'सूचना टाँस्‍न मिल्दैन' भन्दै फर्किए कर्मचारी

|

काठमाडौं : सर्वोच्च अदालतलबाट बुधबार बिहान १० बजे बा १ झ ९१५७ नम्बरको गाडी काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयतर्फ हुइँकियो। गाडीमा तामेलदार शम्भु खत्री सवार थिए।

उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको मुद्दाको तामेल (म्याद) लिएर बानेश्वरको चाँदनीनगरस्थित वडा कार्यालय पुगे। मुद्दाको म्यादको सूचना व्यक्ति भए व्यक्ति, नभए परिवार र परिवार पनि नभए वडा कार्यलयको रोहबरमा निजको घरमा सूचना टाँस्ने नियम हुन्छ। तर लोकमानसिंह कार्कीको घरमा सूचना टाँस्न हिँडेको सर्वोच्चको टोली सूचना टाँस नगरी फर्कियो।

बिहान सवा १० बजे तामेलदार शम्भु खत्री वडा नम्बर १० को कार्यालयमा पुगेका थिए। लोकमानसिंह कार्कीका परिवार घरमा नभएको अग्रिम जानकारी पाएका कारण उनी वडा कार्यालयको प्रतिनिधिको हस्ताक्षर गराएर कार्कीको घरमा सूचना टाँस गर्न वडा कार्यालय पुगेका थिए। तर वडा सचिव सरिता राई कार्यालयमा नभेटिएपछि खत्री २ बजेसम्म कुरेर बसे। '१० बजेदेखि म यहाँ छु, २ बजिसक्यो, अहिलेसम्म सही भएको छैन', वडा कार्यालयमा सचिवलाई कुरिरहेका खत्रीले भने, 'वडा कार्यालयका प्रतिनिधिले सही नगरेसम्म सूचना टाँस्न मिल्दैन।'

वडा कार्यलयमा ढिलाई भएपछि खत्रीले अदालतमा फोन सम्पर्क गरे- 'श्रीमान्, वडा कार्यलयले म्यादको सूचनामा सही गरेको छैन। वडा सचिव हुनुहुन्न। के गरौँ?'

खत्रीलाई आदेश आयो- 'जसरी हुन्छ, काम आजै हुनुपर्छ।'

फोन काटेपछि आफूसँगै रहेका सहकर्मीलाई उनले सुनाए- 'उताबाट आजै गर्नुपर्छ भन्ने आदेश आयो, यहाँ न सचिव न निमित्त।'

त्यसपछि खत्रीले त्यहाँका कर्मचारीसँग परामर्श गरे। आधा घण्टासम्म परामर्श गरेपछि खत्री सूचना टाँस गर्न भन्दै वडा कार्यालयका कर्मचारीलाई लिएर बानेश्वर हाइटमा रहेको लोकमानसिंह कार्कीको निवासतर्फ लागे। सर्वोच्चको टोली त्यहाँ पुगेपछि लोकमानसिंह कार्कीको घरभित्रबाट एक युवक बाहिर निस्किए। उनी थिए दिनेश गुप्ता (तलको फोटोमा कार्ड झुन्ड्याएका)।

लोकमानसिंह कार्कीको घरमा सामसुङको बोर्ड टाँगिएको थियो। गुप्ता त्यसैको कर्मचारी रहेछन्। उनले सर्वोच्चको टोलीलाई ब्रिफिङ गरे- 'यो घर भाडामा लगाइएको छ। उहाँका कोही पनि यहाँ आउनुहुन्न।'

जब घर भाडामा लगाइएको जानकारी तामेलदार शम्भु खत्रीले पाए, उनले सूचना टाँस्न नमिल्ने बताए। 'घर भाडामा लगाइएको रहेछ। भाडामा लगाइएको घरमा सूचना टाँस्न मिल्दैन' खत्रीले भने। उनले मुद्दाको म्यादको सूचना अब अख्तियारमा बुझाउने बताए। 'अब हामी अख्तियारमै गएर सूचना दिन्छौँ,' उनले भने।

सूचना टाँस नगरी करिब ३ बजे सर्वोच्च अदालतको टोली फर्किएपछि भित्तामा टाँस्ने भनिएको सूचनाको फोटो खिच्न व्यग्र प्रतिक्षामा रहेका फोटो पत्रकार र रिपोर्टिङका लागि पुगेका पत्रकार सर्वोच्चको टोली सूचना टाँस नगरी फर्किएको समाचार आआफ्नो सञ्चार गृहमा टिपाएर आफ्नो बाटो लागे।

सर्वोच्चको टोलीले अख्तियारमा सूचना कहिले पुर्‍याउँछ भन्ने केही जानकारी दिएन।

सर्वोच्चको टोली किन पुग्यो लोमानसिंह कार्कीको घरमा?

सर्वोच्च अदालतले लोकमानसिंह कार्की नियुक्तिको फैसला पुनरावलोकन गर्न रिट दायर गर्ने अधिवक्ता ओमप्रकाश अर्याललाई मुद्दाको सूचना दिइसकेको छ। प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय र अख्तियारका प्रमुख आयुक्त लोमानसिंह कार्कीलाई मुद्दाको सूचना दिनुपर्छ। कार्की मुलुक बाहिर रहेकाले अदालतले मुद्दाको सूचना उनको परिवारलाई दिने वा कार्कीको वडामा टाँस्ने निर्णय (तामेल) गर्छ। परिवार समेत बाहिर भएकाले सर्वोच्च अदालतको टोली लोकमानसिंह कार्कीको घरमा मुद्दाको सूचना दिन गएका हुन्।

लोकमानले सूचना पाएपछि के हुन्छ?

मुद्दाको सूचना पुगेको १५ दिनभित्र अदालतमा हाजिर हुने म्याद दिइन्छ। त्यसभित्र पनि नआए थाम्ने म्याद अदालतले दिन्छ अर्थात केही म्याद उपलब्ध गराउँछ। त्यो बीचमा पनि लोकमानसिंह कार्की अदालतमा नआएमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट सरकारी वकिलले र लोकमानसिंह कार्कीका निजी वकिलले मुद्दामा बहस गर्नेछन्। कार्कीको नियुक्ति कानुनसम्मत भए नभएको पक्ष विपक्षमा बहस हुनेछ।

ओमप्रकाश अर्यालको दाबी के थियो? लोमानसिंह कार्कीको मुद्दा कसरी ब्युँतियो? पढनुस् यो स्टोरी:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.