|

जनकपुरधाम : धनुषाको नगराइन नगरपालिकाको नाम परिवर्तन गर्ने विषयमा भएको विवादमा लगाइएको ताला अझै पनि खुल्न सकेको छैन। धनुषाको दक्षिणी सिमावर्ती भारतसँग सीमा जोडिएको नगराइन नगरपालिकाको नाम परिवर्तन गरी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका बुवा स्व. महेन्द्र नारायण निधिको नाममा नामाकरणमा गर्ने विषयमा भएको विवादमा लगाइएको तालाबन्दी अझ यथावतै रहेको छ।

श्रावण १० गते नगराइन नगरपालिकाका चार वडा अध्यक्ष सहित २० जना सदस्यहरूले नामाकरणमा विरोध जनाउदै मूल गेटमा गरेको तालाबन्दी अझै खुल्न नसकेको हो। नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष अमिरी लाल राउत, वडा ५ का वडा अध्यक्ष संजयकुमार राउत, वडा ६ का प्रमोद साह र वडा ७ का वडा अध्यक्ष रामदुलार मुखियाले नपाको नाममा असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका थिए।  

वडा अध्यक्ष संजयकुमार राउतका अनुसार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिका बुवा स्व. महेन्द्र नारायण निधिको नाममा धैरै शालिका तथा संघ संस्थाहरू स्थापना भैसकेको र त्यसको उचित संरक्षण सम्बद्र्धनको अभावमा समाप्त हुन लागेको बेलामा फेरी पनि एउटै व्यक्तिको नाममा स्कुल, कलेज, भवन तथा नगरपालिकाको नाम राख्न नहुने भन्दै तालाबन्दी गरिएको जनाए। उनले शहीद दुर्गानन्द झाको नाममा नगरपालिकाको नामाकरणमा हुनुपर्ने अडान छ। 
उनले भने, ‘जनकपुरमा महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन, काठमाडाैंमा अस्पतालको स्थापना गरिएको साथै नेता निधिकै हजुरबुवाको नाममा नगराइनमै राजेश्वर नारायण निधि उच्च माध्यमिक विद्यालयको स्थापना समेत भइसकेकोले अब शहीद दुर्गानन्द झाको नाममा नगरपालिकाको स्थापना हुनुपर्छ।

अन्यथा अहिले नगरराइन नगरपालिका छ। त्यही नाम राख्दा नी हुन्छ अन्यथा, निधिकै मान्छेको नाम आफूहरूलाई मान्य छैन।’ वडा अध्यक्षहरूले नगरपालिकाका प्रमुख परमेश्वर साहले गलत मनसायले एकलौटी रुपमा नाम परिवर्तन गर्दै जहानिया शासन लाद्न खोजेको आफुहरूले त्यसलाई तोड्न शहीद दुर्गानन्द झाको नाममा नगरपालिकाको नामाकरणमा जोड दिए। 

यसैगरी अर्का वडा अध्यक्ष रामदुलार मुखियाले यहाँको प्रत्येक चिजमा नेता निधिकै बुवा र हजुर बुवाको नाम हुन्छ भन्ने अन्य शहीदहरूको अवमूल्यन हुने भएकोले निधिका बुवा महेन्द्र नारायण निधिको नाममा नगरपालिकाको नामाकरणमा अमान्य रहेको बताए। उनले भने, ‘यहाँको जति पनि सरकारी संघ संस्था छन्। त्यी विमलेन्द्र निधिकै बुवा र हजुर बुवाको नाममा हुनुपर्छ?

हामीले शहीद दुर्गानन्द झा, डा. लक्ष्मीनारायण झा, संस्कृति र भुगोलसँग जोडिएका नामहरू जमुनिया, सीता लगायतका नाममा पनि नामाकरण गर्न हामीले प्रस्ताव गरेका छौं, तर जे कुरामा पनि राजनीतिको आडमा उत्पात मच्चाउन पाईन्छ कि क्या हो ?’ नगराइन नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुख विजयी भएका छन्। नाैवटा वडामध्ये ५ वटा वडामा कांग्रेस र ४ वटा वडामा तत्कालीन नेकपा (नेकपा एमाले) ले विजयी भएको छ।  

