|

कपिलवस्तु : सरकारले भदौ १ गतेबाट लागू भएको सवारी ऐन चालकमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सुरु गरेको आन्दोलनको दोस्रो दिन पनि प्रदेश ५ मा सवारी साधन ठप्प भएका छन्। चालकलाई पेशाप्रति नै तीव्र असन्तुष्ट हुने गरी अपराधीसरह व्यवहार गरिएको ऐन संशोधनको माग राख्दै आन्दोलित चालक, सहचालक तथा परिचालकहरूले कुनै पनि सवारी साधन सञ्चालन नगर्दा जनजीवन प्रभावित भएको छ।

मंगलबारबाट देशैभर आन्दोलित चालकसँगै कपिलवस्तुका चालक पनि आन्दोलित हुँदा पूर्व-पश्चिम राजमार्गको पश्चिम नवलपरासीदेखि बर्दियासम्म, बेलहिया–पोखरा (सिद्धार्थ राजमार्ग), तौलिहवा–लुम्बिनी सडकखण्डलगायत लामो तथा छोटो दूरीमा सञ्चालन हुने सबै सवारी साधन बन्द भएका छन्। सवारी साधन सञ्चालन नहुँदा सदरमुकाम तौलिहवा सुनसान जस्तै बनेको छ।

चालकले सवारी साधन नचलाएर आन्दोलनमा उत्रिएपछि राजमार्ग सुनसान बनेका हुन्। प्रदेश ५ का कपिलबस्तु सहित रुपन्देही, पश्मि नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखांची, दाङलगायतका क्षेत्रका राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल, इ-रिक्साबाहेक अन्य सवारी साधन चलेका छैनन्।

सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन २०४९ को संशोधित ऐन २०७४ को दफा ६३ देखि १६३ सम्मका विभिन्न बुँदा सवारी चालकको हितविपरीत भएको भन्दै चालक मंगलबार बिहानदेखिनै सवारीधनीलाई चाबी बुझाएर विरोधमा उत्रिएको कपिलवस्तु यातयातका चालक राजेन्द्र प्रसाद श्रेष्ठ (राजु)ले बताए। ’यो संसोधित ऐन चालकको हितविपरीत छ, सरकारले आफ्ना माग पूरा नगरेसम्म आन्दोलन जारी रहने छ’, उनले भने।

वर्तमान ऐनको दफा १६१ को १ मा ज्यान मार्ने मनसाय लिई दुर्घटना गरेको भए चालकलाई जन्म कैद हुने व्यवस्था छ। उक्त दफाले आफूहरूले सवारी साधन चलाउँदा प्राविधिक या अन्य कसैको कारण दुर्घटना भए या कसैको ज्यान गए पनि आफू जन्मकैद बस्नुपर्ने बाध्यकारी व्यवस्था सरकारले ल्याएको कारण पेसागत सुरक्षाका लागि आन्दोलनमा उत्रिनु परेको गुल्मी–तम्घास–रुद्रवेणी–काठमाडौंका सवारी चालक पूर्ण पाण्डेय बताउँछन्।

यता चालकको आन्दोलनले यातायात ठप्प परी यात्रुलाई परेको प्रभावलाई मध्यनजर गर्दै सवारी संचालनका लागि जिल्ला तहमा रहेका मजदुरहरूसँग समन्वय गरिने कपिलवस्तुका प्रजिअ अर्जुनप्रसाद पोख्रेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.