|

चितवन : पर्याप्त वर्षा नहुँदा चितवन अधिकांश भागमा रोपाइँँ हुन सकेको छैन। सिँचाइ अभावले जिल्लामा अघिल्लो वर्षभन्दा आधा मात्रै रोपाइँँ भएको हो। जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले यो वर्ष मौसम सक्रिय नहुँदा जिल्लामा ११ प्रतिशत मात्रै रोपाइँ जानकारी दिए।

अघिल्लो वर्ष असार १५ सम्म २० प्रतिशत रोपाइँ भएको थियो। कतिपय ठाउँमा किसानहरूले खेत तयार बनाए पनि सिँचाइ अभावमा राेपाइँ हुन सकेको छैन।विगतको वर्ष यो समयमा पर्याप्त वर्षा भएकाले पनि धेरै रोपाइँ भएको थियो। यद्यपि जिल्लाको पूर्वी भेगमा अलि बढी रोपाइँ भएको छ। पूर्वी चितवनको भण्डारा र कुमरोजमा तुलनात्मक रूपमा  बढी रोपाइँ भएको हो।।

पश्चिम र पहाडी भेगमा रोपाइँ हुन सकेको छैन। सो क्षेत्रमा आकाशेपानीको भर पर्नुपर्दा रोपाइँ हुन नसकेको हो। कृषि कार्यालयले दिएको जानकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिकामा रोपाइँ सुरु हुन सकेकै छैन। भरतपुर महानगरपालिकामा तीन प्रतिशत मात्रै रोपाइँ भएको छ। 

सबैभन्दा बढी राप्ती नगरपालिकामा ३० प्रतिशत र खैरहनी नगरपालिकामा २५ प्रतिशत रोपाइँ भएको कृषि कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। रत्ननगर नगरपालिकामा १२, माडीमा १० र कालिका नगरपालिकामा ३ प्रतिशत रोपाइँ भएको छ। ‘अहिलेसम्म राम्ररी पानी परेन र रोपाइँ भएन। असार १५ पछि रोपाइँको क्रम तीव्र हुन्छ’, श्रेष्ठले भने।

भरतपुर महानगरपालिका २० चन्द्रनगरका प्रेम घिमिरे पश्चिम क्षेत्रमा रोपाइँको तर्खर नै गर्न नपाएको बताउँछन्। कतिपय किसानले विगतको अनुभव हेरेर बीउ नै ढिला राखेको उनी बनाउँछन्। पूर्वी चितवन शक्तिखोरका टिकाप्रसाद जमरकट्टेल भने धान रोप्ने तर्खरमा छन्। उनका अनुसार सो क्षेत्रमा पनि फाट्टफुट्ट मात्रै रोपाइँ भएको छ। एक दुई दिनभित्रमा रोपाइँ सुरु हुने उनले बताए। 

जिल्लामा यो वर्ष २८ हजार ६०० हेक्टरमा रोपाइँ हुने अनुमान छ। त्यसमध्ये अहिलेसम्म तीन हजार १६३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ।  'जिल्लामा धानखेती घट्दै गएको छ', कृषि विकास कार्यालयका प्रमुख श्रेष्ठ भन्छन्, 'तीन वर्षअघि चितवनमा २९ हजार ५०० हेक्टरमा रोपाइँ हुन्थ्यो। गत वर्ष २९ हजार हेक्टरमा रोपाइँ भएको थियो।' यहाँ प्रति हेक्टर तीन दशमलव पाँच मेट्रिक टन धान उत्पादन हुन्छ। 

कतिपय धान खेत हुने क्षेत्र घडेरी र प्लटिङमा गएको र कतिपय माछापालनमा समेत गएको कार्यालयले जनाएको छ। जिल्लामा चैते धान ४ हजार ५७५ हेक्टरमा लाग्ने र यसबाट  करिब २० हजार मेट्रिकटन धान उत्पादन हुँदै आएको छ। जिल्लाको पूर्वी क्षेत्रमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत ब्लक छुट्याएर धाउ उत्पादन गरिँदैछ। किसानलाई धानखेतीमा आकर्षण गराई धान उत्पादन बढाउन उक्त कार्यक्रम आएको कृषि कार्यालयले जनाएको छ। 

धेरै धान उतपादन हुने चितवनको कुमरोजमा यसपालिको चैते धान रोगले सखाप पारेपछि यहाँका किसान चिन्तित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.