काठमाडौं : सरकारले कर्मचारीले पाउने महँगी भत्ता र स्थानीय भत्ताबाहेक सबै प्रकारका भत्ता कटौती गरेको छ। कर्मचारीका विविध भत्तामा मात्रै वार्षिक अर्बौं रुपैयाँ खर्च भए पनि उपलब्धि नभएको ठहर गर्दै महँगी र स्थानीयबाहेक सबै भत्ता कटौती गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए। आगामी साउन १ देखि लागू हुने गरी प्रोत्साहन भत्ता कटौती गरिएको छ।
अर्थ मन्त्रालयले तयार पारेको सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी मार्गदर्शनलाई स्वीकृत गर्दै सरकारले जथाभावी खर्च र भत्तामा अंकुश लगाएको हो। अनुगमन तथा मूल्यांकनमा गरिने खर्चसमेत कटौती गरिएको छ।
आर्थिक २०७३/७४ मा मात्रै कर्मचारीले भत्ताबाहेक अतिरिक्त सुविधामा २२ अर्ब रकम सकेका छन्। उच्चपदस्थ कर्मचारीको स्वदेश तथा विदेश भ्रमणमा मात्रै गत वर्ष दुई अर्ब २० करोड रुपैयाँ सकिएको थियो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२३.७६ प्रतिशतले बढी हो। कतिपय निकायका कर्मचारीले तलवको शतप्रतिशतसम्म प्रोत्साहन भत्ता खाँदै आएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।