|

बझाङ : कालोपत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण नगर्दै बझाङस्थित जयपृथ्वी राजमार्गको अधिकांश ठाउँमा पिच उप्किएर खाल्टाखुल्टी परेको छ। बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र १०८ किलोमिटर लम्बाइ रहेको जयपृथ्वी राजमार्गको बागथला चैनपुरखण्डको पिच उप्किएर दर्जनाैं स्थानमा खाल्डाखुल्डी परेका छन्। कतिपय स्थानमा सडकमै पानी जमेर तलाउ भएको छ। 

बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने पक्की सडक बिग्रिएपछि सवारी आवागमनमा असर परेको छ। सडकको अधिकांश ठाउँको पिच काम नलाग्ने गरी उप्किएको छ। सडकमा खाल्टा परेकाले सवारीसाधन चालउन कठिन भएको जिप चालक सन्तोस धामीले बताएँ। ‘बाटो राम्रो नभएका कारण ठाउँठाउँमै गाडी बिग्रने हुन्छ।’ उनले भने, ‘यस मार्गमा चल्ने नयाँ गाडीहरु पनि छिटो छिटो बिग्रन्छन्। खाल्डाखुल्टीका कारण गाडीको पट्टा भाँचिने, पानी पसेर हर्नले काम नगर्ने र इन्जिनले चाँडै काम गर्न छोड्ने हुन्छ।’

सडकमा परेका खाल्टाका कारण सवारीसाधनको गति अनियन्त्रित भई पल्टिनुका साथै एकापसमा ठोक्किने गरेको सवारी चालकहरुको गुनासो छ। बाटो राम्रो भएका बेला एक घण्टामै पुगिने ठाउँमा सडक बिग्रिएपछि दुई घण्टा लाग्ने गरेको उनीहरुको भनाइ छ।

पिच भएको पाँच वर्ष नपुग्दै राजमार्ग कच्ची सडकजस्तै भैसकेको छ। ओटाशिल प्रविधिमा कालोपत्रे गरिएको सडक गुणस्तरहीन भएका कारण छिटो बिग्रिएको स्थानीयको आरोप छ। स्थानीय धर्म महर भन्छन्, ‘पिच गरेर नसक्दै धेरै ठाउँमा उप्किन थालिसेको थियो।’ सडकको गुणस्तर राम्रो बनाउनुभन्दा पनि छिटो काम सकेर मुनाफा र कमिसन कुम्ल्याउनमा ठेकेदार र आयोजना कार्यालय लागेका कारण सडकको हालत यस्तो भएको स्थानीयको आरोप छ। 

विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोड रुपैयाँ लागतमा कालोपत्रे गरिएको यस सडकको बागथलादेखि झोतासम्म लुम्बिनी र लोहनी निमार्ण सेवा, झोतादेखि तमैलसम्म कालिका र याक्थुहाङ निर्माण कम्पनी र तमैलदेखि भोपुरसम्म लामा र गोल्डेन गुड निर्माण कम्पनीले कामको जिम्मा लिएका हुन्। सडकको समानान्तर निर्माण भएका सिँचाइ कुलोहरुबाट चुहिएको पानी तथा विभिन्न शाखा सडक निर्माण गर्दा खसेको ढुङ्गा र माटोले पिच बिग्रेको र नियमित मर्मत सम्भारका लागि कर्मचारीहरुको व्यवस्था नभएका कारण सडक बिग्रिएको डिभिजन सडक कार्यालय बझाङले जनाएको छ।

जयपृथ्वी सडक मार्ग योजनाको कार्यालयले सडक हस्तान्तरण गर्ने अन्तिम तयारी भइरहेको र डिभिजन सडक कार्यालयलाई हस्तान्तण भइसकेपछि सडक मर्मत सम्भारको काम अगाडि बढाउने जानकारी दिएको छ। सडक बिग्रिएको तीन वर्ष भइसक्दा पनि सम्बन्धित निकायले भने कुनै पनि सुनुवाई गरेको छै्रन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.