|

काठमाडौं : सेमिफाइनलका दुई हरुवा टोली फिफा विश्व कप–२०१८ मा शनिबार तेस्रो स्थानका भिड्दै छन्। सेमिफाइनलमा हारेर तेस्रो स्थानका लागि कुनै पनि टोलीका लागि सानको विषय होइन। तर, इतिहासमा यो स्थानले पनि महत्व राख्छ नै।

बेल्जियम अहिले फुटबलको स्वर्णीम युगमा छ। सेमिफाइनलमा फ्रान्ससँग १–० ले हारेपनि सन् १९८६ पछि सो टोलीले सेमिफाइनलमा स्थान बनाएको यो नै पहिलो पटक थियो। शनिबार इंग्ल्यान्डलाई पराजित गर्न सकेको खण्डमा बेल्जियमले विश्व कपमा हासिल गरेको उच्च स्थान पनि त्यही नै हुनेछ। ३२ वर्षअघि तेस्रो स्थानका लागि भिडन्त हुँदा फ्रान्सले नै बाजी मारेको थियो, यसपालीको सेमिफाइनल झैं।

तेस्रो स्थान हात पारेको खण्डमा इंग्ल्यान्डले पनि विश्व कपमा सन् १९६६ यता हासिल गरेको उच्च स्थान नै हुनेछ। त्यसबेलाको विजेता इंग्ल्यान्डले ५२ वर्षदेखि विश्व कपमा कुनै चमत्कार गर्न सकेको छैन। यसपाली कुनै उच्च मनोकांक्षाबीना रुस पुगेको इंग्ल्यान्डका लागि यो सफलता नै पर्याप्त छ। यसपालीको विश्व कपमा नपत्ताउँदो तरिकाले सेमिफाइनलसम्म पुगेको इंग्ल्यान्डले विश्वभर गुमाएको समर्थकलाई फेरी एकजुट त पार्न सकेको थियो। तर, सेमिफाइनलमा सो टोलीको प्रदर्शनले फेरी एक पटक उसलाई माया गर्नेहरु निरास भए।

फुटबल खेल जन्माएर गौरवशाली इतिहास कोरेको इंग्ल्यान्डलाई लामो गृहयुद्धपछि सन् १९९१ मात्र स्वतन्त्र राष्ट्रको हैसियत पाएको क्रोयसियाले रोमान्चक सेमिफाइनलमा पाखा लगायो। इंग्ल्यान्डले खेलमा सुरुवाती अग्रता हासिल गर्दासमेत पराजयको सामना गर्नु प¥यो। क्रोयसियाको उत्कृष्ट अनि इंग्ल्यान्डको मैदानमा कमजोर प्रस्तुतिका कारण सो खेलमा जुन नतिजा आवश्यक थियो, त्यही नतिजा दिलायो। युद्धलाई नजिकबाट देखेका क्रोयसियाका कप्तान लुका मोड्रिक र उनको टोलीको लडाकु स्वभाव नै सो खेलमा इंग्ल्यान्डको हारको कारण बन्यो। अनि हरेक मिनेटपिच्छे शिथिल बन्दै गएको इंग्ल्यान्डलाई गलाउन क्रोयसियालाई कठिनाइ पनि भएन।

फ्रान्ससँगको सेमिफाइनलमा अन्तिम सिठ्ठी नबज्दासम्म जितको भोक देखाएको बेल्जियमको उपाधि नै चुम्ने सपना त पुरा भएन तर, तेस्रो स्थान हात पारेपनि सो टोली विजेता भावमा मुलुक फर्कने छ। सेमिफाइनलको खेलको आधारमा भन्ने हो यो विश्व कपमा इंग्ल्यान्डले चौथो स्थानमा नै चित्त बुझाउनु पर्नेछ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक विराटकृष्ण श्रेष्ठ समेत यो कुरासँग सहमत छन्। उनको विचारमा अघिल्ला खेलमा लय समातिसकेको इंग्ल्यान्डले सेमिफाइनलको २० पनिपछि लय गुमाउँदा क्रोयसियालाई आपूmमाथि हावी हुन दियो। त्यही शैलीको खेल पस्कने हो भने इंग्ल्यान्डको तेस्रो हुने चाहना समेत पुरा नहुनसक्छ। उता बेल्जियम भने हरेक खेलसँगै लयमा फर्कंदैछ। फ्रान्सको प्रभावशाली डिफेन्सलाई भेद्न नसकेपनि इंग्ल्यान्डको कमजोर डिफेन्सलाई परास्त गर्न बेल्जियमलाई कठिन नहोला। इंग्ल्यान्डले अन्तिम १६ वा अन्तिम ८ मा झैं खेल पस्कने हो भने बेल्जियमलाई केही चुनौती भने हुने छ।

तर, समूह चरणमा इंग्ल्यान्डलाई हराएको आत्मविश्वाससहित मैदानमा ओर्लने बेल्जियमले हरेक मिनेट विपक्षीलाई मनोवैज्ञानिक त्रास भने दिइ नै रहने छ। तर, तेस्रो स्थानका लागि भएपनि शनिबारको खेल निरस भने हुनेछैन। किनकी यस विश्व कपको कुनै क्षणमा ति दुवै टोली उपाधिको दावेदारका रुपमा समेत अगाडि आएका थिए। यद्यपि जितको सम्भावना बेल्जियको पक्षमा बलियो देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.