|

धनकुटा पूर्वी क्षेत्रको एक पहाडी जिल्ला हो। यहाँ पर्यटकीय हिसाबले पनि धेरै सम्भावना छन्। भेडेटार, नमस्ते झरनालगायत धनकुटा जिल्लाको पहिचान हो। 
यस्तै धनकुटा सदरमुकाम रहेको नगरपालिका हो धनकुटा नगरपालिका।

धनकुटा नगरपालिकाको पूर्वमा छथर जोरपाटी गाउँपालिका, पश्चिममा पाख्रिबास नगरपालिका र शहीदभूमि गाउँपालिका, उत्तरमा पाख्रिबास नगरपालिका, दक्षिणमा साँगरीगढी गाउँपालिका र चौबिसे गाउँपालिका पर्छन्। 

यो नगरपालिकाको अधिकांश भूभाग ग्रामीण क्षेत्रमा पर्छ। धनकुटा नगरपालिकामा, मधुगंगा महादेवको गुफाभित्र रहेको शिला, विश्रान्ति मन्दिर र निशान भगवती मन्दिर प्रसिद्ध धार्मिक स्थल हुन्। 

धनकुटा सानो क्षेत्रलाई लिएर २०३५ सालमा घोषणा भएको नगरपालिका हो। हाल यो नगरपालिकाको क्षेत्रफल बढाइएको छ।  यही नगरपालिका भएर तमोर नदी बगेको छ। उक्त नगरपालिकामा जनप्रतिनिधि आएपछि के कति परिवर्तन भयो? यसै विषयमा थाहाखबरका धनकुटा संवाददाता ईश्वर थापाले नगर प्रमुख चिन्तन तामाङसँग गरेको कुराकानी :

नगरको विकासका लागि के कस्ता काम प्राथमिकतामा छन्?

दुई दशकको प्रतिक्षापछि स्थानीय तहमा जनताले आफ्नो प्रतिनिधि प्राप्त गरेका छन्। यो अवधिमा विकासको काम प्राय ठप्प भयो, तर अब विकासका काम गर्ने बेला आएको छ। नगरपालिकाको बजेट निर्माणको सन्दर्भमा विशेष ध्यान दिएर कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सडक र पशुपालनको विकासलाई प्राथमिकतामा राखेका छौँ। 

यस्तै, महिला, युवा, बालबालिका, जनजाति, दलितलगायत पछि परेका वर्गको उत्थानका लागि पनि ध्यान दिएर बजेट विनियोजन गरेका छौँ। त्यसको तीव्र कार्यान्वयनमा पनि लागेका छौँ।

विशेषगरी पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छौँ। त्यसपछि धनकुटा नगरपालिकालाई पर्यटकीय नगर बनाउने भनेर हरियाली नगर, फूलैफूलको नगर बनाउने काम पनि अघि बढाएका छौँ। अहिले पार्कहरू बनाएर र फूलहरू रोपेर शहर सिंगार्ने काममा लागेका छौँ। हामीले जनतामाझ गरेको प्रतिबद्धता पनि यिनै हुन्। 

हुन त नगरपालिकाको विकासका लागि अहिलेको प्राथमिकतामा भनेको नगरपालिकाको ऐन निर्माणको चरण हो। नगरपालिकाको विकासका लागि विभिन्न प्रकारका गुरुयोजना निर्माण गर्ने कार्यमा अगाडि बढिरहेका छौँ। गर्न सक्ने कामहरू भने दैनिक रूपमा गरिरहेका नै छौँ। ऐनकानुन निर्माण भएपछि विकास निर्माणका कामहरू पनि अगाडि बढाउछौँ।

पार्क कहाँ कहाँ बन्छ?

नगरपालिकाका सबै वडालाई पर्यटकीय ठाउँ बनाउने हाम्रो उद्देश्य छ। त्यसकारण सबै ठाउँमा बनाउने हो। हामीले धनकुटा–७ चुवाको बोट चोकमा बनाइसकेका छौँ।

सोही वडाको परिचय मोडमा बन्ने क्रममा छ। धनकुटा ४ मा श्रीपञ्चमी पार्क बन्नेछ त्यो चाहिँ हामीले निजी क्षेत्रलाई दिएर काम त्यहाँ अगाडि बढाइरहेकाछौँ र यो बर्खामा बिरुवा रोप्न सकिने गाउँहरूमा हरियालीका लागि बिरुवा र फूल रोप्दैछौँ।

नगरपालिकामा के कस्ता समस्या रहेछन्?

