|

नवलपरासी : नेपालकै पहिलो बालमैत्री नगरपालिका पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा रहेको देवकोटा माध्यामिक विद्यालयमा शिक्षकले विद्यार्थीलाई हातपात र दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक निलम्बनमा परेका छन्। विद्यालयका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले केही दिनअगाडि कक्षा १० का विद्यार्थी प्रदीप कोंहार, धिरज पाण्डे, अर्जुन गुप्तालाई हातपात र दुर्व्यवहार गरेको आरोप विद्यार्थीले लगाएका छन्।

शिक्षकबाट हातपात र दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएपछि विद्यालय व्‍यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि  निलम्बन गरेको व्‍यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले बताएका छन्। विद्यार्थीहरूले प्रधानाध्यापक र दुर्वयवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै सुनवल नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइ पश्चिम नवलपरासीको कार्यालयमा निवेदन दर्ता गराएका छन्।

गत भदौ ३ गते सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री तहको रूपमा घोषणा भएको महिना दिन नपुग्दै विद्यालयभित्रै बालबालिकामाथि दुर्व्यवहार र हातपात भएको भन्दै सरकोकारवाला निकायले आफ्नो ध्यान आकर्षण गराएका छन्। गत मंगलबार कक्षा १० को नेपाली विषयअन्तर्गत हाम्रो संस्कृति शीर्षकको पाठ अध्यापन गराउने क्रममा फरक समुदाय र सम्प्रदायको उदाहरण दिने क्रममा मधेश क्षेत्रको संस्कृतिबारे बताउने क्रममा ठेस पुग्ने शब्द प्रयोग गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए।

शिक्षकले मधेशलाई आँच पुग्ने शब्दको प्रयोग गर्दा तत्काल विरोध जनाएपछि तिवारीले आफूमाथि दुर्व्यवहार गर्दै हातपात गरेको पीडित विद्यार्थीले बताएका छन्। प्रधानाध्यापक पाण्डेले विद्यार्थीहरूलाई सम्झाउने क्रममा दुखद घटना घटेको स्वीकार गरेका छन्।

विद्यार्थीले दोषी भनिएका शिक्षकमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरिदिएका हुन्। विद्याथीहरू आन्दोलित भएपछि विद्यालय व्‍यवस्थापन समितिले बालमैत्री नगरपालिकाभित्र रहेको एक प्रतिष्ठित शैक्षिक संस्थाभित्र बालबालिकामाथि भएको दुर्व्यवहार र हातपातको घटनाले नकारात्मक सन्देश जाने भन्दै आरोपित प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.