|

रौतहट : दुई दिनदेखिको लगातार वर्षाले डुबानमा पर्ने सम्भावना बढेपछि स्थानिय बासिन्दा त्रसित छन्। अविरल वर्षाका कारण बाग्मती र लाल बकैया नदीमा जलस्तरमा वृद्धि भएपछि सम्भावित बाढी र त्यसबाट हुने खतराबाट रौतहटवासी त्रसित भएका हुन्।

जिल्लाको बकैया नदीमा आएको बाढीले बौधिमाई नगरपालिका २ इनरवाको बाँध जोखिम अवस्थामा रहेको छ। बाँधको १५ फीट भन्दा बढी बाँध कटान गरिसकेको र अब एक मिटर मात्र कटान हुन बाँकी रहेपछि सो क्षेत्रका एक दर्जन गाउँका ३०० भन्दा बढी घरधुरी उच्च जोखिमा रहेको बौधीमाइ नगर पालिकाका प्रमुख राजीवनन्दन यादवले जानकारी दिए।

बाँध भत्किने  सम्भावना बढेकोले स्थायिन बासिन्दालाई सुरक्षित स्थानमा लैजान पहल भइरहेको नगर प्रमुख यादवले बताए। जल उत्पन्न प्रकोप डिभिजन कार्यालय परवारीपुर बाराले सो बाँध बाँध्न सम्झौता नगरी काम नगरेपछि स्थानीय बासिन्दा बाढीबाट जोखिममा परेको नगरप्रमुख यादवको भनाइ छ। जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले अन्य नगरपालिकामा काम गरेको भए पनि बकैया नदीको बाँध बाँध्ने काम गरेको छैन।

गत वर्षमा साउन अन्तिममा आएको बाढीले भत्काएको सो बाँध बाँध्न नगरपालिकाले २० लाख रकम छुट्याएर काम गरेको थियो। अहिले सो नगर क्षेत्रको इनरवा, पिपरिया, कोपुवा, वसन्तपटी लगायतका आधा दर्जन भन्दा बढी गाउ डुबानमा पर्ने खतरामा रहेको नगर प्रमुख यादवले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीयलाई सुरक्षित स्थानमा जान अपिल गरेको छ। यसैगरी सदरमुकाम गौरनजिकै रहेको टिकुलियामा पनि बकैया नदीले भत्काएको बाँध पूर्ण रूपमा मर्मत हुन नसक्दा फेरि पनि सो क्षेत्रबाट बाढी पस्ने सम्भाबना बढेको छ।

गत वर्ष आएको बाढीले भत्काएका बाँधहरु स्थानीय तह तथा सम्बन्धित निकायले निर्माण गर्न चासो नदिँदा अहिले फेरी रौतहट डुबानमा पर्ने अबस्था आएको हो।अहिलेसम्म ती बाँधको मर्मत हुन सकेको छैन। गत साउन महिनाको अन्त्यमा यस्तै लगातार वर्षाले गर्दा रौतहटको लालबकैया र बागमतीमा बाँध फुटदा सदरमुकाम गौर लगायत रौतहट नै डुबानमा परेको थियो।  गत वर्षको बाढीमा परी १७ जनाको मृत्यु भएको थियो।

बाढीमा डुबेको कैयौँ गाउँका स्थानीयबासीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो। बाढीले हजारौ घर भत्काएको थियो भने हजारौँ बिगाहामा लगाइएका बाली नष्ट गरेको थियो।  यता जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भत्किएका बाँध तत्काल मर्मत गर्न जल उत्पन्न प्रकोप कार्यालयलाई निर्देशन दिएका छन्।

विपद व्यवस्थापन समितिबाट जोखिममा पर्ने बासिन्दाहरुको उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई तैयारी अवस्थामा राखिएको प्रजिअ रिजालले जानकारी दिए। त्यसतै गौर नगरपालिकाका प्रमुख अजय गुप्तासहितको टोलीले सोमबार बिहान लालबकैयाको निरीक्षण गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.