|

जनकपुरधाम : राजतन्त्र, गणतन्त्र, लोकतन्त्र र हाल संघीयतामा देश प्रवेश गरे पनि राज्यको तेस्रो लिंगीहरूप्रति गर्ने व्यवहारमा कुनै परिवर्तन नआएको एक कार्यक्रमका वक्ताहरूले गुनासो गरेका छन्। निलहिरा समाज काठमाडौंले जनकपुरधाममा आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्दामा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले नेपालको संविधानमा आफूहरूको अधिकार सुनिश्चित नभएको र आफूहरूले गुणको आधारमा नागरिकता समेत नपाएको गुनासो गरे।

निलहिरा समाज धनुषाका समलिंगी शत्रुधन यादवले राज्यले आफूहरूको जस्तो लाखौं समलिंगी तथा तेश्रो लिंगीहरूको मौलिक हक तथा अधिकारको बारेमा संविधानमा एक शब्दसमेत उच्चारण नगरेकोमा आपत्ति जनाए। उनले भने, ‘अधिकार तथा सम्मानका लागि न त समाज गम्भीर छ, नत राज्य नै। राज्यले हामीलाई नागरिकता त दिएको छ, तर त्यसमा हाम्रो पहिचान पुरुष खुलाइन्छ तर, हामी न पुरुष हौं न महिला नै।’

निलहिरा समाजका प्रदीप यादवले तेस्रो लिंगीहरूको पहिचान खुलेपछि अझ बाँच्न नै कठिन हुने गरेको बताउँदै उनले भने, ‘म तेश्रो लिंगी भएकै कारण पढाइबाट बञ्चित हुनुपर्‍यो, कलेजमा जाँदा मलाई छक्का, मौगियहवा जस्ता अपमानित शब्दको प्रयोग गर्ने तथा दुर्व्यवहार गर्ने कारणले मैले कालेज छोड्नुपर्‍यो। त्यसैले राज्यले हामीलाई प्रत्येक स्थानमा एउटा समान नागरिक सरह सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ, हामीलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान अवसर प्रदान गर्नुपर्छ।’ 

नर्वेजियन दूतावासको सहयोगमा निलहिरा समाज काठमाडौंले आयोजना गरेको कार्यक्रममा समलिंगी सत्यनाायण साहले राज्यले नागरिकता उपलब्ध गराए पनि आफूहरू कानूनी अधिकारबाट बञ्चित रहेको गुनासो गरे। उनले भने, ‘राज्यले हामीलाई नागरिकता त दियो, तर पहिचानको आधारमा नागरिक दिएन, सेवासुविधा दिएन नागरिकता पाएर पनि वर्षातमा ओढ्ने छाता जस्तो भएको छ।’

उनले आफूहरूसँग नागरिकता भए पनि पैतृक सम्पत्तिमा कुनै प्रकारको हक कानुनी रूपमा नरहेको उल्लेख गर्दै भने, ‘मुलुक संघीय संरचनामा गए पनि केन्द्रदेखि स्थानीय तहसम्मको नीति तथा कार्यक्रममा आफूहरूको अधिकारबारे चर्चा समेत गरिएको छैन, समाजले त हामीमाथि थिचोमिचो गर्‍यो, राज्यले पनि समान व्यवहार प्रकट गर्न सकेन।’

निलहिरा समाजका मिडिया कार्डिनेटर माधव दुलालले धनुषा जिल्लामा झण्डै १२ हजार विडिएस समूहका व्यक्तिहरू रहेको तथा देशैभर झण्डै नौ लाख मानिसहरू रहेको तथ्यांक प्रस्तुत गरेका थिए। दुलालले विडिएस समूहमा भएका मानिसहरू खुलेर आए समाजमा नाकारात्मक दृष्टिकोणले हेर्ने गरेकै कारण उनीहरू खुल्नसमेत नचाहेको आरोप लगाए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.