|

काठमाडौं : सभामुख कृष्णबहादुर महरा र नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनबीच शिष्टाचार भेटवार्ता भएको छ। सभामुखको सचिवालय सिंहदरबारमा शुक्रबार भएको भेटमा दुईदेशको सम्बन्धको बारेमा छलफल भएको थियो।

भेटका अवसरमा सभामुख महराले साउदी अरब र नेपालको कूटनीतिक सम्बन्ध सुमधूर रहेको बताए। साउदी अरबको ८८ औँ राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्दै सभामुख महराले आगामी दिनमा नेपाल र साउदी अरबबीच अझैं प्रगाढ सम्बन्ध विस्तार हुनेमा विश्वास व्यक्त गरेका थिए।

‘नेपाल र साउदी अरबको कूटनीतिक सम्बन्ध सुमधूर र बलियो रहेको छ,' उनले भने, ‘हाम्रो औपचारिक सम्बन्ध मात्रै नभई जनस्तरबाट पनि दुई देशबीच बलियो सम्बन्ध रहेको छ।’

राजनीतिक र कूटनीतिक स्तरमा मात्रै नभई जनस्तरमा पनि दुई देशको सम्बन्ध रहेको चर्चा गर्दै सभामुख महराले नेपालका लाखौँ नागरिक साउदी अरबको श्रम बजारमा रोजगारीका लागि पुगेको बताए। ‘अहिले नेपालका लाखौँ नागरिक रोजगारीका लागि साउदी अरबमा पुगेका छन्, सभामुख महराले भने, ‘साउदी अरबमा नेपाली नागरिकहरूको पेशागत तथा भौतिक सुरक्षा जस्ता सवाल हाम्रो चासोका विषयहरू हुन्, यसमा साउदी अरब सरकारले विशेष ध्यान दिनेछ भन्ने हामीले विश्वास लिएका छौँ।’

भेटमा नेपालस्थित साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले साउदी अरब र नेपालको सम्बन्ध मजबुत रहेकोमा खुसी व्यक्त गरेका थिए। उनले वैदेशिक रोजगारीका लागि आफ्नो देशमा पुगेका नेपाली नागरिकहरूलाई साउदी अरब सरकारले सुरक्षामा विशेष ध्यान दिने बताए।

यहीँ सेप्टेम्बर २३ मा साउदी अरबको ८८ औँ राष्ट्रिय दिवस काठमाडौंमा पनि विशेष समारोहका बीच मनाउन लागिएको बताउँदै अब्दुलकरिमले उक्त समारोहमा आतिथ्यताका लागि सभामुख महरालाई आग्रह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.