|

जनकपुरधाम : लगातार परेको पानीका कारण धनुषा र सिरहाको सिमानामा रहेको कमला नदीको त्रासले स्थानीय भयभित भएका छन्। यस क्षेत्रमा रहेको करिब एक दर्जन गाउँ प्रत्येक वर्ष डुबानमा पर्दै आएको छ। त्यसैले पानी पर्दा उनीहरु सधैं त्रासमा बस्ने गरेको छन्।

धनुषा जिल्लाको सदरमुकाम जनकपुरधामदेखि करिब ४० किलोमिटर दूरीमा रहेको अति विकट यस क्षेत्रका बासिन्दा प्रत्येक वर्ष आउने कमला नदीको बाढीले प्रभावित हुँदै आएको छन्। कमला नदीको पूर्वी तटमा अवस्थित सिरहा जिल्लाको बसपिरा, बरेरवा, सिरहा मखनाहा, महसोथा, रमौल, हथमुण्डालगायतका गाउँका सर्वसाधरण लगातार परेको पानीले कमला नदी बाढी आई डुबानमा परिन्छ कि भन्ने त्रासमा रहेको हथमुण्डाका विश्वनाथ महतोले बताए।

धनुषाको बरेरवा, सघारा, भलुवाही, टरिया, लगमा, माँची, लक्कड, मडान, सखुवालगायतका क्षेत्रका सर्वसाधरण पनि बर्सेनि डुबानबाट पीडित हुँदै आएका छन्। त्यसैले वर्षा सुरु भएसँगै उनीहरु त्रसित हुने गरेको कमला नगरपालिका बरेरवाका रामशंकर मण्डल बताउँछन्।

चुरे क्षेत्रमा वनको बढ्दो वन फडानीका कारण चुरे क्षेत्रको माटो बगेर नदी पुरिने र हतमुण्डा गाउँको उत्तर–पश्चिम क्षेत्रमा कटान हुने गरेको शहीद नगरपालिका हतमुण्डाका रामशंकर मण्डलको भनाइ छ। ‘प्रत्येक वर्ष चुरेबाट बगेर आएको माटोले नदी पुरिँदैछ,’ उनले भने, ‘भिषण बाढी आएका बेला सबै पानी गाउँमा पसेर विजोक हुन्छ, घरमा बस्ने ठाउँसम्म हुुदैन।’

निर्वाचनका बेला नेताहरुले प्रलोभन देखाए पनि विजयी भएर गएपछि एक पटक पनि मुख देखाउन नआउने गरेको धनुषा विदेह नगरपालिका–४ सघाराका रजिन्द्र मण्डलले गुनासो गरे। 

कमला नदीमा अन्य तीन वटा खोला मिसिएर आएको पानीको बहावले त्यस वरपरका गाउँ प्रत्येक वर्ष बाढीको चपेटामा पर्दै आएको छ। कमला नदीको चुरे क्षेत्रमा बतहा खोला, घुर्मी खोला, चारनाथ र कमलाको बहाव एकै ठाउँमा मिसिने हुँदा धनुषाका प्रायः प्रत्येक वर्ष बाढीको मार खेप्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.