प्रमुख प्रशासकीय अधिकृत सरुवा

नगरपालिकाको नाम परिवर्तनको विषयमा भएको विवादमा प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोको नाम जोडिएपछि उनको सरुवा गरिएको छ। असन्तुष्ट वडा अध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत महतोले नै विना जानकारी नगरपालिकाको नाम परिर्वतन माइन्यूटमा हस्ताक्षर गराउन खोजेको आरोप लगाएका थिए। अधिकृत महतोलाई सर्लाहीको बलरा नगरपालिकामा सरुवा गरिएको श्रातले जनाएको छ। 

ताला खुलाउने विषयमा पहल भएन

नगरपालिकाको कार्यालयमा साउन १० गते लगाइएको ताला खुलाउन सकैले पहल नलिदा सेवाग्राही मर्कामा परेका छन्। एक महिनादेखि नगरपालिकामा तालाबन्दी भए पनि तालाबन्दी खुलाउन तथा कार्यालय सञ्चालन गर्न नगरप्रमुख परमेश्वर यादव उदासीन भएका छन्। कार्यालयमा लगाइएको ताला दलबलसहित प्रहरीको सहायतामा खोलाउने प्रयास गरे पनि प्रमुख यादवले असन्तुष्ट पक्षसँग वार्ता वा छलफल गरेको देखिदैन। 

को हुन दुर्गानन्द झा? जसको नामाकरणको लागि हुँदैछ माग  

दुर्गानन्द झा नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा शहीद हुन्। २०१७ पुष १ गतेको कदम पछि पञ्चायती व्यवस्थाविरूद्ध उत्रेका उनले २०१८ माघ ९ गते जनकपुरमा राजा महेन्द्र चढेको गाडीमा बम प्रहार गरेका थिए। सोही अभियोगमा पक्राऊ परेका उनलाई पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो। दुर्गानन्द झाको जन्म १९९९ साल वैशाख १४ गते धनुषाको दक्षिणी गाउँ जटियामा आमा सुकुमारी देवी झाको गर्भबाट भएको थियो। बाबु देवनारायण झा उनी सानो छँदै बितेका थिए। दुर्गानन्द सानैदेखि राम्रो फूटबल खेलाडी थिए र राम्रो गीत पनि गाउँथे।

नेपालको जटही गाउँमा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाइ त्यहाँ नहुने भएकोले उनी माध्यमिक तहको अध्ययनको लागि भारतको उमागाउँको एउटा विद्यालयमा भर्ना भए। १८ वर्षीय दुर्गानन्दले जानकी मन्दिरनजिक सेना र गुप्तचरका आँखा छल्दै ग्रिनेड प्रहार गरेका थिए। प्रहारबाट राजा महेन्द्र चढेको ल्याण्डक्लुजर गाडीको पछाडिपट्टि सामान्य क्षति भए पनि राजालाई केही भएन। त्यसपछि दुर्गानन्द झा भागेर भारतमा रहेको सशस्त्र क्याम्पमा पुगे। यता दुर्गानन्दका परिवार, आफन्त, इष्टमित्र, छरछिमेक, कांग्रेस नेता लगायत ५६ जनालाई पक्राउ गरी ठूलो यातना दिइयो। दुर्गानन्द आफन्त, इष्टमित्रले पाएको यातनाबाट दुःखी भएर तत्कालीन सरकारलाई चिट्ठी लेख्दै गिरफ्तारी दिए।

गिरफ्तार गरी जलेश्वर जेलमा एक रात राखेपछि परकौली सैनिक क्याम्पबाट उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याई सुन्धारास्थित भद्रगोल जेलमा राखियो।
केसको छानविनका लागि एक विशेष अदालतको गठन गरिएको थियो। २०१९ भदौ १९ मा उनलाई कुनै सुनुवाईको मौका नै नदिई मृत्युदण्डको सजाय तोकिएको थियो। उनलाई २१ वर्षको उमेरमा २०२० साल माघ १५ गते मध्यराति केन्द्रीय कारागारमा पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो। मृत्युदण्डको अघिल्लो दिन २०२० साल माघ १४ गते उनले आमा र श्रीमतीलाई केहीबेर भेटेर सान्त्वना दिए। 

दुर्गानन्दलाई विभिन्न शारीरिक र मानसिक यातना दिएर माफी मागी बिन्तीपत्र लेख्न भन्दा पनि उनले मानेनन्। फलत उनलाई मृत्युदण्ड दिइयो। आमा लगायत परिवारले माग्दा पनि पञ्चायत सरकारले उनको शव दिएन। कुशको शव बनाएर भारतको गयामा उनको दाह संस्कार भयो। दुर्गानन्दकी आमाको २०६० भदौ ३१ गते निधन भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.