खासै समस्या देखिएको छैन। रकम अभावका कारण केही समस्या देखिएको हो। ऐन कानुनको पनि समस्या थियो। त्यो हामी समाधान गरिरहेका छौँ। नगरपालिकाले बनाउन सक्ने आवश्यक ऐनकानुन बनाएर अगाडि बढिरहेका छौँ। खासै त्यस्तो समस्या छैन।

निर्वाचनका बेला गरेका प्रतिबद्धता कति पूरा भए?

चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने काममा नै लागेको छु। खरका छाना भएकाहरूलाई हामी टिन वितरण गर्दैछौँ। त्यसपछि पूर्वाधार बनाउने कुरा र शिक्षालाई परिवर्तन गर्ने, व्यावहारिक र व्यावसायिक बनाउने कुरामा जोड दिइरहेको छु।

सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउने, सबै विद्यालयमा वार्षिक क्यालेन्डरमा एकरूपता दिनेलगायतका ३९ बुँदे प्रतिबद्धता पनि व्यक्त गरेर अगाडि बढ्दैछौँ। त्यो कार्यान्वयनको चरणमा छ। 

अबको पाँच वर्षपछि धनकुटा नगरपालिकालाई कस्तो बनाउने लक्ष्य छ?

पाँच वर्षभित्र सुन्दर नगर, सुखी जनता, व्यावसायिक खेती, पर्यटकीय क्षेत्र र गुणस्तरीय शिक्षाको नगरका रूपमा विकास भएको नगर हुनेछ। 

नगरका अन्य राजनीतिक दल र कर्मचारीसँग कसरी सहकार्य गर्दै हुनुहुन्छ?

मूलतः यो स्थानीय सरकार हो। यसलाई नेपालको संविधान २०७२ ले पर्याप्त अधिकारसँगै स्थानीय सरकारको रूपमा स्वीकार गरेको छ। यति हुँदाहुँदै पनि धनकुटा नगरपालिकाभित्रका सबै राजनीतिक दलका साथीहरूसँग छलफल र समन्वय गरी यहाँका समस्या समाधान गर्न सहकार्य गरिरहेका छौँ। 

सबैले आ–आफ्नो काम गरेपछि समस्या नहुँदो रहेछ। काम सबैको तर्फबाट पूरा भएको छ। फेरि व्यक्तिगत स्वार्थ भयो भने टकराव हुने हो। सामूहिक स्वार्थ भयो, जनताका लागि गरिने कामहरूमा कुनै त्यस्तो अप्ठ्यारो छैन। हामी सबै जनताको लागि काम गरिहेका छौँ र सबैको सहयोग प्राप्त छ।

अब नगरका लागि कस्ता काम गर्ने लक्ष्य राख्नु भएको छ?

धनकुटा नगरपालिका भनेको ठूलो शहर होइन र हाम्रो नगरपालिका धेरै भूगोल ग्रामिण क्षेत्रले ढाकेको छ। त्यसैले हाम्रो नगरपालिकामा कृषिमा आधारित धेरै जनता छन्।

यसै वर्षदेखि युवालाई स्वरोजगार बनाउने र कृषिलाई आधुनिकीकरण र व्यवसायिकीकरण गर्ने लक्ष्यका साथ हामी अघि बढेका छौँ। गाई फर्म, तरकारी फर्म, फलफूल खेतीलगायतको पकेट क्षेत्र ताक्दैछौँ। 

यो सालबाट नै केही पकेट क्षेत्रमा सुरुवात गर्ने तयारीमा छौँ। कृषिलाई हामीले महत्त्व दिनेछौँ। त्यसैले कृषिको आधुनिकीकरण र यान्त्रीकरण गर्नेदेखि लिएर एकैपटक १० वटा 'पावरटेलरिङ'  वितरण गर्ने तयारीमा छौँ। 

गोरुको सट्टा त्यो पावरटेलरिङले वा हाते ट्याक्टरले जोत्ने भएपछि त्यो गोरु पालक जनताले गाईपालन गर्न सक्छ र गाई पालेपछि दूधजन्य पदार्थ उत्पादन हुने नै भयो। 

हाते ट्याक्टर पूर्णरूपमा अनुदान हुनेछ कि प्रतिशतको आधारमा हुने के छ?

समूह गठन गरेर दिने तयारीमा छौँ। नगरपालिकाले ६० प्रतिशत अनुदान दिने र उनीहरूले ४० प्रतिशत लगानी गर्नुपर्ने छ। अथवा ७५ देखि ८० हजारमा आउँदो रहेछ। हामी ६० हजार अनुदान दिन्छौ र बाँकी समूहले लगाउनु पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.