|

जनकपुरधाम : ठेकेदारको लापरवाहीले समयमै पुल निर्माणको काम सम्पन्न नुहँदा पूर्वी धनुषाको स्थानीयहरू जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। धनुषाको हंसपुर नगरपालिकाको बेल्हीको बलुवा खोलाको  पर्साहीमा पुल निर्माण समयमै पूरा हुन नसक्दा झण्डै पाँच नगरपालिका/गाउँपालिकाका स्थानीयहरू जोखिम मोलेर पुल तर्न बाध्य भएका हुन्।   

हिउँदको समयमा बाँसको पुलले जेनतेन धाने पनि वर्षायाममा स्थानीय बासिन्दाले सास्ती व्यहोर्नु परिरहेको छ। हंसपुर, शहिदनगर, कमलामाई, जनकनन्दनी, सबैला, गणेशमान चारनाथ नगरपालिकासहितका क्षेत्रका स्थानीयहरू बलुवा खोलामा आउने बाढीले वर्षायाममा खोला तर्न बनाइएको पुल बगाउदा आवतजावतमा समस्या भएको शहीद नगरपालिकाका यदुकूहाका राजकुमार साह बताउँछन्। उनले भने, ‘हामीलाई प्राय जसो एक/दुई दिनमै जनकपुर आउनु जानुपर्ने हुन्छ, तर अन्य बाटो भएर जादा घण्टौं लाग्छ, अलि पायक पर्ने बाटो यहि हो, तर यहाँ पनि असार लाग्दै बनाएको पुल बाढीले बगाएपछि अझै कति दिन यसरी नै कति दिन काट्नुपर्ने हो थाहा छैन्।’

पूर्वी धनुषाका जनताहरूलाई प्रदेश-२ को राजधानी यदुकूहा जनकपुरधामसँग जोड्ने मनहरपुर–खरिहानी सकडकको मुख्य भागमा रहेको पुल निर्माणले गति नलिँदा वर्षेनी सो क्षेत्रका स्थानीयहरू सास्ती खेप्न बाध्य भएको छ। धनुषा हंसपुर नगरपालिका बघचौडाका स्थानीय रामदेव कापड भन्छन्, ‘जब वर्खायाम सुरु हुन्छ, बर्खे भेल र पानीको उर्लदो बहावसँगै खोला बढेर वारपार गर्नलाई काठेपुलसमेत बगाइदिन्छ, तब यहाँका मान्छेको चासो हुन्छ, तर पछि सेलाउँदै जाने भएकै कारण पूर्वी भेगकावासीका प्रत्येक दिन सास्ती भोग्नु दैनिकी बनेको छ।’

धनुषा जिल्लाको पूर्वी क्षेत्रमा रहेको हंसपुर नगरपालिका-८ वेल्ही पर्साहीमा काठको पूल गत साता ८ गते आएको बाढीले बगाएको थियो। हाल बलुवा खोलामा खोला वारपारका लागि पुल नहुँदा स्थानीय बासिन्दा, सवारी साधनलाई सय रुपैया तिरेर टियुव तथा काठले बनाएको डुङ्गामा वारपार गराउने गरिए पनि पैदल यात्रीहरू निर्मार्णाधीन पुलमा सिढी लगाएर चढने तथा ओर्लने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

स्थानीयहरूका लागि दैनिक उपभोग्य समान खरिद तथा प्रशासनिक कामकाजका लागि सदरमुकाम जनकपुरधाम आउने भए पनि त्यो डरलाग्दो आँखाको नजर नै घुमाउने बालुवा खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय रामप्रवेश मण्डल बताउँछन्। उनले भने, ‘३/४ वर्षदेखि पुल निर्माण भइरहेको छ, तर निर्माण अझै पूरा हुन सकेको छैन, बर्खाको समयमा समान खरिदलगायत विद्यार्थी र बिरामीहरूलाई ल्याउन लैजानसमेत समस्या भएको छ।’   

बाढीले बालुवा खोलामा भएका काठेपुलसमेत बाढीले बगाउँदा पूर्वी धनुषाका स्थानीय झनै त्रासमा छन्। दिनहुँजसो जोखिम मोलेर खोला वारपार गर्दाको पीडा खपिनसक्नु भएका धनुषावासीका लागि तत्काल पक्की पुल निर्माण हुन नसके पनि खोला वारपार गर्नलाई सामान्य पुलको आवश्यक्ता रहेको स्थानीय रामप्रवेश मण्डल बताउँछन्।

नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत तत्कालिन जिल्ला विकास समितिअन्तर्गत जिल्ला प्राविधिक कार्यालयले ९ डिसेम्बर २०१५ मा रोशन कन्सट्रक्सन प्रा.लि. जनकपुरसँग सम्झौता गरे अनुसार २२ मार्च २०१७ सम्ममा पुल निर्माण भइसक्नु पर्ने हो। तर हालसम्म पनि पुलको निर्माण कार्यले गति लिन सकेको छैन।

राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरणअन्तर्गत बलुवा खोलामा हाल निर्मार्णाधीन पुल निर्माणको लागि कुल लागत दर्इ करोड ४८ लाख  ६९ हजार २५ रुपैयाँमा ४० मिटरको पाइल, फाउण्डेशन, पिलर डेस्क स्लायव, एप्रोच, रोड तर तारजाली गर्ने गरी उक्त कम्पनीले ठेक्का लिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.