|

काभ्रेपलाञ्चोक : दिउँसोको समयमा काभ्रेपलाञ्चोक जिल्ला हुँदै सिन्धुली प्रवेश गर्ने नाका बिपी राजमार्ग सडकखण्डअन्तर्गत दुम्जाबाट मालबाहक गाडीलाई प्रवेशमा रोक लगाएपछि व्‍यवसायीले सास्ती व्‍यहोर्नुपरेको बताए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरीचौकी दुम्जाबाट साउन १ गतेबाट बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मको लागि कुनै पनि मालबाहक गाडी प्रवेशमा राेक लगाएपछि ती व्‍यवसायीले सडकबीच दिनभरी कुरेर बस्न बाध्य बनाएकाे बताएका हुन्।

काभ्रेपलाञ्चोकको मंगलटार प्रहरी चौकीबाट प्रवेश गरेर सिन्धुलीका लागि गुडेका मालबाहक गाडी सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित प्रहरी चौकीले रोकेर माथि तिर नै फर्काउने गरेको छ। प्रहरी चौकीसम्म निर्वाध रुपमा गुडेको गाडी चौकीले अगाडl जान नदिएपछि पुनःफर्केर गई सुनकोसी गाउँपालिका-१ स्थित आँपघारीमा पुगेर सडक छेउमा लाइन लागेर बस्नु परेको चालकहरूहरू बताए।

बा २ क ४६९३ नम्बरका मालबाहक गाडी चालक रत्नदास श्रेष्ठले भने, ‘तल जाने वेलामा केही भन्दैन। जब चौकी पुग्छ। तब समय नभईन्जेल अगाडि जान पाउँदै भनेर फर्कादिन्छ। अनि फर्केर आई यहाँ बसिरहेको छु।’ ‘बरु हामीलाई माथि मंगलटारबाट नै खुल्ने समय नभईकन तल जान मिल्दैन भनेर रोकेको भए हामीले जाने फर्कने गरेर दुःख पाउँनुपर्दैन थ्यो’ उनले भने, ‘घर पसल कुनै नभएको ठाउँमा गाडी रोकेर राखेर न केही खानेकुरा खाना पाईन्छ, न काममा जान नै ।’

रातमाटेसम्म सामान लगेर जान लागेको उहाँले विहान १० बजे देखि खुल्ने समयसम्म कुरेर बस्नु पर्दा खाना, भोक र तिर्खा सबै सहनु पर्ने दुखेसो पोखे । चौकीदेखि नजिकैको दूरीसम्म सामान लगेर जान समेत प्रहरीले चेकपोस्टबाट जान नदिएपछि आफूहरूले थोरै समयको लागि धेरै समय लगाएर बस्नुपर्ने बाध्यतामा परेको चालकहरूले बताए। ‘चालकहरूले आफ्नाे कामको शिलशिलामा यो ठाउँमा गएर खाना खाने भनेर हिडेको हुन्छ। त्यो ठाउँमा पुग्नको लागि अगाडि बढ्न नै दिदैन, अनि कसरी काम गर्ने ?’ चालकहरू गुनासो गर्छन्।

अर्का टिपर चालक भरत लामाले त्यसरी रोकेर बस्नुपर्दा आफुहरुको कमाई खाने समय धेरै गुमाउनु परेको बताए। ‘नेपालथोकसम्म सामान लिनको लागि जानुपर्ने, यही नजिक आएर पनि घण्टौंसम्म रोकर बसिरहनु परेको छ, कसरी काम गरेर खाने हो?’ लामाले दुःख ब्यक्त गर्दै भने, ‘त्यसरी रोकेर राख्नै पर्ने भए पनि बरु लामो दूरी र छोटो दूरीको अवस्था हेरेर छोडने काम गर्‍यो भने हामी जस्तालाई धेरै राहत हुनेथ्यो।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका असई श्याम माझीले नेपाल सरकारले तोकिएको समयमा मालबाहक गाडी चल्न नदिने निर्णय गरे अनुरुप त्यस्ता गाडीहरू रोक्नु परेको बताए। यस्तो वेलामा निर्माण सामग्री ढुवानी र यन्त्रहरू डोजर लगायतको गाडी भने सम्बन्धित सडक डिभिजन वा यातायात ब्यवस्था विभागको आधिकारिक पत्र भए त्यसको आधारमा मात्रै छोड्ने गरेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर यादवले नेपाल सरकारले गरेको निर्णय अनुसार नै विहान ५ बजेदेखि बेलुका ८ बजेसम्मको लागि मालबाहक गाडीहरू चल्न नदिने भएकाले रोकेको बताए।

‘हामीले सरकारले गरेको निर्णय अनुसार नै सार्वजनिक सवारी साधन चल्ने समयसम्मको लागि कुनै पनि मालबाहक गाडी चल्न नदिने र बेलुका ९ बजेदेखि विहान ५ बजेसम्मको समयमा मात्रै मालबाहक गाडीहरु चल्ने दिने गरेका हौं ।’ उनले भने। नियम अनुसार लामो र छोटो दूरी भनेर नतोकिएको बताउँदै उनले मालबहक गाडीहरू विहान र दिउँसो चल्न नदिएको तर महेन्द्रको पिकअप जस्ता गाडीहरू भने चल्न दिएको बताए।

यता जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले भने दिउँसोको समयमा त्यसरी मालबाहक गाडीहरू सञ्चालनमा रोक नलगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए। ‘हामीले वि.पी राजगमार्गको सन्दर्भमा नेपाल सरकारले गरेको निर्णय अनुसारको १६ टन भन्दा माथिको मालबाहक गाडीहरू र २४ सिटे भन्दा माथिको सवाारी साधनलाई मात्रै रोक्ने गरेको छौं’ खडकाले भने।

यसरी एउटै समयमा एक जिल्लाबाट छोड्ने र अर्को जिल्लाबाट अगाडि बढ्न नदिएपछि मालबाहक गाडीका चालकहरूले हैरानी व्याेहोर्दै आइरहेका छन्। सो राजमार्ग भएर सिन्धुली जिल्लामा निर्माण सामग्री ढुवानी तथा अन्य सामान ढुवानी गर्ने गाडी दैनिक १५० देखि २०० वटासम्मको हाराहारीमा उक्त प्रहरी चौकीबाट फिर्ता गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.