|

हेटौँडा : प्रदेश-३ को बजेटमा रात्रिभोजका लागि १० लाख रुपैयाँ विनियोजन गरेको भन्दै प्रदेशसभा सदस्यले विरोध गरेका छन्। बजेटमा मुख्यमन्त्री कार्यालयको कार्यक्रम खर्चअन्तर्गत ‘प्रदेश सरकारको नीति कार्यक्रम पारितपछि गरिने रात्रिभोज कार्यक्रम’ शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

शनिबार बसेको प्रदेशसभा बैठकमा बोल्दै राप्रपा प्रजातान्त्रिककी प्रदेशसभा सदस्य रीना गुरुङले रात्री भोजका लागि छुट्याइएको खर्च फजुल भएको भन्दै आपत्ति जनाइन्। बजेटले प्रदेश समृद्धिको अवधारणा ओझेलमा पारेको भन्दै सरकार विरोधाभासपूर्ण काम गर्दै हिँडिरहेको बताइन्। उनले जनतासँग सभासद शीर्षकमा छुट्याइएको ३९ लाख रुपैयाँको समेत विरोध गरिन्। संचारक्षेत्र र धार्मिक पर्यटनप्रति प्रदेश सरकार उदासिन देखिएको उनको आरोप थियो ।

बैठकमा बोल्दै नेकपाका प्रदेशसभा सदस्य पशुपति चौलगाईंले बजेटले सहकारी क्षेत्रलाई समेट्न नसकेको बताए। उनले यसअघि नै डिपिआर भइसकेका योजनामा पुनः डिपिआरका लागि बजेट विनियोजन गरिएको भन्दै यसबारे ध्यान दिन सुझाव दिए। कांग्रेस प्रदेशसभा सदस्य गीता वाग्लेले दुई तिहाईको दम्भ बजेटमा देखिएको भन्दै आफूलाई मात्रै हेरेर नभई जनतालाई हेरेर बजेट बनाउन सरकारलाई सुझाव दिइन्। उनले त्रिवेणी–देवघाटधाम धार्मिक पर्यटन, सुकुम्बासी व्यवस्थापन, चितवनलाई मेडिकल शहर बनाउने जस्ता मुद्दा बजेटमा ओझेलमा परेको बताइन्।

विवेकशिल साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले बजेट समृद्धिको गहिराइतर्फ नगएको र कनिका छर्ने काम मात्रै भएको बताए। उनले औसत गैरसरकारी संस्थाले ल्याउने जस्तो गरी बजेट आएको भन्दै सुधारका लागि सुझाव दिए। उनले प्रदेश गौरवका योजना, संसद सचिवालय र विषयगत समितिलाई न्यून बजेट छुट्याएको भन्दै आलोचना गरे।

बैठकमा प्रदेशसभा सदस्यहरु विशाल खड्का, नारायणबहादुर सिल्वाल, भीमसेन खत्रि लगायतले धारणा राखेका थिए। विनियोजन विधेयकमाथिको छलफल आइतबार पनि जारी रहने प्रदेशसभा सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.