|

हाम्रो देशको नक्सा जस्तै जिल्लाको रूपमा रहेको बागलुङ जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा रहेको जैमिनी नगरपालिका प्राकृतिक, ऐतिहासिक, धार्मिक, कृषि उत्पादन, पर्यटन र ऊर्जाका लागि सम्भावना बोकेको क्षेत्र हो। जैमिनी नगरपालिका २०७३ फागुन २७ गते घोषणा भएको नगरपालिका हो। ऋषिमुनिले तपस्या गरेको स्थान भएकले यो ठाउँको नाम जैमिनी रहेको बताइन्छ। 

प्रदेश ४ अन्तर्गत बागलुङ जिल्लाका १० स्थानीय तहमध्येको एक जैमिनी नगरपालिका साविकका नौ गाविसहरू कुश्मीसेरा, दमेक, सर्कुवा, बिनामारे, अर्जेवा, जैदी, छिस्ती, पैँयुथन्थाप र राङखानीलाई १० वटा वडाको रूपमा विभाजन गरेर एउटा बनेको छ। जैमिनी नगरपालिकाको पूर्व सिमानामा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा कठेखोला गाउँपालिका र बागलुङ नगरपालिका, दक्षिणमा गुल्मी र पर्वत जिल्ला रहेका छन्। यस नगरपालिकाको कुल क्षेत्रफल ४५.८ वर्ग किलोमिटर छ। २०६८ सालको जनगणनाअनुसार यहाँको कुल जनसंख्या ३१ हजार ४३० छ। 

गत वर्षको स्थानीय तह निर्वाचनमा जैमिनी नगरपालिकाका प्रमुखमा इन्द्रराज पौडेल विजयी भएका छन्। उनै नगर प्रमुख इन्द्रराज पौडेलसँग थाहाखबरकर्मी तारानाथ आचार्यले गरेको कुराकानी प्रस्तुत छ।

निर्वाचनपछिको एक वर्षको अवधिमा केके काम गर्नुभयो?

हामीले जैमिनीको विकासका लागि जुन खालको खाका र योजना बनाएका थियौँ, सोहीअनुरूप काम अगाडि बढेका छन्। सबै काम सोचेकै शैलीमा हुन्छन् भन्ने त छैन तर पूरा काम गर्न पाएको आर्थिक वर्ष २०७४\०७५ मा हामीले पूर्वाधारको विकासमा फड्को मारेका छौँ भन्ने लाग्छ। 

नगरभित्रको एउटा ठूलो वडामा सडक संजालले नै नछोएको अवस्था थियो। अन्य केही वडाका कयौँ बस्तीहरू सडकको पहुँचबाट टाढा थिए। यी सबै ठाउँमा सडकको सञ्जाल विस्तार गरेका छौँ। शिक्षामा नगरभित्रको यथार्थ उतार्ने काम भएको छ। अबका कार्यक्रममा त्यो यथार्थका आधारमा सुधार गर्ने योजना हामीले बनाएका छौँ। स्वास्थ्यको क्षेत्रमा जनचेतनाको कामलाई प्राथमिकतामा राखेर हामीले काम गरेका छौँ। तत्कालै देखिनुपर्ने विकास खोजेका कारण हामी पछि पर्‍यौँ। दीर्घकालीन विकासका योजना बनाउने र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने हाम्रो धारणा हो। 

हेर्नुहोस्, नगरपालिका घोषणा हुने बेलामा हाम्रो नगरको केन्द्र रहेको कुश्मीसेरा बजारमा वर्षातको समयमा खुट्टा टेक्ने ठाउँसमेत हुँदैनथ्यो। हिलाम्मे हुने बजारभित्र वर्षातमा पनि जुत्ता लगाएर हिँड्न मिल्ने बनाएका छौँ। एक वर्षमै सबै काम त कसरी पूरा गर्न सकिन्छ र! तर धेरै कामको सुधारको सुरुवात भएको छ। कृषि, पशु विकास, महिला बालबालिका, अल्पसंख्यकलगायतका विषयगत क्षेत्रमा पनि हामीले काम गरेका छौँ।

पूर्वाधार विकासमै केन्द्रित भएको एक वर्षबाट तपार्इं कतlको सन्तुष्ट हुनुहुन्छ?

हामीले सोच बनाएको शत प्रतिशत काम गर्नका लागि हो। तर सबै खालको वातावरण नमिलेका कारण हामी लक्ष्यमा पुग्न सकेनौँ। नगरपालिकाबाट सञ्चालन भएका काम कारवाहीबाट म ७० प्रतिशत सन्तुष्ट छु। यसको अर्थ हामीले सुरुवात गरेका ७० प्रतिशत काम सफलतामा पुगे भन्ने हो। ३० प्रतिशत काम गर्दागर्दै केही कमी कमजोरी र बाधा व्यवधानका कारण समयमा लक्ष्यमा पुग्न सकिएन। यसलाई आगामी वर्षमा सुधार गरेर लक्ष्यमा पुग्ने योजनामा छौँ। 

लामो समयको शिक्षण पेसाबाट एक्कासि राजनीतिमा आउनुभयो, काम गर्न कत्तिको सहज रहेछ? 

