|

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका साविकका फोइमहादेव, राँचुली, जुबिथा र छाप्रे गाविस मिलेर बनेको हो। २६२.५६ वर्ग किलोमिटर भूगोल ओगटेको यस नगरपालिकामा जनघनत्व ६० किमी रहेको छ। यस नगरपालिकामा कुल जनसंख्या १५ हजार ७६६ रहेको छ।

गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा यस नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रमा रतनबहादुर शाही विजयी भएका छन्। पहिले जनमुक्ति सेनाका ब्रिग्रेड कमाण्डर रहेका शाही विभिन्न ठाउँमा भएका भिडन्तमा परेका कारण अहिले पनि शरीरमा गोली बोकेर हिँडेका छन्। साविकको छाप्रे गाविस– २ मा वि.सं. २०३७ मा जन्मिएका शाही अहिले युवा जोशका साथ नगरपालिकाको विकास निर्माणको काम गरिहरहेका छन्। उनै नगर प्रमुख शाहीसँग थाहाखबरका कालीकोट जिल्ला संवाददाता रमेश रावलले गरेको संवाद : 

तपाईं जनमुक्ति सेनाको कमाण्डर भएर आउनुभएको मान्छे, अहिले वैधानिक सत्ताको नगर प्रमुख हुँदा के महसुस गर्नुभएको छ? 

पहिले जनमुक्ति सेना भनेको जनताको सेना भएको, जनतासँगै घुलमेल हुने गरेका कारण खासै फरक महसुस गरेको छैन। पहिले विकास निर्माणका कुनै काम गर्नु पर्दैनथ्यो, अहिले जनतासँगै रहेर विकास निर्माणका काम गर्नुपर्छ। उनीहरूका गुनासा सुन्नुपर्छ, त्यहीअनुसारको योजना बनाएर काम गर्नुपर्छ। अहिले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्छ। दायित्वले नै मान्छेको भूमिका बदल्दो रहेछ।

तपाईंलाई जनताले के आधारमा जिताएका हुन् जस्तो लाग्छ?

पहिलो कुरा, मलाई जनताले हाम्रा चुनावी नारा, हाम्रा प्रतिबद्धतालाई माया गरेर जिताएका हुन्। दोस्रो कुरा, हामीले जनताका अगाडि हामीले पाँच वर्षभित्र गर्ने काम र दीर्घकालीन रूपमा गर्ने कामका फेहरिस्त बताएका थियौँ। त्यही कुरालाई जनताले मन पराएर हामीलाई विजयी गराएका हुन्। 

तपाईंलाई जिताउने त्यस्ता के प्रतिबद्धताहरू थिए तपाईंका?

हामीले पाँच वर्षभित्र जनताका आधारभूत आवश्यकता पूरा गर्नेछौँ भनेका थियौँ। खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र सडक, यी नै यहाँका मानिसहरूका आधारभूत आवश्यकता हुन्। यी आधारभूत आवश्यकताका विषयमा जनतासँग राखेका प्रतिबद्धताहरू हुन्। 

निर्वाचित हुनुभएको एक वर्ष भएको छ, तपाईंले चुनावका बेला गरेका ती प्रतिबद्धताहरू कति पूरा भए?

मैले चुनावका बेला गरेका प्रतिबद्धताअनुसार आधारभूत आवश्यकतालाई प्राथमिकतामा नै राखेर काम गरेको छु। अधिकांश प्रतिबद्धता पूरा गर्ने गरेर काम गरेको छु। हामीले खानेपानी, सडक, बिद्युत र कृषिलाई प्राथमिकतामा राखेका थियौँ। त्यहीअनुसार नगर परिषद्बाट योजना तर्जुमा गर्‍र्यौं र ती कामलाई अगाडि बढाएका छौँ। त्यहीअनुसार खानेपानी, सडकलगायतका क्षेत्रमा काम तीब्र रूपमा भइरहेका छन्। 

प्रतिबद्धता गरेका काममध्ये अहिलेसम्म भएका ठोस काम केके हुन्?

हामीले सडक सबै वडामा पुर्‍याइसकेका छौँ। सडकको ८० प्रतिशत काम भएको छ। नगरपालिकाका ११ वडामध्ये १० वटा वडामा सडक पहुँच पुगेको छ। एउटा वडामा मात्र सडक पुग्न बाँकी छ। त्यहाँ पनि आगामी आर्थिक वर्षभित्र सडक पुर्‍याउने लक्ष्य राखेका छौँ। नगरपालिकामा प्रायः विकासका बजेटलाई विकासमा मात्र लगानी गरेका छौँ। बालमैत्री खानेपानी धारा निर्माण गरेका छौँ। कृषि जोनको विकास गरेर अगाडि बढेका छौँ। कृषि उत्पादनमा वृद्धि गर्न एक घर एक स्याउ बगैँचा बनाएका छौँ। कृषि क्षेत्रमा लगानी वृद्धि गरेका छौँ। 

बिद्युतका हिसाबले करिब एक हजार ५०० घरपरिवारलाई बिद्युत सेवा दिएका छौँ। अहिले २, ७, ८, ९, १० र ११ नम्बर वडामा बिद्युत पुर्‍याउन सफल भएका छौँ। 

नगर विकासका लागि तपाईंहरूका दीर्घकालीन र वृहत् योजना केके हुन्?

