काठमाडौं : नायिका नम्रता श्रेष्ठको बक्सर लुक्स सार्वजनिक गरिएको छ। फिल्म 'जाइरा'मा बक्सर बनेकी उनको मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन गरी लुक्स सार्वजनिक गरिएको हो। फिल्मका लागि उनले ६ महिनासम्म बक्सिङ ट्रेनिङ लिएकी थिइन्।
फिल्मका लागि उनले आफ्नो कपाल पनि मुण्डन गरेकी छिन्। उनी निर्देशकको सुझाव भन्दा पनि आफ्नै रुचीमा कपाल काटेको बताउँछिन्। पत्रकारसँग कुरा गर्दै उनी भन्छिन् 'मेरो कपाल निर्देशकले भन्नु भएर भन्दा पनि आफ्नै रुचीले काटेको हुँ। फिल्म र मेरो क्यारेक्टरलाई न्याय गर्न मैले कपाल काटे।'
त्यस्तै कार्यक्रममा यसै फिल्मबाट डेब्यु गर्न लागेकी नायिका श्रृजना रेग्मीको पनि लुक्स सार्वजनिक गरिएको छ। उनी पनि यस फिल्ममा फइटरको भुमिकामा देखिदैछिन्। कार्यक्रममा बोल्दै उनले आफु नयाँ भएकाले सबैबाट साथ र सहयोगको अपेक्षा ब्यक्त गरेकी थिइन्। कार्यक्रममा सम्राट मगर र सुजीता श्रेष्ठ पनि उपस्थित थिए। उनीहरुले पनि यसै फिल्मबाट डेब्यु गर्दैछन्।
निर्देशक आशुतोष श्रेष्ठले फिल्म पूर्ण रुपमा एक्सन प्रधान भएको र राम्रो फिल्म निर्माण गर्नको लागि धेरै मेहनत गरेको बताए। फिल्मका बारेमा जानकारी दिन राखिएको उक्त कार्यक्रममा फिल्मका मुख्य कलाकार अनुपविक्रम शाही, रेमानदाश श्रेष्ठ र प्रमोद अग्रहरी भने उपस्थित थिएनन्।
कार्यक्रममा फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। निर्माण युनिटले यस फिल्मलाई मंसिर १५ मा प्रदर्शनमा ल्याउने तय गरेको छ।
आशुतोषकै कथा रहेको फिल्मको पटकथा आशुतोष र निरोज महर्जनले तयार पारेका हुन्। फिल्ममा प्रशन्न गोपाली कार्यकारी निर्माताका रुपमा रहेका छन् भने दुई ब्राण्ड ट्रेण्डसेटर र हाइली हाई फिल्मको निर्मातामा रहेको छ।
बाबु श्रेष्ठले खिचेको फिल्मलाई लोकेश बज्रचार्यले सम्पादन गरेका छन्। निरोज महर्जन मुख्य सहायक निर्देशकका रुपमा रहेको यस फिल्ममा एलिश अधिकारी, विकाश चौधरी र सोनम वाङ्मो सहायक निर्देशकका रुपमा रहेका छन्।
फिल्ममा कल्यान सिंह, तुम्ब्लेविड र डिजे राजुको संगीत, केशव थापाको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।