|

रुकुम : राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-३ झुल्नेटा नजिकै बिग्रिएकाे सडक नबनेर वर्षेनी यात्रुलाई सास्ती भइरहेको छ। याे लोकमार्गमा ओटासिल गरेको भए पनि बिग्रिएको सडक मर्मत नहुँदा हिलाम्य सडकबाटै सवारी साधन वारपार गर्नु परेकाेले यात्रुलाई सास्ती हुने गरेको हाे।

हाल रुकुम आउने सवारी साधनलाई डोजर लगाएर तान्ने गरिएको छ। डोजरले एउटा सवारी साधन तानेको १ हजार रुपैयाँ दिने गरेको छ। डोजर भएको समयमा पैसा तिरेर पनि सवारी साधन समयमै तान्ने नगरिएकाले पनि कहिलेकाहिँ डोजर नभएको बेला भने घण्टाैं त्यस क्षेत्रमै जाममा बस्नु पर्ने बाध्यता पनि रहन्छ। वर्षातका कारण बिग्रिएको सडकका कारण आफू राजधानी काठमाडौंबाट रुकुम मुसिकोटमा ३० घण्टा लगाएर आइपुगेकाे रुकुम मुसिकोटका राजेश केसीले बताए। केसीले भने, 'जब वर्षायाम सुरू हुन्छ। तब सडकको सास्ती पनि सुरू भइहाल्छ।' 

काठमाडौंबाट यात्रा सुरू गरेदेखिको घण्टौंको जाम पार गरेर आएपछि पनि स्थानीय राजमार्गमा हुने बाढी-पहिरोको जोखिमले हरेक वर्ष रुकुमेलीलाई समस्यामा पारिरहन्छ। काठमाडौं, नेपालगन्ज वा अन्य सहरबाट दाङसम्म जसोतसो आइपुगे पनि त्यहाँबाट सुरू हुने राप्ती लोक मार्गको हालत दिनदिनै बिग्रँदै छ। जसका कारण हरेक दिन यात्रुले समस्या बेहोर्नु पर्छ। दाङको अमेलियाबाट रुकुम पश्चिमको सल्लेसम्म जम्मा १४८ किलोमिटर लामो यो लोकमार्ग छिचोल्न सरासर आए त्यही ४ देखि ६ घण्टा समय भए पुग्छ। तर वर्षा यामका चार महिना असार, साउन, भदौं र असोजसम्म यो सडकको हालतले यो सडक भएर यात्रा गर्ने जो कोहीलाई पनि समस्या पारिदिन्छ।

दाङ तुलसीपुरबाट सल्यानको कपुरकोटसम्म दर्जन बढी ठाउँमा पहिरो झरेकोे छ। कहिले पहिरो आएका बेला घण्टौं सडकको आवागमन बन्द हुन्छ त कहिले हिँड्दा-हिँड्दै पहिरो आएर बस नै सडकबाट खसेर दुर्घटना हुन्छ। कापुरकोटदेखि अगाडि पनि सडकको हालत गतिलो छैन सल्यानको लुहामसम्म ठाउँठाउँमा सडक बिग्रिएकै छ। शारदा नदीको तिरैतिर भएकाले सल्यानको श्रीनगरदेखि बागचौर नगरपालिकाको सिमखोलीसम्म त सडक ठिकै छ। 

सिमखोलीदेखि फेरि पहिरोको समस्या झेल्नुपर्छ। सिमखोलीको एक खोलामा माथिबाट आएको खहरे सिधैं सडकमा पर्दा लगभग एक किलोमिटर सडक हिलाम्य भएको यातायात व्यवसायी मनबहादुर खड्काले बताए। यसपछिको अर्को सास्ती हो मुसीकोट नगरपालिकाको पितिबाङ खोला। राप्ती लोकमार्गको अरू खोलामा पुल बनिसकेको भए पनि यस खोलामा भने पुल नबन्दा पानी पर्दा ह्वात्तै बढ्ने खोलाका कारण रुकुम सम्मको आवतजावत नै बेला बेलामा अवरुद्ध हुने गरेको छ। बेलाबेलामा सडक विभागले सडक मर्मत गर्ने गरेको भएपनि त्यो काम त्यति प्रभावकारी हुन सकेको छैन।

 

२०६२ सालदेखि नियमित संञ्चालनमा आएको राप्ती लोकमार्गको दाङ-रुकुम सडकखण्ड २०६८ सालमा ओटासिल गरिएको थियो। सडक साँघुरो हुनु, ओटासिल उप्कनु र केही स्थानमा पुन नहुनु र भएका पुलहरू पनि राम्रा नहुनु जस्ता कारणले यस खण्डमा यात्रा गर्ने यात्रुले हरेक पटक सास्ती बेहोर्नु परिरहेको छ। 

सडक विभागअन्तर्गत रहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख इन्जिनियर आशिष थापा मगरले सडक विभागले सडक मर्मतका लागी कुनै कसर बाँकी नराखेको दावी गर्छन्। ‘हामीले सडक मर्मतका लागी ठाउँ-ठाउँमा कर्माचारी खटाएका छौं। सडक अवरुद्ध हुन दिँदैनौं।’ उनले भने, ‘सडकको स्तर पूर्ण रूपमा सुधार गरेर सडकलाई चौडा बनाउन आवश्यक छ। यसका लागि भने सरकारले आवश्यक पहल गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.