|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा 'फुड पोइजन' भएर बिरामी हुनेको संख्या ३७९ जना पुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार अहिले अस्पतालमा नै भर्ना भएर उपचार भइरहेको संख्या १३५ जना रहेको छ। बाँकी उपचार गरी घर फर्किसकेको खड्काले जानकारी दिए।

बिरामीमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालका डाक्टर अनमोल श्रेष्ठले बताए।

बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत ५६ जनामध्ये दुईजना आइसियूमा उपचार भइरहेको अस्पतालकी डाक्टर एञ्जला बस्नेतले बताइन्। उपचारमा संलग्न डाक्टरहरूका अनुसार झाडा पखाला, पेट दुख्ने, रिंगटा लाग्ने र बान्ता गर्ने जस्ता समस्या देखिएका छन्। पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वाबम्वन बहुउद्देश्यीय सहकारी संस्था लि.ले शनिबार आयोजना गरिएको तीज विशेष दर खाने कार्यक्रममा दर खाने क्रममा सो घटना भएको हो।

विरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्लिनिक र केहीलाई काठमाडौंमा उपचारको लागि लगेको प्रहरीले जनाएको छ।

बनेपा हस्पिटलमा उपचार भइरहेका तीन जनाको पनि अवस्था सामान्य रहेको जनाएको छ। बिरामी विविशण मैनालेले उपचार भइरहेको भएपनि बिलको पैसा छिटो तिर्न भनिरहेकोले समस्या भइरहेको बताए।

बिरामीका कुरुवा विकास मैनालीले भने ‘बिरामी भर्ना भएर उपचार भइरहेको छ तर हामीसँग तत्कालको लागि तिर्न पैसा छैन। कसले कसरी तिर्ने भन्नेमा प्रस्ट नभएको कारण उहाँहरूको पैसा तिर्ने काम भएको छैन।’ उपचार निरन्तर भइरहेको भए पनि बिल नतिरिकन रिपोर्ट नदिने भनिरहेको उनले बताए।

बिरामी भएकोहरूको संख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रियाहरू थालनी गरेसँगै स्वास्थ्य विभागलगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए। 'स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको टोली तथा प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य अधिकृत नेतृत्वको टोलीले घटनास्थलमा पुगेर बिरामीहरूले खाएका खाना तथा पानीको नमूना संकलन गरी प्रयोगशालामा लगेको छ।’ राउतले भने, ‘अहिले अस्पतालमा उपचाररत बिरामीहरुको अवस्था सामान्य रहेको छ।’

कार्यक्रममा प्रमुख अतिथि भूर्तेल अस्पतालको बेडमा

पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वाबम्वन बहुउद्देश्यीय सहकारी संस्था लि.ले शनिबार आयोजना गरिएको तीज विशेष दर खाने कार्यक्रममा प्रमुख अतिथि भएर पुगेकी प्रदेश ३ की सांसद गोमा भूर्तेल बिरामी भएर अस्पतलाको बेडमा उपचार गराइरहेकी छन्।

उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। ‘कार्यक्रम सकिनुभन्दा अगाडि नै खाना खाएकोले पनि होला, कार्यक्रम चलिरहेकै बेला गाह्रो हुने र असजिलो महशुस भइरहेको थियो, केही अतिथि त त्यहीबाट जाँदा पनि हिड्न नसकेर गाडीमा जानुभएको थियो’ उनले भनिन्, ‘मलाई चाहिँ रातिबाट गाह्रो भएर आयो, बिहान त हस्पतालमा नै भर्ना हुन आउनुपर्‍यो।’

उनका अनुसार पिउने पानी पहिला जारमा ल्याएको र पछि त्यही जारमा त्यहाँको इनारमा भएको पानी भरेर राखेकाले त्यही पिएको कारण बिरामी भएको हुने आशंका गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.