जमिन र केन्द्र सार्ने विषयमै कुरा मिलेन, असन्तुष्ट जनप्रतिनिधिद्वारा गाउँसभा बहिष्कार

|

भद्रपुर, (झापा) : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहुमतको आधारमा बनाएको स्थानीय सरकार र दक्षिणी झापाको कचनकवल गाउँपालिकाका असन्तुष्ट पक्षबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। असन्तुष्ट पक्षका जनप्रतिनिधि, नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसद्वारा गठित संघर्ष समिति र गाउँपालिका अध्यक्ष अञ्जार आलमबीच भएको वार्तामा कुनै सहमति हुन नसकेको हो।

गाउँपालिका अध्यक्ष आलमले केन्द्र परिवर्तन गर्ने विषयमा आफ्नो अडान कायम राखेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको संघर्ष समितिका संयोजक भूमिप्रसाद राजवंशीले जानकारी दिए। दोस्रो पटक गरिएको वार्ता पनि बिनानिष्कर्ष टुंगिएपछि गाउँपालिकामा साम्य भएको विवाद फेरि बल्झिएको छ। शनिबार र आइतबार संघर्ष समितिले गाउँपालिकाविरुद्ध आन्दोलित बन्दै प्रदर्शनमा उत्रिएपछि गाउँपालिकाले वार्ताका लागि आह्वान गरेका थिए। पहिलो पटकको वार्तामा सकारात्मक छलफल भए पनि दोस्रो पटकको वार्तामा गाउँपालिका अध्यक्ष आलमले संघर्ष समितिले उठाएको माग सम्बोधन गर्न नमानेपछि वार्ता स्थगित गरिएको संयोजक राजवंशीले बताए।

आइतबार बसेको वार्तामा केन्द्र परिवर्तनको विषयमा विकल्प आएपछि हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थियौँ’, उनले भने, ‘तर, त्यस्तो भएन, अध्यक्षले केन्द्र परिवर्तन गरेर छाड्छौँ भनि आफ्नो अडान कायम राखे।’ गाउँपालिकासँग वार्ता नभएपछि यता संघर्ष समितिले गाउँपालिकाका अध्यक्षको रबैयाप्रति खेद् प्रस्ताव प्रकट गर्दै बैठक गरेको छ। अब दोस्रो चरणको आन्दोलनको कार्यक्रमका लागि रणीनित बनाएर अघि बढने संघर्ष समितिका सदस्य रत्नबहादुर बुढाथोकीले बताए। 'अब दोस्रो चरणको आन्दोलनको कार्यक्रम चाडै सार्वजनिक गर्दै छौँ' उनले भने, ‘अब लडाइँ गाउँपालिकासँग कानुनी रूपमा हुन्छ।’

गाउँपालिकाको भवन निर्माण र कार्यकर्तामुखी बजेट, नीति तथा कार्यक्रम पारित गर्नका लागि गाउँपालिकाले शनिबार दोस्रो गाउँसभाको आयोजना गरेका थिए। अध्यक्ष आलमले जनताको चाहनाविपरीत नीति तथा कार्यक्रम पास गराउन खोजेपछि असन्तुष्ट पक्षले गाउँपालिका विरुद्ध दुई प्रर्दशन गर्दै तालाबन्दी गरेका थिए। यतिसम्म कि गाउँसभामै जनप्रतिनितिहरूबीच हातपात हुँदा कचनकवल ७ महिला सदस्य लक्ष्मी इदिङ्गो घाइतेसमेत भएका थिइन्।

१४ जना जनप्रतिनिधिद्वारा गाउँसभा बहिष्कार

संघर्ष समितिको सहमतिबिना गाउँपालिकाले एकलौटी ढंगले दोस्रो गाउँसभा सञ्चालन गर्न खोजेपछि असन्तुष्ट पक्षका १४ जना जनप्रतिनिधिद्वारा मंगलबार गाउँसभा बहिस्कार गरेको छन्। कचनकचव गाउँपालिकाको भवनमा आयोजना गरेको गाउँसभाले गाउँपालिकाको केन्द्र, बजेट, नीति तथा कार्यक्रम पारित गर्न लागेका हुन्।

सो विषयमा चित्त नबुझेपछि हामीले गाउँसभा बहिस्कार गरेको कचनकवल गाउँपालिका ६ का वडा अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए। ‘हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज पर्वलाई लक्षित गर्दै गाउँसभा स्थगनका लागि १४ जना जनप्रतिनिधिले हस्ताक्षरसहितको निवेदन दिएका थियौँ’, उनले भने, ‘गाउँपालिकाले सो निवेदन दर्ता गर्न नमानेपछि हामीले गाउँसभा बहिष्कार गरी बाहिरिएका हौँ।’