अबको पाँच वर्षभित्र शिक्षामा ८० प्रतिशत सुधार, ठूला बिद्युत आयोजना निर्माणमा पहल, कृषिमा विशेष स्याउ, सिमी र आलु उत्पादनमा वृद्धि गर्न अहिले कृषि जोनका रूपमा र पछि सुपर जोन बनाउने तयारी गरेका छौँ। हामी नगरपालिकालाई आत्मनिर्भर र समृद्ध बनाउन नगरपालिकाको १० वर्षीय रणनीतिक योजना बनाउन सुरु गर्दै छौँ। हाम्रो पहिलो प्राथमिकता भनेको नगरपालिकालाई आत्मनिर्भर बनाएर यहाँका मानिसहरूको आर्थिक वृद्धिदर बढाउने किसिमका दीर्घकालीन योजनाहरू तयार पार्नु हो।

यस नगरलाई समृद्ध नगर बनाउन कस्ता नीति तय गर्नुभएको छ?

सिंहदरबारको अधिकार गाउँगाउँमा आएको छ। नगरपालिकाका जनतालाई सिहंदरबारका सबै अधिकार आएको महसुस गराउने गरी जनताको हितका लागि काम गर्ने हो। हामीले जनप्रतिनिधिहरूका हैसियतमा जनताका लागि केही नयाँपन दिन धेरै कामको थालनी गरेका छौँ। विकास निर्माणका काम गर्न सबैलाई आग्रह गरेका छौँ। हामीले पहिलो आर्थिक वर्षमा सबै जनप्रतिनिधिलाई जिल्लाबाहिर भम्रण नजान र जनताको काम गर्न भनेका छौँ। अबको पाँच वर्षभित्र शिक्षामा ८० प्रतिशत सुधार र सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने गरी, कृषिमा सहुलियत ऋण दिने, विद्युतमा विशेष जोड, सडक, खानेपानी जस्ता आधारभूत आवश्यकतामा लगानी गर्ने नीति तय गरेर अगाडि बढेका छौँ।

विकास निर्माणका काम गर्दा स्थानीयस्तरमा समस्या के पाउनुभयो?

स्थानीय तहमा रहेर विकास निर्माणका काम गर्दा यस नगरपालिकामा भौगोलिक कठिनाइका कारणले केही समस्या भएका छन्। पहिलो समस्या भनेको नगरपालिका बीचबाट बग्ने तिला कर्णाली नदी भएको छ। सडक सबै ठाउँमा पुर्‍याउने हो भने करिब आठदेखि १० वटा पक्की पुलको आवश्यकता छ। त्यो स्रोत कसरी जुटाउने भन्ने छ। अर्कोतर्फ हामीले दीर्घकालीन रूपमा तिलामा बिद्युत निकाल्ने लक्ष्य लिएका छौँ। त्यसको स्रोत र लगानीको आवश्यकता छ। 

स्थानीय जनताका आधारभूत समस्या पनि धेरै छन्। ती आधारभूत आवश्यकता पूरा एकै पटक गर्न सम्भव छैन। त्यसलाई कसरी समाधान गर्ने भन्नेजस्ता समस्या रहेका छन्। 

अर्कोतर्फ कर्मचारी नहुँदा पनि केही समस्या आएका छन्। कर्मचारी अभावकै कारणले पनि सोचेजस्तो काम गर्न पाएका छैनौँ। अहिले काम चलाउ काम मात्र भएको छ। 

यतिका महिनासम्म जनतासँग काम गर्दा नीतिगत र कानुनी रूपमा केही समस्या आए कि?

हामीले जनतासँग करिब नौ महिना काम गरेका छौँ। यो नौ महिनासम्म काम गर्दा विशेष गरेर नीतिगत र कानुनी रूपमा केही समस्या आउने भए। जनताले अहिले पनि स्थानीय तहले गर्ने काम, कर्तव्य र अधिकारका विषयमा राम्ररी थाहा पाएका छैनन्। काम, कर्तव्य र अधिकारका विषयमा जनप्रतिनिधिहरूले थाहा पाउन सकेका छैनन्। दक्ष कर्मचारीहरूको दरबन्दी पूरा भएको छैन। अहिले पनि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले केही कानुन बनाएका छैनन्। केही विषयमा कानुन तय नहुँदा काम गर्न केही नीतिगत र व्यावहारिक समस्या पक्कै आएका छन्। यस्ता विषयहरू भोलि हल हुँदै जालान्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.