|

भद्रपुर, (झापा) : प्रदेश १ का सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विश्व आदिवासी दिवसको अवसरमा साउन २४ गते प्रदेश १ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश सरकारले पूर्वका १४ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरे पनि पूर्वका विषयगत कार्यालयमा कार्यकरत निजामती कर्मचारीमा अन्यौलता सृजना भएको छ। उनीहरू बिदा मनाउने कि कार्यालयमा जाने भन्नेमा दोधारमा छन्।

प्रदेश सरकारले बिदा दिने निर्णय गरे पनि संघीय सरकारबाट आधिकारीक रूपमा केही जानकारी नआएकोले पूर्वका विषयगत कार्यालयहरू खुल्ला रहने बुझिएको छ। ‘प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ’, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘गृह मन्त्रालयबाट सार्वजनिक बिदासम्बन्धी केही निर्णय नआएकोले जिल्ला प्रशासन कार्यालय झापा खुल्ला रहनेछ।’

उनले भने, ‘गृह मन्त्रालयबाट बिदासम्बन्धी आधिकारीक पत्र नआएसम्म संघीय सरकार मातहात रहेको सम्पूर्ण विषयगत कार्यालयहरू झापामा खुल्ला रहनेछन्।’ विशेषगरी प्रशासन, अदालत, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, शिक्षा, भूमिसुधारलगायतका कार्यालयहरु खुल्ला रहने बुझिएको छ।

यता जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार प्रदेश १ सरकारले विश्व आदिवासी दिवसको अवसरमा प्रदेश १ का सम्पूर्ण स्थानीय तह बन्द हुनेछ। उनले भने, ‘संघीय सरकारअन्तर्गत रहेका कार्यालय खुल्ला हुने कि बन्द यस विषयमा प्रशासन कार्यालय झापालाई थाहा हुन्छ।’

त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख योगेन्द्रप्रसाद बरालका अनुसार संघीय सरकारले बिदा नदिएकोले शिक्षा विकास तथा समन्वय इकाई खुल्ला रहेनछ, भने विद्यालय स्थानीय सरकारको मातहात रहेको स्थानीय तहले नै बिदा दिन सक्छ। भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले विश्व आदिवासी दिवसको अवसरमा भद्रपुर नगरपालिका कार्यालयसहित झापाका सम्पूर्ण स्थानीय तह बन्द हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.