|

पाल्पा : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडकमा देखिएको समस्या समाधान नगरी देशले समृद्धि हासिल गर्न नसक्ने बताएका छन्। सिद्धार्थ राजमार्गको शिद्धबाबा क्षेत्रमा निरन्तर खसेको पहिरो र सडकको दर्दनाक अवस्थाको बुधबार अवलोकनपछि मन्त्री महासेठले शिद्धबावा सडक निर्माण गर्न सरकार पछि नहट्ने बताए।

उनले वर्तमान सरकार विगतको जस्तो नभई स्थिर र दुई तिहाईको सरकार भएकाले शिद्धबावा सडकमा देखिएको समस्या समाधान भईछाड्ने बताए। उनले भने यो विगतको जस्तो सरकार होइन, त्यसैले तपाईहरु ढुक्क हुनुहोस् सिद्धार्थ राजमार्गको शिद्धबाबा सडकमा देखिएको समस्या समाधान हुन्छ।

विगतको सरकारले पनि सिद्धार्थ राजमार्गको निर्माण गर्न भन्दै बजेट विनियोजन गरेको तर राजनीतिक अवस्थाले समस्या समाधान नभएको बताए। विगतको सरकारले दुई वटा बजेटमा पनि सडकलाई सम्बोधन गरेको थियो तर अहिले विगतको सरकारजस्तो होइन, बजेट ल्याएको काम गर्नकै लागि हो उनले भने।

सरकारले सडक निर्माण गर्न बजेटको समेत व्यवस्था गरेको भन्दै मन्त्री महासेठले सुरुङ मार्ग बनाउने की, बैकल्पिक बाटो वा बेलिब्रिज बनाउने भन्ने अध्ययन गरेपछि सरकारले निर्णय गर्ने बताए। सिद्धार्थ राजमार्गमा देखिएको समस्या देशकै सरोकारको विषय भएको भन्दै उनले सिद्धार्थ राजमार्गमा देखिएको समस्याको विषयमा यहाँ यात्रा गर्ने यात्रुलाई मात्र थाहा भएको जिकिर गरे।

कार्यक्रममा पूर्व मन्त्री तथा पाल्पा क्षेत्र नं. २ का सांसद् सोमप्रसाद पाण्डेयले सिद्धार्थ राजमार्गको शिद्धबाबा क्षेत्रमा देखिएको समस्या दीर्घकालिन रुपमा समाधान गर्न प्रस्ताव राखेका थिए। उनले आफूले भोगेको र देखेको आधारमा वर्तमान सरकारलाई जनप्रतिनिधिको हैसियतमा सडकको समस्या समाधानमा लाग्न केन्द्रीय सरकारलाई सुझाव दिएको उल्लेख गरे।

 प्रस्तावमा  चिडियाखेलाको पुलको उत्तरी सिमादेखि ८६० मीटर लम्बाई चौडा गर्ने, शिद्धबावा मन्दिर देखि तानसेनतर्फ ९० मीटर सुरुङ् मार्ग बनाउने, मन्दिरको उत्तरतर्फको भागको करिब १०० मीटर चट्टान काट्ने र रामापिथेकस देखि दोभान प्रहरी चौकीसम्म १२ सय मीटर चट्टान कटिङ् गरी बाटो चौडा बनाउने योजना रहेको छ।

जिल्ला समन्वय समितिका प्रमूख दयाराज बस्यालले सिद्धार्थ राजमार्गले यसक्षेत्रको आर्थिक एवं सामाजिक जीवनमा असर गरेको भन्दै बाटो तत्काल निर्माण गर्न मन्त्री महासेठलाई ध्यानाकर्षण गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.