काठमाडौं : डा. ओममूर्ति अनिल अहिलेका व्यस्त मुटुरोग विशेषज्ञमध्ये एक हुन्। डा. अनिल हाल काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्। मुटु रोग पछिल्लो समय बढ्दै छ, जसले गर्दा मुटुसम्बन्धी समस्या लिएर आकस्मिक रूपमा वा समय लिएर अस्पतालमा जाने बिरामीको संख्या बढ्दै छ। यसले गर्दा डा. अनिलको दैनन्दिन धेरै नै व्यस्त हुने गर्छ। मुटु जस्तो संवेदनशील अगंको उपचारका लागि एकछिन ढिला गरेर अस्पताल पुगौँला भनेर हुँदैन।
मुटुरोगका धेरै बिरामीलाई जति चाँडै उपचार गर्यो, उति खतरामुक्त हुने अवस्था हुन्छ। यसले गर्दा अस्पतालमा रहने समयभन्दा बाहिरको समयमा पनि मुटुरोग विशेषज्ञ 'अन कल' बस्नुपर्ने हुन्छ। यस्तो बेलामा अस्पतालमा जुनसुकै बेला जानुपर्ने अवस्था हुन्छ। यस्तो व्यस्त समयमा पनि उनले आफ्नो स्वास्थ्यलाई कसरी ख्याल गर्छन्? थाहाखबरकर्मी सविना खनालसँग आफ्नो फिटनेस फर्मुलाबारे डा. अनिलले यसरी बताए।
'ट्रेडमिलमा दैनिक तीन–चार किमी हिँड्छु'
बेलुकी प्राय: ११ बजे सुतिसक्ने भए पनि म बिहान चाँडै उठ्न सक्दिनँ, जसले म हरेक बिहान ७ बजे उठ्छु। उठिसकेपछी ट्रेडमिलमा दैनिक तीन-चार किमी हिँड्छु। यसपछि आधा कप 'मिल्क टी' खान्छु। म अलिक धार्मिक स्वाभावको पनि छु, जसले गर्दा हरेक दिन म घरकै पूजा कोठामा पूजा गर्छु र ब्रेकफास्ट खान्छु।
ब्रेकफास्टमा म प्राय: सिजनल फलफूल र थोरै दूधमा कर्नफ्लेक्स खान्छु। प्राय: हरेक दिन ९ बजे घरबाट निस्किन्छु। घरबाट म सिधै ग्रान्डी अस्पताल पुग्छु र बिरामीको उपचारमा लाग्छु। अस्पतालबाट म साढे १ बजे निस्किन्छु र घर जान्छु। खाना म सधैँ घरमै खान्छु। सादा खाना नै मलाई मनपर्छ तर थोरै खाना र तरकारी अनि सलाद धेरै खाने गर्छु। खाना खाएर केही समय आराम गरेपछि २ बजे चक्रपथमा रहेको आफ्नै क्लिनिकमा जान्छु र बिरामी हेर्छु।
'प्राय: मासु आफैँले पाकाएर खान्छु'
केही समय अलिक मोटो थिएँ। बीचमा खानेकुरालाई धेरै कन्ट्रोल गरेर अहिले सात किलो घटेको छु। आफैँ मुटुरोग विशेषज्ञ भएकाले पनि मुटुरोगबाट बच्न पनि आफ्नो शरीरको तौल ठीक राख्नुपर्छ। यसले गर्दा सकेसम्म कार्बोहाइड्रेट र माछा मासु एकदम कम खान्छु। सातामा एक पटक माछा मासु खाने बानी छ। खसीको मासु एकदम कम खान्छु। मासु सकेसम्म आफैँले बनाएको खान्छु। अण्डा खाँदा पहेँलो भाग खाँदिनँ।
'दुई महिनामा एक पटक स्वास्थ्य परीक्षण गर्छु'
प्राय: दुई महिनामा एक पटक सुगर, भिटामिन र कोलेस्ट्रोल हेर्ने गर्छु। यसरी परीक्षण गर्दा आएको रिपोर्टले मैले खाने खाना निर्धारण गर्छ। केही समय अगाडि कोलेस्ट्रोल धेरै देखिएको थियो। त्यस समयदेखि खानालाई कन्ट्रोल गरेर अहिले सात किलो घटेको छु। मुटुरोग विशेषज्ञ भएकाले पनि अस्पतालमा आकस्मिक रूपमा मुटुरोग बिरामी आएको फोन आउनेवित्तिकै जुनसुकै समय पनि अस्पताल जानुपर्ने हुन्छ। यसले गर्दा मैले चाहेजति शारीरिक अभ्यास गर्न पाउँदिनँ तर खाने कुरा भने एकदम मिलाएर खाने गर्छु। घरबाहिर केही खाँदिनँ।
'सुत्नुअघि सधैँ एउटा अनार खान्छु'
हरेक दिन म बेलुकी ८ बजे घर पुगिसकेको हुन्छु। प्राय: ९ बजे खाना खान्छु। बेलुकाको खानामा सधैँ चारवटा रोटी, दाल, दही तथा साग हुन्छ। मेरो खानामा सकेसम्म सागसब्जी छुट्दैन। खाना खाएर एकछिन परिवारसँग घरायसी गफ हुन्छ। बेलुकी १० देखि ११ बजेभित्र सुतिसकेको हुन्छु।
सुत्नु अगाडि दैनिक एउटा अनार अनिवार्य खाने गर्छु। प्राय: मेरो खाने कुरामा फलफूल छुट्दैन। दिउँसोको खाजामा पनि धेरैजसो फलफूल तथा गाँजर, काँक्रोको सलाद खान्छु। मैले प्राय: तौल नाप्ने गर्छु। यसले गर्दा मेरो तौलको आधारमा मैले के खाने भन्ने कुराको निर्धारण गर्छ। धूमपान तथा मद्यपान आजसम्म गरेको छैन। घरबहिर पार्टीमा जाँदा पनि प्राय: केही खाँदिनँ। खानै पर्ने अवस्था आए फलफूल खान्छु। घरबाहिरको जंकफुड खाने गरेको छैन।
धेरै व्यस्त हुने गर्छु तर आजभोलि शनिबार घरबाहिर जाने गरेको छैन। अस्पतालमा इमर्जेन्सी गम्भीर खालका बिरामी आएको अवस्थामा फोन आयो भने जुनसुकै बेला जान्छु, नत्र शनिबार घरमै बस्छु। पछिल्लो समय हरेक शनिबार बिहान ९ बजे फेसबुकबाट मुटुरोगबाट बच्ने उपाय तथा अन्य जानाकारी दिने हिसाबले फेसबुकमा लाइभ आउने गरेको छु। म अलिक धार्मिक स्वभावको छु, प्राय: महिनामा एक पटक पशुपतिनाथको दर्शन गर्न जाने गर्छु।
तपाईंको ईमेल गोप्य राखिनेछ ।