|

  • अर्जून आचार्य

विराटनगर : ऐतिहासिक विराटनगर जुट मिल ऋणै ऋणमा डुबेको छ। जुटमिललाई अहिले साँवा, ब्याज र ब्याजको स्याजसमेत गरेर ३ अर्ब २० करोड ऋण पुगेको छ। 
मिलले २०३६ सालदेखि सरकारलाई बुझाउनुपर्ने आयकर, मूल्य अभिवृद्धि कर र बिक्री करसमेत बुझाएको छैन। आन्तरिक राजस्व कार्यालय विराटनगरमा २०३६ सालदेखि २०५७ साल सम्मको आयकर १ करोड ७६ लाख २६ हजार, २०७० साल सम्मको मूल्य अभिवृद्धि कर ८ लाख ८० हजार र आव २०४२ देखि ०५२ सम्मको बिक्री कर २ करोड ४५ लाख ९८ हजार तिर्न बाँकी देखिन्छ। 

मिलले बुझाउनुपर्ने ऋणमध्ये १ अर्ब ८० करोड ब्याज मात्र छ। २०३६ सालदेखि कुनै पनि कर नतिरेको मिलले कर बुझाउन मात्र १६ करोड ५० लाख बाँकी रहेको विराटनगर जुट मिलका निर्देशक राजेन्द्र कार्कीले बताए। 

त्यसैगरी २०५१ सालमा उदयपुर सिमेन्ट उद्योगबाट ४५ लाख ऋण लिएकोमा हाल उक्त उद्योगले ८ करोड ७० लाख माग दाबी गरिरहेको  छ। सरकारबाट १ अर्ब १३ करोड पटकपटक ऋण लिएको छ।

६९ विगाहा जग्गा रहेको जुट मिलले मालपोत मात्रै ७५ लाख बुझाउन बाँकी छ। मिलमा उद्योग मन्त्रालय, उद्योग विभाग र महालेखा नियन्त्रण विभागको ४६ प्रतिशत सेयर छ भने बाँकी १ सय ७२ जना सर्वसाधारण शेयरधनी छन्। 

२०४८ सालमा सेयर सदस्यहरूको साधारणसभाले सञ्चालक समिति गठन गरेको त्यसपछि एकैपटक २०६५ सालमा साधारणसभा भए पनि अध्यक्षलगायत सञ्चालक समिति भने मन्त्रिपरिषदले नियुक्त गर्दै आएको छ। यहाँसम्म कि सञ्चालक समितिको सदस्य पदमा सेयर सदस्यमध्येबाट नियुक्ति पनि सरकारले नै गर्ने गर्छ।

२०३६ सालसम्म नाफामा रहेको मिल त्यसपछि घाटामा चल्दै बन्द भयो। १९९३ मा भारतका उद्योगी राधाकृष्ण चमडियाले यो मिल स्थापना गरेका हुन्। त्यस बेलादेखि नै उनको ३४ प्रतिशत, तत्कालीन श्री ५ को सरकारको १२ प्रतिशत तथा सर्वसाधारणको ५४ प्रतिशत सेयरमा मिल स्थापना भएको हो। भारतीय पक्षले २०५१ सालमा आएर आफ्नो सबै सेयर नेपाल सरकारलाई बेचेको थियो।

बिचौलियाका कारण समस्या 

मिलको ऋण नेपाल बैंकबाट औद्योगिक धितोमा साँवा १ करोड ७५ लाख साधारण ब्याज ६ करोड ८६ लाख ७१ हजार ब्याजको ब्याज १ अर्ब ४६ करोड ७५ लाख ९३ हजार पेनाल ब्याज ७६ लाख ४८ हजार जम्मा ब्याज १ अर्ब ५४ करोड २९ लाख १३ हजार पुगेको छ। 

यसैगरी एनआईडीसी बैंकबाट १० लाख साँवा, पुरानो ब्याज १ करोड ६ लाख पुरानो जरीवाना १३ लाख ७५ हजार ब्याजको ब्याज ११ लाख ४ हजार बिमा ऋण ५१ हजार ७ सय २९, त्यसको ब्याज १ लाख ५६ हजार पेनाल ब्याज २२ लाख ७८ हजार विविध १ लाख ३४ हजार गरी जम्मा १ करोड ६७ लाख ९२ हजार १ सय ६४ रुपैयाँ छ। 

भौतिक सम्पति र जग्गाले धनि जुटमिललाइ व्यवस्थित तरिकाले संचालन गर्ने हो भने आफ्नै भौतिक सम्पतिबाट पनि राम्रो आम्दानी गर्न सकिने निर्देशक कार्की बताउँछन।  उनी बिचौलियाहरुका कारण ऋण बढेको बताउँछन्। ६० वटा सटर भाडामा लगाएको जुटमिलले त्यसको भाडाबापत प्रति सटर ६० रुपैयाँ मात्रै पाउने गरेको छ। कार्कीले भने,‘बिचौलियाहरुले एउटा सटर ८ देखि १० हजार सम्ममा भाडामा लगाएका छन् तर जुटमिललाई  एउटा सटरको भाडा ६० रुपैयाँ मात्रै दिने गरेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.