|

विश्वकप फुटबलको नकआउटचरणको बहुप्रतिक्षित खेलमा आज उपाधि दाबेदार मानिएको फ्रान्स र अर्जेन्टिना प्रतिस्‍पर्धा गर्दै छन्।  पछिल्ला  १५ मध्ये एक खेलमा मात्र पराजित भएको फ्रान्स र निरन्तर जित र हारकाे पर्याय बन्दै गएको अर्जेन्टिना दुवैका लागि जित निर्विकल्प हुनेछ।

फ्रान्सविरुद्ध विश्वकप फुटबलमा अर्जेन्टिना सधैँ हाबी रहँदै आएको छ। विश्वकपमा अर्जेन्टिनाविरुद्ध दुईपटक भिडेको फ्रान्स दुवैपटक पराजित भएको छ। पहिलो विश्वकपका अर्जेन्टिनासँग १९३० मा भिडेको अर्जेन्टिना दोस्रोपटक १९७८ मा विश्वकपमा एक अर्काविरुद्ध प्रतिस्‍पर्धा गरेका थिए ।

फ्रान्स र अर्जेन्टिनाविरुद्धको इतिहास हेर्दा अर्जेन्टिना बलियो छ। यि दुईबीच कुल ११ पटक एक-अर्काविरुद्ध प्रतिस्‍पर्धा भएको छ। जसमा अर्जेन्टिनाले ६ पटक जित्दा फ्रान्सले दुईपटक जितेको छ। तीनपटक यी दुई टिमबीच बराबरी भएको छ। पछिल्लोपटक यी दुईबीच २००९ यता भने भेट भएको छैन।

प्रतिस्‍पर्धालाई आधार मान्ने हो भने दुवै टिमको प्रदर्शन उस्तै छ। संघर्षपूर्ण रूपमा समूहचरणबाट नकआउटमा पुगेको अर्जेन्टिनाले नाइजेरियाविरुद्ध सुधारिएको प्रदर्शन गरेकाले फ्रान्सलाई हराउन सक्ने आत्माविश्वास अर्जेन्टिनामा रहेको छ। फ्रान्सले सहजै समूहचरण पार गरे पनि जितका लागि ठूलो संघर्ष गरेको थियो। फ्रान्सले सुरुवाती खेलमा अस्ट्रेलियाविरुद्ध संघर्षपूर्ण जित निकाले पनि उसले दोस्रो गोल ८० औँ मिनेटमा उपहारका रूपमा पाएको थियो।

पेरुविरुद्ध पनि आफ्नो राम्रो छवि देखाउन फ्रान्स असफल भएको थियो। उसले १-० को जित निकालेको थियो। तेस्रो खेलमा फ्रान्स डेनमार्कसँग प्रतियोगिताकै पहिलो गोलरहित बराबरी खेल्न बाध्य भयो। अर्जेन्टिनालाई हराउने हो भने फ्रान्सले खेलमा सुधार गर्नुपर्नेछ अन्यथा अर्जेन्टिनालाई क्वाटरफाइनल प्रवेशबाट रोक्न मुस्किल पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.