|

गोरखा : उनी केही वर्षदेखि गोरखा नगरपालिका- ८ को सरस्वती माध्यमिक विद्यालय आहालेका प्रधानाध्यापक ('हेड सर') हुन्। उनी अर्थात् पुरुषोत्तम भट्टराई जहिलेदेखि 'हेड सर' भए, त्यसबेलादेखि नै त्यो विद्यालय जिल्लाको सामुदायिक विद्यालयमा सधैँ उत्कृष्ट भइरहेको छ। जिल्लाका अन्य सामुदायिक विद्यालयहरू राजनीतिबाट अछुतो हुन नसकी विद्यार्थीकै भविष्य डामाडोल भइरहेका बेला सरस्वती माविको वातावरण भने अर्कै छ। 

उनै 'हेड सर'ले स्थानीय राजनीतिक दलका नेताहरूलाई छुट्टै सम्झौता गराएका छन्। उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने बेला राजनीतिक दलहरूले विद्यालयमा गर्ने राजनीतिको मुहान नै बन्द गरिदिने गरेका छन्। ‘विद्यालयको गेटबाहिर के हुन्छ थाहा हुँदैन’, उनले भने, ‘हाम्रो विद्यालयको गेटभित्र प्रवेश गरेपछि उहाँहरूले राजनीतिको खोल खोल्नै पर्छ। नत्र यहाँ स्वीकार्य हुँदैन।’

२०२९ वैशाख १६ मा गोरखा सदरमुकामकै तीनधारेमा बुबा जीवनाथ र आमा सावित्री भट्टराईको कोखबाट जन्मिएका उनले २०५० सालबाट शिक्षण पेसा सुरु गरे। २०५० देखि गोरखा सदरमुकामकै महेन्द्र मावि कुन्दुरमा २०५७ सम्म अध्यापन गरेका उनलाई सरस्वती माविका तत्कालीन 'हेड सर' चूडामणि कट्टेलले आहालेमा ल्याएका थिए। २०५७ देखि २०६८ सम्म उनी त्यहीँ गणित शिक्षकको रूपमा कार्यरत रहे। त्यसैबेला सशस्त्र द्वन्द्वको चपेटामा परेको गोरखामा संचालित सबै बोर्डिङ स्कुलहरू तत्कालीन माओवादीले बन्द गरायाे। विद्यालयको नतिजा औसतमा ठिकठिकै रहेको सरस्वती माविमा उनकै पहलमा कक्षा १ देखि सबै कक्षामा अंग्रेजी माध्यममा पठनपाठन सुरु भयो।

उनलाई विश्वास छ र भन्छन्, ‘विद्यालय उत्कृष्ट छ भन्ने भएको छ। हामी जिल्लामा 'टप' भनिने कुनै बोर्डिङ स्कुल भन्दा कम पनि त छैनौँ।’

२०६९ असोज महिनामा सरस्वती माविको 'हेड सर'को जिम्मेवारी पनि उनकै काँधमा आयो। उनले थुप्रै चुनौतीको चाङ रहेका बेला विद्यालयको नेतृत्व सम्हाले। ‘राजनीतिले नछोएको ठाउँ कहाँ थियो होला र? त्यो पनि गोरखामा’, उनले त्यो बेला सम्झँदै भने, ‘यी र यस्तै चुनौतीका पहाडलाई छिचोल्ने उद्देश्यका साथ मेरो कर्म सुरु गरेँ।’ उनलाई विश्वास छ र भन्छन्, ‘विद्यालय उत्कृष्ट छ भन्ने भएको छ। हामी जिल्लामा टप भनिने कुनै बोर्डिङ स्कुल भन्दा कम पनि त छैनौँ।’

उनले विद्यालयमा यस्तो थिति बनाएका छन् कि उक्त विद्यालयका विद्यार्थी बाहिर बजारमा रहेका ट्युसन सेन्टरहरूमा पढ्न जान पाउँदैनन्। ‘विद्यार्थीलाई पढ्ने वातावरण विद्यालयमै बनाउन सकिन्छ नि!’, उनले भने, ‘हामीले बिहान बेलुकाको समय विद्यार्थीलाई विद्यालयमै पढ्ने वातावरण बनाएका छौँ। अतिरिक्त कक्षा संचालन बाहिरका ट्युसन सेन्टरभन्दा थोरै पैसा लिएर हामीले गर्दा हाम्रा विद्यार्थी र शिक्षकको सिकाइको गुणस्तर बढ्ने भयो। यसकै परिणाम हामीले वर्षाैंदेखि उत्कृष्ट नतिजा पाइरहेका छौँ।’ उनले शिक्षकले घरमै ट्युसन पढाउन नपाउने, परीक्षा कडा बनाउने, हरेक माविका शिक्षकले ८ कक्षामा पढाउनै पर्नेलगायतका विभिन्न सूची तयार पारे। उक्त सूचीअनुसारको अभ्यासले अहिले विद्यालयको नतिजा जिल्लाको सामुदायिक विद्यालयमा एक नम्बरमै छ। 

