|

घरेलु टोली रसिया सनसनीपूर्ण नतिजाका कारण सर्वाधिक चर्चामा छ। क्वार्टरफाइनल प्रवेशका क्रममा उसले स्पेनलाई पराजित गर्दा अब अर्को चमत्कारको अपेक्षामा मैदानमा उत्रनेछ।

समूहचरणमा अर्जेन्टिनालाई पराजित गरेको क्रोएसिया र नकआउट चरणमै स्पेनलाई हराउन सफल रसिया दुवैका लागि क्वार्टरफाइनल यात्रा नै अप्रत्यासित मानिएको छ। बलियो छवि बनाएका देशलाई पाखा लगाएकाले यी दुईको प्रतिस्‍पर्धा प्रतिस्‍पर्धात्मक हुने पक्का छ।

विश्वकप फुटबलमा आयोजकका रूपमा सेमिफाइनलमा स्थान बनाउन रसिया प्रयासरत छ। सेमिफाइनलमा स्थान बनाएमा आयोजकका रूपमा रसिया १४औँ देश बन्नेछ। विश्वकप फुटबलमा पहिलोपटक क्वार्टरफाइनलमा स्थान बनाएको रसियाले अनपेक्षित रूपमै धेरै अघिसम्मको यात्रा तय गरेको हो। धेरैले आयोजकका रूपमा रसियलाई कमजोर प्रतिद्वन्दवी रूपमा हेरेका थिए। आयोजकका रूपमा दक्षिण अफ्रिकाले समूहचरण पार गर्न नसकेको इतिहासलाई बचाउनु नै रसियाका लागि महत्वपूर्ण हुने आँकलन गरे पनि रसियाले निरन्तर अप्रत्यासित नतिजा दिएपछि आलोचकको मुख बन्द भएको छ। त्यसैले अघिल्ला खेलमा रसिया विनादबाब मैदानमा हुनेछ।

क्रोएसिया जारी विश्वकपमा सुरुवातबाटै डार्क हर्सका रूपमा उदाएको छ। समूहचरणमै अर्जेन्टिनामाथि सनसनीपूर्ण रूपमा ३–० को जित निकालेर नकआउटमा पुगेको क्रोएसियाले डेनमार्कलाई नकआउटमा संघर्षपूर्ण खेलमा पाखा लगाएको थियो। त्यसैले अब उसका लागि समूहचरण र नकआउटमा जस्तै योपटक सहज प्रतिद्वन्दीका रूपमा आयोजक रसियालाई हेरिएको छ।

जारी प्रतियोगितामा भाग्यमानी बन्दै आएको क्रोएसियाका लागि रसिया बलियो प्रतिद्वन्द्वी नभए पनि चामत्कारिक नतिजाका कारण रसियासँग क्रोएसिया सशंकित छ। लुका मोड्रिक, इभान राकिटिक मारियो मान्जुकीको स्टार छविका कारण बलियो देखिएको क्रोएसिया घरेलु लिगमै राम्रो समन्वय मिलेको टिमका रूपमा रहेको रसियासँग सचेत रहेको छ।

विश्वकप फुटबलमा एक अर्काविरुद्ध निकै कम समय आमुन्नेसामुन्ने भएका रसिया र क्रोएसिया विश्वकप फुटबल इतिहासमै पहिलोपटक प्रतिस्‍पर्धा गर्दै छन्। तीनपटक एक-अर्काविरुद्ध प्रतिस्‍पर्धा गरे पनि विश्वकपको मञ्चमा भने यी दुई नोलौ प्रतिद्वन्द्वीका रूपमा रहनेछन्। पछिल्लोपटक २०१५ मा मैत्रीपूर्ण खेलमा प्रतिस्‍पर्धा गर्दा ३–१ ले जित निकालेको क्रोएसिया त्यसअघि भएका दुई स्पर्धामा भने बराबरीमा रोकिएको थियो। तर, योपटक दुवैका लागि ठूलो अवसर भएकाले खेल रोमाञ्चक बन्ने‍ पक्का छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.