|
तस्विर सौजन्य : कृष्ण पौड्याल/प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : शुक्रबार नियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा अोलीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् भने स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्रीमा बढुवा भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा र अर्याललाई भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्रीको शपथ गराएकी हुन्। 

बंगलादेशमा एमबिबिएस पढ्न गएका महिलाहरूको विषयमा दिएको अभिव्यक्ति विवादमा परेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त रहेको पदमा ढकाललाई नियुक्त गरिएको हो।   

मोरङ ३ बाट निर्वाचित नेकपा सांसद ढकाल विद्यार्थी राजनीतिबाट आएका हुन्। उनी कानुनका विद्यार्थी समेत हुन्।  वि.सं. २०१८ मा तेह्रथुमको ओख्रेमा जन्मिएका ढकाल दोस्रो संविधानसभा निर्वाचन, २०७० मा समानुपातिकतर्फबाट सभासद भएका थिए। संसदमा एमालेका प्रमुख सचेतकसमेत भएका नेता ढकाल एमालेमा पोलिटब्युरो सदस्यसमेत भइसकेका नेता हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्रीमा नियुक्त भएकी मन्त्री अर्याल स्याङ्जा २ बाट निर्वाचित नेकपा सांसद हुन्। ०३७ सालदेखि तत्कालीन नेकपा माले हुँदै एमालेको राजनीतिमा संलग्न भएकी अर्याल तत्कालीन एमालेबाट जिल्ला कमिटी अध्यक्ष हुने पहिलो महिला हुन्। उनले स्याङ्जा एमालेको अध्यक्षमा निर्वाचन जितेकी थिइन्। ०५४ सालको निर्वाचनमा वडा सदस्य जितेकी अर्याल ०६४ सालको संविधानसभामा समानुपातिक सभासद बनेकी थिइन्।

यसैबीच डा. सुरेन्द्र यादवलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको छ। ढकाल र अर्यालसँगै यादवले राज्यमन्त्रीको शपथ ग्रहण गरे। महोत्तरी ४ बाट निर्वाचित सांसद यादव संघीय समाजवादी फोरम नेपालका नेता हुन्। 

मधेस आन्दोलनमा लामो समयसम्म सक्रिय डा. यादव आन्दोलनको क्रममा घाइतेसमेत भएका थिए। आन्दोलनकारीको निःशुल्क उपचार गरेका डा. यादव चुनावभन्दा केही पहिले मात्र नयाँ शक्तिबाट फोरम नेपालमा प्रवेश गरेका थिए। उनको जनकपुरमा जानकी मेडिकल सेन्टर र नर्सिङ होमसमेत छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.