|

चितवन :  बाँदर लड्ने ठाडो भिरमा खोपेर बनाइएको घर। वर्षाैंदेखि बस्दै आए पनि २०७२ सालको गोरखा महाभूकम्पले त्यही घरको डाँडोसमेत चर्कायो।  घर पूरै भत्कियो।

अन्त जाने विकल्प नभएपछि विकट काउलेस्थित हेप्चेकको पखेरो मै दुखजिलो गरेर ओत लाग्ने झुप्रो घर बनाएर बसेको तीन वर्ष भएको छ। हावाहुरी र मेघ गर्जँदा गाउँलेहरु डराएरै बस्थे।

‘डरैडरमा वित्यो,’ तुलबहादुर चेपाङ मुहार उज्यालो पार्दै भने, ‘अब घडेरी पायो, खुसी भा छ सर।’ सरकारले नजिकै रहेको दुम्किम भन्ने गाउँमा घडेरी उपलव्ध गराएपछि भने चेपाङहरु खुसी छन्।

विसं २०७२ साल बैशाख १२ गतेको ‘गोरखा महाभुकम्प’ आउँदा सोही गाउँकी उजेलीमायाँ चेपाङले जंगलबाट ल्याएको घाँस बिसाउन मात्रै के भ्याएकी थिइन् एक्कासी जमिन हल्लियो। डाँडो फनफनी घुमेको महसुस भयो। आँखैअगाडि क्षणभरमै घर ध्वस्त भयो। उनी जस्तै हेप्चेकका बुद्धबहादुर चेपाङको घरपनि त्यसैगरी क्षण भरमै ध्वस्तभयो।

‘जिमिन नै कमजोर भयो, डाँडो नै चिर्केको थियो, तुलबहादुरले भने, अझैपनि झरीबादल हुँदा डरलाग्छ बस्दैन ।’ जब गड्याङगुडुङ हुन्छ उक्त गाउँका बासिन्दा अहिलेपनि त्रासमै छन्। यो तीनबर्ष यस्तै गरेर बिताए।

भुकम्पपछिको महिनौंसम्मको रात उनीहरु घरमा बसेनन्। नजिकैको दुम्किममा गएर बास बसेको अनुभव उजेलीमायालाई छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको विज्ञ समुहले हेम्चेकको स्थलगत अध्ययन गर्दा सो क्षेत्र जोखिम भनेर बस्ती सार्ने निर्णय गरेको थियो। सामान्यतया ३० डिग्रीभन्दा बढी ठाडो जग्गामा बस्न मिल्दैन।

उनीहरुको गाउँ छंगाछुर भिर देखिन्छ। विगतमा ठुलो प्रयास गर्दापनि बस्ती सर्न नसकेका उनीहरुका लागि खुसीको परिणाम मिल्यो। नजिकै रहेको सुरक्षितस्थान दुम्किममा पिडित मध्ये ८ घरले जग्गा प्राप्त गरेका छन्।

जोखिममा रहेका ११ घर मध्ये एक घर सम्पर्कमा आएको छैन। भुकम्प पीडित कालु चेपाङ र बोमबहादुर चेपाङले नजिकै घुर्केस भन्ने स्थानमा जग्गा खोजेका छन्। अन्य होमबहादुर चेपाङ, रामबहादुर चेपाङ, तुलबहादुर चेपाङ, बलवान चेपाङ, थाकु चेपाङ, बुद्धबहादुर चेपाङ,  भगवान चेपाङ र उजेली चेपाङको परिवार दुम्किममा स्थानान्तरण हुने भएका छन्।

उनीहरुका लागि पुननिर्माण प्राधिकरणले प्रतिघडेरी अधिकतम रु २ लाख दिन्छ। घर निर्माणका लागि सरकारबाट रु ३ लाख आउँछ। आगामी असार मसान्त सम्ममा उनीहरुले जग तयार गरेभने दोस्रो किस्ता बापतको रकम पाउँछन्।

स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै दुम्किममा आईपुगेका उनीहरुलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) कार्यालय चितवनका प्रमुख पुष्कर पोखरेलले जग्गा पक्का भएको अबर सुनाउँदा उनीहरु हर्षित भए। घर पाउने पक्का भएपछि भुकम्प पिडित तुलबहादुरले हर्षित हुँदै भने, ‘अब छिट्टै घर बनाउने र बस्ने हो।’

चितवनको विकट क्षेत्र ईच्छाकामना गाउँपालिका वडा नम्बर­२ हेच्चेकको जोखिम क्षेत्रका ८ घर भूकम्पपीडितले सुरक्षितस्थानमा जग्गा प्राप्त गरेपछि विहिवारदेखि जग्गाधनी पुर्जाका लागि उनीहरुले प्रक्रिया शुरु गसिकेका छन् ।

चितवनको राप्ती नगरपालिकाको एसिखाई र तापाङका १३ घरलाई स्थानान्तरणका लागि जग्गा उपलव्ध गराईसकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए। उनीहरुले जग्गाधनी पुर्जा समेत प्राप्त गरिसेका छन्। पुर्जालिंदै स्थानिय विविमायाँ चेपाङले भने, ‘घर बनाएर बस्ने हो सर खुसी भा छ।’

यता ईच्छाकामना वडा नम्बर ४ तीनघरेका ५ घर पिडितलाई लेवाटारमा जग्गा उपलव्ध गराईएको छ। जिल्लाका अन्य क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक प्रक्रिया चलिरहेको छ। ईच्छाकामनाका अन्य धेरै पिडितहरु राहत लिने प्रक्रिया मै रहेको गाउँपालिकाको भुकम्प पुननिर्माणका श्रोत व्यक्ति राजन घिमिरेले बताए।

जिल्लामा जोखिम क्षेत्र पहिचान भएका कुल १०२ घर स्थानान्तरण गर्नुपर्नेमा अहिलेसम्म ३५ घरका लागि पैसा आएको छ। २१ घरले जग्गाका लागि रकम प्राप्त गरिसकेको र अन्यको प्रक्रियामा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। ईच्छाकामना गाउँपालिकाका ८३, राप्ती नगरपालिकाका १८ र कालिका नगरपालिकाका १ घर स्थानान्तरण गर्नुपर्ने छ।

चितवनमा सातहजार ३३५ बढी भूकम्पपीडित भए पनि घर निर्माणको किस्ता वितरणको काम इच्छाकामना गाउँपालिका बाहेक अन्य नगर र महानगरमा सुस्त छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.