हो, म शिक्षण पेसाबाटै राजनीतिमा होमिएको हुँ। तर पहिले पनि म राजनीतिभन्दा धेरै टाढा भने थिइनँ। विद्यार्थी जीवनमा धेरै पटक म विद्यार्थी संगठनको नेतृत्वमा पुगेको थिएँ। शिक्षण पेसामा रहँदा पनि म शिक्षक संघसंगठनको नेतृत्व गरेको व्यक्ति हुँ। गाउँ तहमा गठन हुने उपभोक्ता समिति, व्यवस्थापन समितिलगायतका सामाजिक समूहमा रहेर धेरै काम गरियो। सामाजिक काम गर्दै आएकाले नै होला, मलाई अहिले नगरको प्रमुख भएर काम गर्न कठिन लागेको छैन। 

काम गर्दै जाँदा समस्या त आउँछन्। कहाँ छैनन् र समस्या? तर ती समस्याहरूलाई आत्मसात गरेर अगाडि बढ्ने र निःस्वार्थ भाावना राखेर काम गर्ने हो भने कठिन छैन भन्ने लाग्छ। 

तपाईंहरूको कामबाट जैमिनीबासी सन्तुष्ट छन् त? 

पर्यटनलाई बेवास्ता गरिएको होइन। धार्मिक, प्राकृतिक र सौन्दर्यका हिसाबले हामीकहाँ भएका सम्भावनाहरूको खोजी, प्रचार प्रसार र विकासलाई महत्त्वका साथ राखेर बजेटको व्यवस्था गरेका छौँ। मात्रै कृषि उत्पादनलाई व्यापक बनाउने र अन्य स्रोतलाई पनि परिचालन गर्दै जाने कुरा हो। 

लामो समय जनप्रतिनिधि नभएको ठाउँमा जनप्रतिनिधि आएकाले जनताका चाहना र अपेक्षा धेरै छन्। उहाँहरूले चाहेकै हिसाबले हामीले काम गर्न सक्ने कुरै भएन किनकि हामी विधि र विधानमा रहेर मात्रै काम गर्छौं। कतिपय विधि र विधानका कारण अल्झिने कुराहरूमा पनि आमसर्वसाधारणको अपेक्षा जोडिएको हुन्छ। त्यसबाहेक नगरको स्रोत र साधनले भ्याएसम्म र नियम कानुनले बन्देज नगरेका सेवामा हामी समर्पित छौँ। त्यति धेरै असन्तुष्टि आएका छैनन्। त्यसैले लाग्छ, हाम्रो कामले उहाँहरू खुसी नै हुनुहुन्छ। 

जैमिनीको आर्थिक विकासका लागि के सोच्नुभएको छ? 

हाम्रो प्रमुख स्रोत भनेको कृषि हो। कृषि पेसामा व्यापक सुधार र जनशक्तिको परिचालनबाट उत्पादन बढाउने योजनामा हामी छौँ। वर्षमा २० लाख रुपैयाँ मूल्य बराबरको उत्पादन गर्ने किसानलाई त्यसको ३० प्रतिशत अनुदान नगरपालिकाले दिने योजनामा छौँ। यसका कारण कृषकहरूको उत्पादनतिर ध्यान जाओस्। जब उत्पादन बढाउनमा किसानको ध्यान जान्छ, हामी कृषिजन्य उत्पादनको निकासी गर्न सक्छौँ भने रोजगारीको सिर्जना पनि उत्पादनले गर्छ। न्यून आय भएका र लगानी गर्न नसक्ने कृषकहरूलाई वार्षिक ३० हजार रुपैयाँ बराबारको उत्पादन गर्दा त्यसको ३० प्रतिशत अनुदान नगरपालिकाले दिने व्यवस्था गरेका छौँ। यो योजनाबाट न्यून आय भएका अथवा उत्पादन गर्ने जमिन नभएकाहरूलाई पनि कृषि उत्पादनमा प्रेरित गर्न सकिन्छ भन्ने हो। मूलतः कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणबाटै नगरको समृद्धिको सपना देखेको छु। 

पर्यटनका हिसाबले जैमिनीमा कैयौँ सम्भावना छन् तर प्राथमिकतामा परेनन् नि?

पर्यटनलाई बेवास्ता गरिएको होइन। धार्मिक, प्राकृतिक र सौन्दर्यका हिसाबले हामीकहाँ भएका सम्भावनाहरूको खोजी, प्रचार प्रसार र विकासलाई महत्त्वका साथ राखेर बजेटको व्यवस्था गरेका छौँ। मात्रै कृषि उत्पादनलाई व्यापक बनाउने र अन्य स्रोतलाई पनि परिचालन गर्दै जाने कुरा हो। 

कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध कस्तो छ?

हामी नै हौँला नमुना, जहाँ कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध सुमधुर छ। सल्लाहमा मात्रै काम हुन्छ। हाम्रा प्रमुख प्रसाशकीय अधिकृत विष्णुप्रसाद सुवेदी नियम र कानुनमा निकै प्रतिबद्ध हुनुहुन्छ। म र उपप्रमुख पनि नियम कानुनको पालक। त्यसैले पनि होला सारा जैमिनीका कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध प्रगाढ बनेको। सबै विधिमा चल्ने हो भने मतभेद र वैमानश्य रहँदैन।

बाँकी रहेको चार वर्षमा नगरलाई कस्तो बनाउने योजनामा हुनुहुन्छ? 

समृद्ध जैमिनी–सुखी जैमिनी हाम्रो मुख्य नारा हो। अबको चार वर्षमा कम्तीमा नगरका सबै वडामा १२ महिना निर्बाध सवारी चल्ने बनाउने योजना छ। नगरस्तरीय सडक गुरु योजना निर्माण हुनेछ।  मनग्य सिकाइसहितका शान्त र सुन्दर विद्यालयहरू बन्नेछन्। 

सुन्दर गाउँटोल अभियान, विकास बचाऔँ अभियानमार्फत् कामहरू हुनेछन्। समृद्ध जैमिनीको लागि आवश्यक पूर्वाधारको जग बसाल्ने योजना छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.