|

चितवन : हावाहुरीले ठूलो क्षति बेहोर्ने अधिकांश केरा किसानले बिमा नगरेको पाइएको छ। चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले क्षति बेहोरेका मध्ये ७० प्रतिशत केरा किसानले बिमा नगरेको बताए। जसका कारण किसानले ठूलो नोक्सानी बेहोरेका छन्। 

बिमा गर्ने किसानले क्षतिको करिव ९० प्रतिशत क्षतिपूर्ति पाउने भए पनि बिमा नगर्ने कतिपय किसान व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउन सक्ने पन्तले बताए। ‘अव किसानलाई सरकारले राहत दिनु पर्छ,’ पन्तले भने, ‘यति ठूलो नोक्सान भएको छ। किसानहरू रोएर बस्नु परेको छ।’  चितवनमा ६२० जना केरा किसान छन्। उनीहरू मध्ये १६५ जनाले मात्रै १७ करोड रुपैयाँ बराबरको केराको बिमा गरेका छन्। अघिल्लो वर्ष २२ करोडको बिमा भएकोमा यो वर्ष वीमा गर्ने किसान बढ्नुपर्नेमा झन् घटेका बेला ठूलो क्षति बेहोर्नुपर्‍याे।

आइतबार साँझ आएको हावाहुरी र असिनापानीले चितवनको पूर्वी क्षेत्र र भरतपुरको ठिमुरामा लगाइएको केरा ढलेर ठूलो नोक्सान भएको छ। प्रारम्भिक जानकारी अनुसार कम्तिमा २० करोडको केरा क्षति भएको संघले जनाएको छ। पूर्वी चितवनमा लगाइएको ७० प्रतिशत माथि केरा नष्ट भएको छ। अहिले क्षतिको विवरण संकलन भइरहेको छ।आजदेखि बिमा कम्पनीले समेत अनुगमन गरिरहेको केरा उत्पादक संघले जनाएको छ।

पूर्वी चितवनका आशाराम चौधरीको पदमपुर र भट्टेनीमा गरी १२ विगाहामा केरा ढलेर पूर्ण नष्ट भएको छ। उनले करिव ३५ लाख माथिको केरा क्षति भएको भन्दै बिमा नभएकाले सरकारसँग राहत माग गरे। विगतमा बिमा गरेको भए पनि पोडिन्सियल बिमा कम्पनीले घाटा लाग्यो भनेर बिमा गर्न नमान्दा आफूले यो वर्ष बिमा नगरेको उनले बताए।

अर्का केरा किसान नारायण पुडासैनीले पनि यो वर्ष केरामा विमा गरेका थिएनन्। उनको १२ विगाहा मध्ये ३ विगाहामा केरा ढलेर पूर्ण क्षति भएको छ। करिव १२ लाख नोक्सान भएको दावी पुडासैनीको छ। विगतमा बिमा गरेपनि ५ प्रतिशत भनद कम क्षति भए क्षतिपूर्ति नपाइने नियम आएको थियो। त्यसका कारण बिमा गर्नतर्फ ध्यान नदिएको किसानहरूबताउँछन्। बिमा कम्पनीले घटाएर दिने, झुलाइदिने, पाँचप्रतिशत क्षतिको क्षतिपूर्ति नदिने लगायत बिमा व्यवस्थापनको कमजोरीले किसानले बिमा नगरेको बताउछन् पुडासैनी।

पछि केरा किसानको दवावमा पाँचप्रतिशत हटाइएको थियो तैपनि बिमा मा किसान आकर्षित हुन सकेका छैनन्। जसले अहिले करोडौंको नोक्सानी बेहोर्नुपरेको छ। यस पटकको हावाहुरीले सबैभन्दा बढी पदमपुर, जुटपानी, चैनपुर र ठिमुराका कृषककाे बालीमा क्षति पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.