काठमाडौं : किराँत समुदायमा दशैंको टीका लगाउने कि नलगाउने भन्ने विवाद हुँदा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले भने मान्यजनबाट टीका थाप्न कहिल्यै छाडेनन्। उनी हरेक दशैँमा अनामनगरस्थित फुपूको घरमा टीका थाप्न जान्छन्।
दशैँ बहिष्कारको आन्दोलन चर्किएका बेला २०५८ सालको दशैंमा सुवास नेम्वाङ आफ्नो फूपूको घरबाट टीका लगाएर गेट बाहिर निस्किएका थिए। दशैँ बहिष्कार आन्दोलन चलाउने गोरेबहादुर खपाङ्गीलाई टुपलुक्क भेटे। नेम्वाङको निधारमा टीका देखेपछि खपाङ्गी मुर्मुरिए 'के हो तपाईंको निधारमा पनि टीका?', आक्रोशित मुद्रामा खपाङ्गीले सोधेको प्रश्न नेम्वाङको कानमा अझै पनि गुन्जयमान छ।
खपाङ्गीले त्यति भनेपछि नेम्वाङले जवाफ दिएका थिए 'म त सधैँ टीका लगाउँछु त।' त्यसपछि गोरेबहादुर खपाङ्गी आक्रोशित हुँदै आफ्नो बाटो लागेको नेम्वाङ स्मरण गर्छन्।
किराँत समुदायको जीवनदर्शन र धर्म आचरणको संग्रह मुन्धुममा दशैँको उल्लेख नभएकाले आफ्नो संस्कृति नभएको दाबी गर्छन्। कतिपय व्यक्तिगत स्वतन्त्रता भएको भन्दै दशैँमा टीका ग्रहण गर्छन्। जनजाति समुदायले दशैँ बहिष्कार भनेर अभियान नै सञ्चालन गरे।
किराँत समुदायको संगठन किराँत याक्थुङ चुम्लुङले व्यक्तिगत स्वतन्त्रतालाई प्राथामिकतामा राखेर निर्णय गर्यो। 'विवाद धेरै भयो हामीले व्यक्तिगत स्वतन्त्रतालाई मध्यनजर गर्दै कसैले लगाउन खोज्छ भने दिनुपर्छ भनेर निर्णय गर्यौं' सुवास नेम्वाङ सम्झन्छन्।
दशैँ बहिष्कार अभियान सञ्चालन गर्नेमा गोरेबहादुर खपाङ्गी अग्रणी मोर्चामा थिए। २०५९ साल असोजमा मन्त्री भएपछि राजदरबारमा उनैले राजाको हातबाट टीका ग्रहण गरे। 'सधै रातो टीका बहिष्कार गर्ने मान्छेले राजाको हातबाट मन्त्री भएपछि टीका ग्रहण गर्नुभयो म त छक्क परेँ,' त्यतिबेला राजदरबारमा पुरेत रहेका माधव भट्टराई स्मरण गर्छन्।
खपाङ्गीले टीका ग्रहण गरेको साक्षी भट्टराई मात्र थिएनन्। राजदरबारको टीका समारोह नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो। २०५९ सालमा फूपूको घरमा टीका लगाउन पुगेका सुवास नेम्वाङले खपाङ्गीले स-परिवार राजाको हातबाट टीका ग्रहण गरेको दृश्य देखे। 'दिदीको घरमा टीका लगाउन गएको थिएँ टेलिभिजनमा प्रशारित दृश्यबाट म चकित भएँ,' नेम्वाङ स्मरण गर्छन्।
टीका ग्रहण गरेपछि खानपिन गरेर उनी गेटबाट बाहिर निस्किँदै थिए। संयोग एक वर्ष अघिजस्तै गोरेबहादुर खपाङगीसँग टुपलुक्क भेट भयो। यसपटक परिस्थिति भिन्न थियो। २०५८ सालमा नेम्वाङलाई टीका किन लगाएको भनेर प्रश्न गर्ने खपाङ्गी रातो टीका लगाएर दरबारबाट फर्किएका थिए।
पहिले हप्की खाएका नेम्वाङले त्यसबेला खपाङ्गीलाई भने 'यसपटक त तपाईंले पनि टीका लगाउनुभयो। तपाईंले टीका लगाएको देखेर मलाई पनि साहस आयो बढो साहसपूर्ण ढंगले मैले टीका लगाएँ,' नेम्वाङले खपाङ्गीलाई भनेका थिए।
२०५८ सालमा नेम्वाङको जवाफ सुनेर मुर्मुरिदै बाटो लागेका खपाङ्गी २०५९ सालमा नेम्वाङको व्यङ्ग्यात्मक जवाफ पाएपछि मुस्कुराउँदै बाटो लागेका थिए। नेम्वाङ भन्छन्-'त्यस यताको हरेक वर्षको टीकामा म खपाङ्गीलाई सधैँ स्मरण गर्छु। विचरा उनी बितेर गए अहिले पनि मेरो निधारमा टीका देख्दा उनी मुर्मुरिएको र एक वर्षपछि आफूले टीका ग्रहण गरेर फर्किएपछि मुस्कारएको उनको अनुहार अझै स्मृतिमा आउँछ।'
गोरेबहादुर खपाङ्गीले राजाको हातबाट किन टीका ग्रहण गरे?
गोरेबहादुर खपाङ्गीले दशैँको टीका नलागाउ भनेर जनताजी समुदायमा अभियान चलाएका थिए। आफ्नो अभियानबारे उनी भन्थे 'राजनीतिक भाषामा यसलाई बहिष्कार भन्छन् तर म सामाजिक भाषामा परित्याग भन्न रुचाउँछु।'
यद्यपी २०५९ सालमा मन्त्री भएपछि उनले राजाको हातबाट टीका ग्रहण गरे। दशैँ बहिष्कार अभियान सञ्चालन गर्ने खपाङ्गीलेनै राजाको हातको टीका थापेपछि उनको चर्को विरोध समेत भयो। खपाङ्गीले भने राजालाई खुशी पार्न टीका लगाएको खुलासा गरेका थिए।
'वास्तवमा मैले टीका लगाएकै हो, राजा खुसी हुन्छन् कि भन्ने चाहनाले मैले टोपी माथि सारेर निधार थापेकै हुँ। त्यतिबेला मन्त्रिपरिषद्को काम गर्न राजालाई खुसी पार्नै पर्ने बाध्यता थियो। राजा भनेको ठकुरी, ठकुरी त प्रशंसाको भोको। अब राजाले चाकरी किन नखोजोस्। मैले जनजातिकै काम गराउन राजाको हातको टीका थापेँ,' खपाङ्गीले नयाँ पत्रिकाका उमेश चौहानसँग ४ वर्षअघि गरेको कुराकानीमा भनेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।