|

काभ्रेपलाञ्चोक : प्रदेश ३ का सांसद गोमा भूर्तेल दुई दिनदेखि बनेपास्थित शिर मेमोरिय अस्पतालको बेडमा उपचार गराइरहेकी छन्।

गत शुक्रवार पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वाबम्वन बहुउद्देश्यीय सहकारी संस्था लि.ले आयोजना गरिएको तीज विशेष दर खाने क्रममा प्रमुख अतिथि भएर पुगेकी उनी कार्यक्रमबाट फर्केको भोलिपल्ट शनिबारदेखि उपचार गराइरहेकी हुन्।

‘दिसा, पिसाब र रगतको रिपोर्ट आयो, डाक्टरले अझै खराबी देखेको छ भन्नुभएको छ’ उनले भनिन्, ‘टाउको, पेट दुख्ने, पखाला लाग्ने, बान्ता हुने र ज्वरो आउने समस्या उथावत नै रहेको छ।’ सो कार्यक्रममा उपस्थित रहेका अतिथिहरूदेखि कार्यक्रममा भेला भएर दर खाएका सबैजसो गाउँले बिरामी परे उपचारको क्रममा रहेको छन्।

अर्का बिरामी पाँचखाल नगरपालिका–१२ का गोविन्द सेढाई र निसा लामाले पनि उपचारमा सुधार आएको जस्तो भए पनि ज्वरो, पेट दुख्ने र रिंगटा लाग्ने बेला बेलामा भइरहेको बताए। डाक्टरले ७२ घण्टापछि मात्रै विस्तारै ठीक हुने बताए पनि आफूहरूको समस्या उस्तै रहेको उनीहरूको भनाइ छ।

सोही अस्पतालमा उपचारत भगवती परियार दुई जना छोरीहरूको कुरुवा बसिरहेका छन्। चार जनाको परिवार रहेको उनको दुई छोरी दर खाएर बिरामी भएर उपचार गर्नुपरेपछि परियारको श्रीमान् दुई दिनपछि वस्तुभाउ हेर्न घर पुगेको उनले बताइन्।

उपचारमा संलग्न शिर मेमोरियल अस्पतालका डाक्टर अरुण गुप्ताले क्रमिक रूपमा केही सुधार हुँदै जानकारी दिँदै सोमबार मात्रै डिस्चार्ज गर्न सकिने बताए। ‘सुधार त देखिरहेको छ, सबैजसो विरामीहरूमा ज्वरो, पखाला, पेट दुख्ने र बान्ता हुने भइरहेको छ, बिरामीमध्ये अझै ५० प्रतिशतको ज्वरो नियन्त्रण हुन सकेको छैन’ डाक्टर गुप्ताले भने।

सो कार्यक्रममा संलग्न भएर दर खानेहरूमध्ये विरामी भएर उपचार गर्नेको संख्या ५३६ जना पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए। उनका अनुसार अहिले अस्पतालमा नै भर्ना भएर उपचार भइरहेको संख्या १५४ जना रहेको र बाँकी उपचारपश्चात् घर फर्किसकेका छन्। छजना अझै आईसियूमा राखेर उपचार गरिरहेको उनले बताए।

प्रमुख जिल्ला अधिकारी राउतले घटना भएलगत्तै शनिबार नै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका डाक्टर समिर अधिकारीको नेतृत्वको टोली, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको शिव भण्डारी एवं प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य अधिकृत र सुरक्षा निकायको टोली घटनास्थलमा पुगेर बिरामीले खाएका खाना तथा प्रयोग गरिएको कुवा र ईनारको पानीको नमूना संकलन गरी प्रयोगशालामा लगेको र त्यसको रिपोर्ट आउन दुई दिन लाग्ने भएकाले केबाट त्यसरी भाइरल फैलियो भन्ने सम्बन्धमा अझै थाहा हुन नसकेको बताए।

सो क्रममा ल्याएको पनिर र हरियो मटर र चनाको नमूना संकलन गरी प्रयोगशाला लगिसकेको उनले बताए। रिपोर्टका आधारमा कुन वस्तु खाएर बिरामी भएको हो, त्यसको आधारमा छानबिन गरी कारबाहीको प्रकृया अगाडि बढाउने उनको भनाइ छ।

उनका अनुसार उपचारको हिसाबले भइरहेको खर्च नगरपालिका र आयोजक संस्था मिलेर गर्ने भन्ने कुरा भइरहेको छ। उक्त कार्यक्रममा ५९० जना उपस्थित रहेको थियो।

सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.