमा जनकपुरधाम हुँदै नेपाल भ्रमणमा आउन लागेका हुन्। भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मोदीले विश्वका हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा मानिएको जानकी मन्दिरको दर्शन तथा पुजाअर्चना पश्चात् रामायण सर्किटको घोषणा गर्ने कार्यक्रम रहेको छ। 

जनकपुरधाममा २ घण्टाको कार्यक्रम ऐतिहासिक बाह्रविघाको रङ्गुभुमि मैदानमा जनकपुर उप–महानगरपालिका तथा प्रदेश सरकारले आयोजना गर्ने नागरिक अभिनन्दनमा सरिक हुने कार्यक्रम तय गरिएको जनाईएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.