|

जनकपुरधाम : लामो समयदेखि अवैद्य घरेलु मदिरा उत्पादन गर्दै आएका जनकपुर उपमहानगरपालिकाको कुवाँ रामपुरमा छापा हान्ने क्रममा प्रहरी जुन दृष्य देख्यो, त्यसले उनीहरूलार्इ आश्चर्य पार्‍यो। मदिरा राख्ने भाँडामा यूरिया मल मिसाएको पानी, फोहोर तथा दुर्गन्धित भाँडाकुडा, किरैकिरा भएको भाडाँमा मदिराजन्य पदार्थ पाइयो।

त्यसै भाँडाभित्र खतरनाक स्प्रीट, एसिड, तेजाब, गोबर, प्लाष्टिक, जुत्ता र मोजाहरू मिसाएर मदिरा निकाल्दै गरेको दृष्य देखेपछि छापा हान्न गएका जोकोहि पनि अचम्मित नहुने कुरै थिएन्।

जनकपुर उप–महानगरपालिकाको कुवाँ रामपुरबाट केही घरधुरीले वर्षौंदेखि नै अवैध घरेलु मदिरा बनाउँदै आएका छन्। यसैलाई जीविकोपार्जनको मुख्य स्रोत बनाएका उनीहरूले आर्थिक प्रलोभनमा मानव जीवनसँग निकै ठूलो खेलवाड गर्दै मदिरामा मानिसको ज्यानै खतरामा पर्ने गरी विषयुक्त पदार्थहरू मिसावट गर्दै आएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले भने, ‘हामी छापा हान्न आउनु अघि नै उनीहरू भागे, मानिस पहिचान गरी पक्राउ गर्नेतिर हामी लागेका छौँ, तत्काल पक्राउ परे नियमसँग कारवाही गछौँ।’

अबको अभियानमा त्यस्ता भट्टी र पसलमा लोकल मदिरा वा सो बनाउने पदार्थ फेला परेमा सञ्चालकको फाइलसमेत आन्तरिक राजश्व कार्यालयमा पठाउने र सो व्यक्तिको पछिसम्म पनि खोजी गरी कारवाहीको दायरामा ल्याउने नयाँ अभ्यासको थालनी गर्न लागिएको जोशीले बताए।

प्रदेश - २ मा हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष प्रहरी टोलीले हाल जनकपुरधाम उप–महानगरपालिकासहित अन्य क्षेत्रमा छापा हान्न सुरु गरेको भए पनि मदिराको उत्पादनमा कमी आएको छैन्।

पूर्व–पश्चिम राजमार्गको छेउ–छेउमा धारापानी, पुष्पवलपुर, गणेशमान चारनाथ, मिथिला, कलम, सवैला लगायतका नगरपालिकाका केही वडाहरूमा अवैध रूपमा मादिरा उत्पादन गरी जनकपुर बजारमा भित्रिदै आएको छ। उत्पादित अवैध मदिरा सार्वजनिक यातायातका साधनहरूमा लोड भई जनकपुर आउने र जनकपुरबाट क्रमशः भारतीय बजारसम्म जाने गर्दछ।

धनुषा प्रहरीले यसअघि पनि पटक–पटक अवैध मदिरा बनाउनेहरूलाई कारवाही गर्ने, मदिरा नष्ट पार्ने र छापा मार्ने कार्य गरिरहे पनि उनीहरूले उक्त पेशा छाडेका छैनन्। 'आउँछन, छापा हान्छन् २–४ लिटर मदिरा नष्ट गरिदिन्छन्, सिल्टेको भाडा लान्छन्, अरू के नै गर्छन्' एक मदिरा उत्पादक महिलाले भनिन् । आफूहरूलाई जीवननिर्वाहको अन्य विकल्न नदिएसम्म यो पेशा छाड्न गाह्रो हुने उनको भनाई थियो।

यसरी छापा हान्ने क्रममा भेटिएको तयारी अवैध मदिरा र दजर्नौं ड्रम, जर्किन, तसला, बाल्टिन घटनास्थलमै नष्ट गर्ने गरेको छ। घरेलु मदिरा कडा बनाउन उत्पादनकर्ताहरूले त्यस्ता सामान, केमिकल, यूरीया हाल्ने गर्दछन्। गत मंगलबार र बुधबार मात्रै जिल्लाकै कमला नगरपालिका वडा-५ लक्कडस्थित घरेलु मदिरा सेवका कारण ४० वर्षीय रामनाथ पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ३६ वर्षीय मणिक पासवान र वडा नं. ६ सिग्याही मडानका ४५ वर्षीय साबिर अन्सारी, राजविर महतो र गंगा पासमानको मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.