|

बझाङ: जिल्लाको छबिसपाथिभरा गाउँपालिका -१ ब्याँसीमा रहेकोे ऐतिहासिक कोट दरबार यतिखेर संरक्षणको पर्खाइमा रहेको छ। जिल्लाकै पुरानो र ऐतिहासिक उक्त कोट दरवारको कुनै पनि निकायबाट उचित संरक्षण र संवर्द्धन हुन नसकेपछि दिन प्रतिदिन जीर्ण बन्दै गएको हो।

करिव १०० वर्ष पहिले बझांगी राजा शक्ति सिंहले उक्त कोट दरबार निर्माण गरी बझाङ राज्य संचालन गरेको अभिलेखमा उल्लेख गरेको पाइन्छ। विश्व मानवतावादी राजा जय पृथ्वीबहादुर सिंहले समेत कोट दरबारबाट बझाङ राज्य संचालन पछि उनी भारत प्रस्थान गरेको जनाइन्छ। ऐतिहासिक कोट दरबारमा १९७० देखि १९९० सम्म राजा देवीजङबहादुर सिंहले बझाङ राज्यको राजधानी स्थापना गरी शासन गरेको अभिलेख पाइन्छ।

१९९५ मा राजा देवीजङबहादुर सिंहको मृत्युपछि १९९६ मा उनका जेठा छोरा रामजङ सिंहले सोही दरबारमा मालपोत, कारागार, अदालत स्थापना गरी राज्य संचालन गरेको ब्यासी गाउँका अग्रज प्रेमबहादुर सिंहले बताए। बझांगी राजा रामजङकोे राज्य कालमा जनताले कर तिर्ने, राशन घिउ, खसी, बोका समेत कोट दरबारमा पुरउने गरेको समेत उनले जानकारी दिए। २

००५ सालमा राजा रामजङ सिंहको अकस्मात मृत्युपछि २००६ सालमा उनका जेठा छोरा ओम्जङ सिंहले बझाङ राज्य संचालन गरेका थिए। राजा ओम्जङले कोट दरबारबाट बझाङ राज्य संचालन गरिरहेका बेला तत्कालीन नेपालका राजा श्री ५ महेन्द्र शाहले बझाङ राज्यलाई २००७ सालमा एकीकरण गरेका थिए। 

इँटाद्वारा निर्माण गरिएको कोट दरबार २०२३ सालमा आएको शक्तिशाली भुकम्पका कारण भत्किएपछि जीर्ण बन्दै गएको स्थानीय इन्द्र सिंहले बताए। दशवर्षे सशस्त्र द्वन्द्व कालमा तत्कालीन विद्रोही पक्षले समेत कोट दरबारमा आगजनी गरेको समेत उनले जानकारी दिए। ऐतिहासिक कोट दरबार झयाल ढोका भत्किएकाे अवस्थामा छन् भने घेरबारको अभावमा दरवार क्षेत्र गाइवस्तुको चरीचरन गर्ने ठाउँमा परिणत भएको छ।

दरबारको चारैतिर भगवती, ब्रजेश्वर, महादेव, मष्टा, कालाढुंगाे लगायतका विभिन्न देवी देवताका मन्दिरहरू रहेकाछन् भने ढुंगाका खम्बामा विभिन्न शिलालेख तथा अभिलेखहरू कोरिएका छन्। कोट दरबारमा प्रत्येक वर्ष चैते दशै,गौरा पर्व र कार्तिक दशैमा राँगाहरूको बली दिने र पूजाआजा गर्ने प्रचलन रहेको छ। बझाङ राज्य एकीकरण गर्न तत्कालीन श्री ५ सरकारले डोटीका न्यायाधीश उत्तमकुमारलाई बझाङ खटाइएपछि सहन गर्न नसकी राजा ओम्जन सिंहले कोट दरवारमा छुट्टै अदालत खडा गरी न्यायाधीश उत्तम कुमारलाई धपाइएको अभिलेख छ।

कोट दरबारबाट बझाङ राज्य संचालन गर्दै आएका राजा ओम्जङ सिंहले बझाङ राज्य नेपालमा गाभ्न नमानेपछि २००७ सालमा बझाङ राज्यमा क्रान्ति सुरु भएको थियो। सोही क्रान्तिको समयमा श्री ५ राजा महेन्द्र शाहको आदेशमा खटेका सेनाले राजा ओम्जङ सिंहलाई लखेड्दै दार्चुलाको मारमा भन्ने ठाउँमा गोली हानी हत्या गरेका थिए। बझाङी राजा ओमजङ सिंहको २००७ सालमा हत्यापछि तत्कालीन नेपालका राजा श्री ५ महेन्द्र शाहको आदेशबाट खटिएका वडा हाकिम शुवर्ण शमशेरले कोट दरबारमा रहेको श्रीपेच, हिरा, सुनचाँदी लगायतका सवै सम्पति खोसेर लगेको बताइन्छ। 

जीर्ण कोट दरवारको यति खेर ब्यासी गाउँका स्थानीय ईश्वरबहादुर सिंह संरक्षण गर्दै आएका छन्। उनी दरवारभित्र रहेका मन्दिरमा दिनहुँ पूजा गर्दै आएका छन्। दरवार संरक्षक सिंहलाई पूर्व राजपरिवारले मासिक दुईहजार ५०० तलव भत्ता उपलब्ध गर्दै आएका छन्। सुदूर पश्चिमकै ऐतिहासिक कोट दरबार हेर्न आउनेहरू हाल एक घण्टा ओह्रालो झरेर पानीको जोहो गर्ने गर्दछन् भने दरबार वरिपरि रहेका रुखहरू काटिएका छन्।

राज्य पक्षबाट कोट दरबारको सही संरक्षण हुनसके सुदूरपश्चिमकै नमुना पर्यटकीय क्षेत्र बन्न सक्ने ठूलो सम्भावना देखिन्छ। दरबार संरक्षण हुनुपर्ने र उक्त कोट दरबार नेपालको सम्पदा सूचीमा दर्ता गरिनुपर्ने स्थानीयले माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.