नेकपा र नेपाली कांग्रेसबाट निर्वाचित भएका वडा नम्बर ६ का वडा अध्यक्ष कार्की, वडा नम्बर ७ का वडा अध्यक्ष भरत राजवंशी, वडा नम्बर ४ का वडा अध्यक्ष प्रमानन्द राजवंशी, वडा नम्बर २ का वडा अध्यक्ष मेखबहादुर भट्टराईसहित वडा सदस्यहरू निर्मला पाण्डे, मनमाया भट्टराई, प्रतिमा बोगटी, मन्नतकोमा मियाँ, आयुव मियाँ, उमाशंकर गणेश, रञ्जित लिम्बु, चन्द्रशंकर अधिकारी, धनबहादुर गुरुङ र सुनिता नेपालीले सभा बहिष्कार गरेका हुन्।

यता गाउँपालिका अध्यक्ष आलमको पक्षमा उपाध्यक्ष निमसरी राजवंशी लगायतले २४ जना जनप्रतिनिधि समर्थनमा छन्। उनीहरू राप्रपाबाट विजयी भएका थिए।

जमिनकै लागि लफडा

कचनकवल ७ स्थित बनियानी बजारमा रहेको कचनकवल गाउँपालिकालाई सो स्थानदेखि डेढ किलोमिटर दक्षिण सार्ने र बजेट तथा कार्य योजना कार्यकर्त मुखी भएको भन्दै असन्तुष्ट पक्ष गाउँपालिकाका अध्यक्ष अञ्जार आलम विरुद्ध खनिएका हुन्। बनियानी बजार आसपास जमिन खोज्नुपर्नेमा गाउँपालिकाका अध्यक्ष आलमले आफ्नो नीजि स्वार्थका लागि आफ्नै नातागोताले दान गरेको जमिनमा गाउँपालिका भवन बनाउने एकलौटी निर्णय गर्न खोजेको आन्दोलन पक्षधरको आरोप छ।

गाउँपालिकालाई भद्रपुरका व्यापारी नितेश अग्रवालले करिव १५ कठ्ठा जमिन दान गरेका हुन्। दान गरिएको जमिन गाउँपालिकाको नाममा नामसारी भइरसकेको बुझिएको छ। २०७४ सालमा स्थानीय स्वायत्त शासन निमावली अनुसार ६ महिनाभित्र गाउँपालिका सार्ने भनी निर्णय गरिएको थियो।

तर, गाउँपालिकाले सो अवधिभित्र कुनै निर्णय गर्न नसकेको र अहिले आएर जनतालाई पायक पर्ने स्थान छाडेर खोला छेऊ र वरिपरी इट्टा उद्योग भएको स्थानमा जमिन लिएकोले हामी आन्दोलित बनेको नेपाली कांग्रेसका गाउँ सभापति तुलाराम अधिकारीले बताए। सुरक्षाको दृष्टिकोणले पनि असुरक्षित रहेको स्थानमा आफ्नै नातागोता भएको ठाउँमा गाउँपालिका अध्यक्ष आलमले नीजि स्वार्थका लागि जमिन लिएको उनले आरोप लगाए।

‘पाँच सय मिटर नजिकै ज्योति इँटा उद्योग सञ्चालन भइरहेको छ’, उनले भने, ‘वातावरण प्रदुषण हुने स्थानमा जमिन लिनु जनताको चाहनाविपरीत हो।’ नजिकै रहेको बडझोडा खोलाले बर्षोनी गाउँपालिकाले लिएको जमिन डुबानमा पर्ने जानकार हुदाँहुदै सम्बन्धित वडा अध्यक्ष, राजनीतिक दल र जनताको सहमतिबिना एकलौटी ढंगले जमिन लिएकोले आन्दोलित बनेको स्थानीय नारायण नेपालले बताए।

यता गाउँपालिका अध्यक्ष आलमका अनुसार पहिलो गाउँसभाको निर्णयबमोजिम सूचना टाँस गरी कानुनी प्रक्रिया पूरा गरी जमिन लिएको बताए। उनले भने, ‘सबैलाई पायक हुने स्थान र एउटै मात्र निवेदन परेकोले त्यसलाई स्वीकृत गरी गाउँपालिकामा नाममा जमिन नामसारी गरिसकेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.