|

भद्रपुर (झापा) : सुन्दा पनि अच्चम लाग्छ! एउटै नगरपालिकाभित्र एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्नुपर्छ? तर यस्तै भइरहेको झापाको मेचीनगर नगरपालिकाभित्र तोकिएको सडक खण्डमा। मेचीनगर नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/०७६ मा पूर्वाधार उपभोग सेवा शुल्क असुल्नका लागि ठेक्का लगाएको छ। 

ठेक्का लागेपछि नगरपालिकाले तोकेको दररेटमा ठेकेदारले सवारी साधनबाट कर रकम असुल्नुपर्ने हुन्छ। तर नगरपालिकाले तोकेको दररेट एउटै भए पनि सवारीधनी फरक-फरक रकममा कर तिर्न बाध्य बनेका छन्। घटना विवरणअनुसार मेचीनगर नगरपालिका- ७ स्थित सौरभ टी स्टेट प्रा.लि.को मे१ख १४३२ नम्बरको मिनी ट्रकले मेचीनगरको दुईवटा सडक खण्डमा छुट्टाछुट्टै कर रकम तिरेको रसिद फेला परेको छ। 

साउन १४ गते आफ्नै बगानको चियापत्ती लोड गरिएको मे१ख १४३२ नम्बर मिनी ट्रकले मेचीनगर इट्टाभट्टास्थित गोकुल मार्गमा ८० रुपैयाँ सवारी कर तिरेको थियो। सोही दिन धुलाबारी चोकदेखि भद्रपुरतर्फको सडक खण्डमा त्यही नम्बरको मिनी ट्रकसँग ५६ रुपैयाँ कर लिइएको थियो। मेचीनगर नगरपालिकाभित्रै पाँचदेखि सात किलोमिटरको दूरीमा एउटै ट्रकले २४ रुपैयाँ अत्तिरिक्त कर रकम तिर्नुपरेको थियो। नगरपालिकाले इट्टाभट्टा सडक खण्डअन्तर्गतको गोकुल मार्गको ठेक्का लिजा स्टोरलाई दिएको छ भने धुलाबारी चोकदेखि भद्रपुरतर्फको ठेक्का दर्पण निर्माण सेवालाई दिएको रसिदअनुसार देखिएको छ। 

सौरभ टी स्टेटका कर्मचारी अभिषेक प्रधानका अनुसार यसभन्दा अघिल्लो वर्ष टी स्टेटको मिनी ट्रकले मेचीनगरभित्र जहाँ कुदाउँदा पनि एउटै दररेट तिर्दै आएका थिए। अहिले नयाँ ठेक्का लागेपछि ठेकेदारले मिनी ट्रकको साटो फुल ट्रक भन्दै २४ रुपैयाँ बढी रकम असुल्न थालेको छ। ‘कम्पनीका चालकले ठेकेदारसँग पटक-पटक यस बारेमा कुरा गर्दासमेत ठेकेदारले खटाएका कर्मचारीले मानेनन्। उल्टै नगरपालिकासँग कुरा गर्नु भन्दै तर्किए’, उनले भने, ‘मिनी ट्रक र ट्रक एउटै हो भनी पहिला ट्राफिकसँग बुझ्ने अनि नगरपालिकामा गुनासो राख्छौँ।'

मेचीनगर नगरपालिकाले पूर्वाधार उपभोग सेवा शुल्कमा लगाएको ठेक्काको दररेट नगरभरि एउटै कायम गरेको मेचीनगर नगरपालिका राजश्व शाखाका कर्मचारी प्रेम पराजुलीले बताए। उनले भने, ‘मिनी बस र मिनी ट्रकको राजश्व एउटै हुनुपर्छ। योभन्दा बढी लिन पाइँदैन।’ 

रसिद छपाइमै त्रुटि

प्रत्येक स्थानीय तहले आन्तरिक शुल्कवापत आआफ्नो कर असुल्ने नीति नियम बनाएको हुन्छ। सोही नीति नियमलाई टेकेर मेचीनगर नगरपालिकाले पनि कर संकलनका लागि दररेट कायम गरी रसिद छाप्छन्। तर नगरपालिकाले पूर्वाधार उपभोग सेवा शुल्कका लागि छापेको रसिद त्रुटिपूर्ण भेटिएको छ। त्रुटिपूर्ण रसिद छपाइका कारण सवारीधनीले तिर्नुपर्नेमा भन्दा बढी कर रकम तिर्न बाध्य बनेका छन्। मेचीनगर नगरपालिकाको पूर्वाधार उपभोग सेवा शुल्कमा सवारी साधनको शीर्षक छुट्याएर दररेट तोकिए पनि मिनी बसबाहेक अन्य मिनी सवारी साधन नै उल्लेख गरिएको छैन। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीले भने, 'मिनी बसलगायतका शीर्षक अलग अलग हुनुपर्छ। यो कसरी भयो? यसबारेमा बुझ्नेछौँ।' त्यस्तै, नगरपालिकाका राजश्व शाखाका कर्मचारी प्रेम पराजुलीले रसिद छपाइमा त्रुटि भएकाले अहिलेको समस्या बल्झिएको हो। ‘रसिदमा प्रत्येक सवारी साधनको शीर्षक छुट्याइएको छैन भने त्रुटि भएका रसिदहरू सच्चाउनेछौँ', उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.