उनले अभिभावकलाई पनि खुबै दु:ख गरेर मनाए। ‘पहिले अभिभावकले पनि खासै कुरा बुझ्नुभएन’, ती दिन सम्झँदै भट्टराईले भने, ‘अहिले त अभिभावक नै यसो गर्नुपर्‍यो, उसो गर्नुपर्‍यो भनेर सुझाव दिनुहुन्छ।’ अहिले विद्यालय उत्कृष्ट हुनुका पछाडि छवटा पक्षलाई उनले जस दिएका छन्। पहिलो नम्बरमा उनले टिम वर्कलाई महत्त्वपूर्ण पक्ष मानेका छन् भने त्यसपछि अभिभावकको सहयोग, विद्यार्थीको लगनशीलता, विद्यालयको वातावरण र भौतिक संरचना, संघसंस्थाको सहयोग तथा अक्षयकोषलाई कारक मानेका छन्।

उनले हरेक शिक्षकलाई शैक्षिक सत्रको सुरुमा तालिम दिने व्यवस्थासमेत मिलाएका छन्। ‘सबै विषयका शिक्षकहरूलाई विषय विज्ञ बोलाएर हाउ टु टिच म्याथ, इंग्लिस भनेर दीक्षित गर्छौं', उनले भने, 'त्यस्तै, हरेक वर्ष उत्कृष्ट शिक्षकलाई हामी पुरस्कृत गर्छौं।’ कक्षा शिक्षकलाई प्रोत्साहन भत्ताको समेत उनले व्यवस्था गराएका छन्। विद्यालयमा हुने अतिरिक्त कक्षामा नियमित कक्षामा भएको पढाइको परीक्षा लिएर विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने थिति उनैले बसालेका हुन्। कक्षा ८, ९, १०, ११ र १२ मा मल्टिमिडियाको सपोर्टमा पठनपाठन सुरु भएको छ अहिले। 

टोल भेला 

उनै 'हेड सर'ले आफ्नो विद्यालयमा पढ्न आउने विद्यार्थीको टोल भेलासमेत गर्ने गरेका छन्। हरेक तीन/तीन महिनामा विद्यार्थीको टोलमा गएर अभिभावक भेला गरी विद्यार्थीको रिपोर्ट शिक्षकले सुन्ने र अभिभावकको गुनासो, सुझाव सुन्ने परम्परा 'हेड सर' भट्टराईले विकास गरेका छन्। उनले भने, ‘यसले शिक्षकको, अभिभावकको, र विद्यार्थीको कमजोरी पत्ता लगाउन मद्दत गरिरहेको छ।’ 

हरेक टोलका विद्यार्थीमाथि निगरानी बढाउन अभिभावकहरूकै सहयोगमा टोल संयोजकसमेत तोकिएको छ। त्यसबाहेक पनि 'हेड सर' र अन्य शिक्षकहरू घरदैलो कार्यक्रम लिएर विद्यार्थीकै घरमा छड्केसमेत जाने गरेका छन्। 

शनिबार परीक्षा

हरेक दिन बिहान ६ बजेदेखि विद्यालयमा हाजिर हुने सरस्वती मावि आहालेका शिक्षक र विद्यार्थीले शनिबार पनि छुट्टी पाउँदैनन्। शनिबार विद्यालयले कक्षा ५, ८, ९ र १० को परीक्षा लिने गरेको छ। परीक्षा लिएवापत वर्षको ४० रुपैयाँ फि विद्यार्थीले विद्यालयलाई तिर्नुपर्छ। 

विद्यालय सञ्चालनका लागि भट्टराईले अभिभावकहरूसँग चन्दा संकलन गर्ने गरेका छन्। सोही रकमबाट शिक्षकको खटाइको आधारमा थप रकम उपलब्ध गराउने गरिएको उनी बताउँछन्। ‘कामको भारका आधारमा शिक्षकहरूलाई तलबबाहेक २५ सय रुपैयाँ थप दिने गरेका छौँ’, उनले भने। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.